अतिक्रमण होईन स्वेच्छाले नै रुई गाउँवासी चीनतिर गए : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले स्वेच्छाले नै रुई गाउँवासी चीनतिर गएको जवाफ् दिएका छन् ।

मन्त्री ज्ञवालीले सांसद प्रमिला कुमारी यादवको प्रश्नको जवाफ दिँदै गोरखाका दुई गाउँ चीनले अतिक्रमण नगरेको बताए ।

उनले नेपाल-चीनबिच सीमाकंन हुनुअगाडि सामा गाउँ र रुई गाउँवासीले लेकबेंसी गर्ने गरेको बताए ।

उनले नेपाल-चीनबिचको सीमांकनपछि स्वेच्छाले नै रुई गाउँवासी चीनतिर गएको जानकारी दिए ।

उनले भने, ‘साना गाउँ र रुई गाउँमा परम्परादेखि नै औपचारिक सीमांकन भएको अवस्थासम्म खर्क बसाउने चलन थियो ।

सीमा छुट्याउने कुरा भएपछि सीमा स्तम्भ निर्माण गरियो । त्यतिबेला १ सय १० घर परिवारलाई तपाईंहरु कतातिर रहने हो भनेर सोधियो ।

६० परिवारले उता (रुई)तिर (चीनतिर) र ४० परिवारले यता (सामागाउँ) तिर (नेपालतिर) रहने गरी बसोबास रोजे ।’

उनले कतैबाट जबरजस्ती सीमा अतिक्रमण नभएको प्रस्ट पारे ।

यसैबीच चीनबाट नेपाली भूमि मिचिएको गलत सूचना दिने प्रतिवेदन उत्पादक कारखाना र संलग्न व्यक्तिलाई कानुनी कारबाही गर्ने बताएका छन् ।

उनले राष्ट्रिय सभामा सांसद् रामनारायण विडारीको प्रश्नको जवाफ दिँदै सो प्रतिवेदनसँग सम्बन्धित व्यक्तिको खोजी गरेर कारबाही गरिने बताएका हुन् ।

सांसद विडारीले पत्रिकामा छापिएका समाचारले देशभर भ्रम फैलाउने स्थिति आएकामा आपत्ति जनाउँदै राष्ट्रियता, राष्ट्रिय अखण्डता र दौत्य सम्बन्ध खलबलाउने नियतले काम गर्नेलाई कारबाही गर्न नेपालमा कानुन छ कि छैन भनेर प्रश्न गरेका थिए ।

त्यस्तै, मन्त्री ज्ञवालीले केही दिनअघि सञ्चारमाध्यमबाट प्रकाशित चीनबाट नेपाली भूमि मिचियो भन्ने समाचार झुटो रहेको बताएका छन् ।

उनले कृषि मन्त्रालयको हवाला दिँदै नापी शाखाको प्रतिवेदनमा आधारित भनेर प्रकाशित समाचार झुटो रहेको बताए

उनले कृषि तथा पशुपन्छी मन्त्रालयले विज्ञप्ति निकालेर सो समाचार भ्रामक भएको स्पष्ट पारिसकेको जानकारी दिए ।

उनले भने, ‘चीनबाट नेपालको सीमा मिचिएका समाचारको सत्यताको अन्वेषण ग¥यौँ । समाचारमा भनिएझैँ बाउन्ड्री मार्कर ३७ र ३८ कहिल्यै खडा नै भएका छैनन् ।

भौगोलिक जटिलताका कारण दुवै देशको सहमतिमा बाउन्ड्री मार्कर खडा गरिएको थिएन । त्यसकारण सीमा स्तम्भ सारियो भन्ने समाचार झुटो रहेको छ ।’

मन्त्री ज्ञवालीका अनुसार नेपाल–चीनको वर्तमान सीमा ५ अक्टोबर १९६१ मा भएको सीमासम्बन्धी सन्धि र त्यसपछि भएका प्रोटोकलहरूद्वारा निर्धारण गरिएको थियो ।

१ अगस्ट १९५५ मा नेपालले चीनसँग कूटनीतिक सम्बन्ध राखेको थियो । यसपछि २१ मार्च १९६० मा सीमा सम्झौता र सीमा सन्धि भएको थियो । दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त समिति खडा गरेर समितिलाई सीमा स्तम्भ खडा गर्न भनिएको थियो ।

समितिले सीमा सन्धिको मस्यौदा तयार पार्ने जिम्मेवारी पनि पाएको थियो । नेपाल-चीनबीच २८ अप्रिल १९६० मा शान्ति तथा मैत्री सन्धिमा हस्ताक्षर भएको थियो ।

त्यस्तै, ५ अक्टोबर १९६१ मा सीमा सन्धिमा हस्ताक्षर भएको थियो । सीमारेखा, सर्भे, संयुक्त स्थलगत अध्ययनबाट सीमारेखा तय गर्ने कुरा सीमा सन्धिमा उल्लेख छ । सन्धिमा १०–१० वर्षमा सीमाको ‘स्पेक्सन’ गर्ने व्यवस्था गरिएको थियो ।

मन्त्री ज्ञवालीले भने, ‘त्यतिबेला ७९ वटा स्थानमा ९८ वटा स्थायी सीमा चिह्न स्थापना गरिएको हो, जसमध्ये ३३, ३७ र ३८ स्थापना गर्न सकिएको थिएन ।’

उनले ३३ नम्बर सीमा स्तम्भ केही वर्षपछि स्थापना भएको जानकारी दिए । उनले भने, ‘३७ र ३८ मा विवाद नभएकाले र भौगोलिक जटिलताका कारण सीमा चिह्न खडा नगर्ने सहमति भएको थियो ।’

१९७९ मा सीमा स्तम्भको संयुक्त निरीक्षण गरिएको थियो । यसपछि दोस्रो प्रोटोकलमा हस्ताक्षर भएको हो ।

नेपाल-भारतबीचको सीमा विवाद कूटनीतिक वार्ताबाटै समाधान
त्यस्तै, मन्त्री ज्ञवालीले नेपाल-भारतबीचको समस्या कूटनीतिक वार्ताबाटै समाधान हुने बताएका छन् ।

उनले भारतसँग निरन्तर सम्पर्कमा रहेको र वार्ताका लागि उपयुक्त समयको पर्खाइमा रहेको जानकारी दिए ।

सीमा विवाद समाधान गरेर मात्रै भारतसँग विश्वासमा आधारित घनिष्ठ सम्बन्ध कायम गर्न सकिने उनको भनाइ रहेको छ ।

उनले दुई देशको सम्बन्धमा प्रतिकूल असर पार्ने खालका समाचार सम्प्रेषित नगर्न र प्रभावित पनि नहुन आग्रह गरेका छन् ।

मन्त्री ज्ञवालीले विदेश नीति र राष्ट्रिय सुरक्षाका विषयमा बहस गर्नुअघि सूचनाहरूको क्रस गर्न सांसदहरूलाई आग्रह गरे ।

हेर्नुस् भिडियो : https://youtu.be/HeehgoMfM1Y

Leave a Reply

Back to top button
Close
%d bloggers like this: