‘लिम्पियाधुरा हडप्न काली नदीबारे भारतको जाली कुरा’

नेपालको पश्चिमी सीमाना सन् १८१६ को सुगौली सन्धिले निर्धारण गरेको कुरा स्वयम् भारतीयहरू स्वीकार्छन् । यो सन्धिको धारा ५ अनुसार लिम्पियाधुरा मुहान भएको काली (महाकाली) नै अन्तर्रार्ष्ट्रिय सीमा नदी हो ।

दुईसय वर्ष पुरानो सन्धिले निर्धारण गरेको सीमा मिचेर नेपालको लिम्पियाधुरा, कालापानी, लिपुलेक अतिक्रमण गर्न भारतले महाकालीको मुहानबारे अनावश्यक बखेडा झिकेको छ । भूगोलका प्राध्यापक डा. नरेन्द्रराज खनाल भन्छन्, ‘एउटा होइन, दुईवटा होइन, ६-६ वटा नदीलाई काली नदी उल्लेख गरेर भारतले अस्पष्टता सिर्जना गरेको छ ।’

भारतले कालीबारे आफ्नो अघिल्लो दाबीलाई नै खण्डन हुने नयाँ दाबी गर्दै आएको खनाल बताउँछन् । उनका अनुसार नेपाली भूभाग अतिक्रमणका लागि भारत कतिसम्म फरेब (धोका) गरिरहेको छ भनेर देखाउने पछिल्लो उदाहरण २०७६ कात्तिक १६ गते सर्वे अफ इन्डियाले निकालेको भारतको राजनीतिक नक्सा हो । त्यसमा काली नदी भारततर्फ पारिएको छ ।

भारत स्वतन्त्र भएयताको सात दशकमा ८ वटा नक्सा निकालेको सर्वे अफ इन्डियाले एकहप्तामै अर्को नवौं संस्करणको नक्सा सार्वजनिक गर्‍यो । त्यसको एक मात्र उद्देश्य थियो, काली गायब पार्नु ।

लिम्पियाधुरा-कालापानी क्षेत्रमा नेपालको ३९ हजार ५०० हेक्टर भूभाग अतिक्रमण गरेको भारतले कालीको मुहानबारे कसरी मनपरी ढंगले कुरा फेरेको छ भन्ने विषयमा अनलाइनखबरले प्रा.डा. खनालसँग गरेको कुराकानी उनकै शब्दमा :

विभिन्न स्रोतहरूबाट उपलब्ध बि्रटिस इन्डिया र हालसालै प्रकाशित नक्सा, प्रतिवेदन (ग्याजेट) एवं विभिन्न अन्तर्वार्ताअनुसार काली नदीको उपल्लो भागमा ६ वटा नदीलाई काली नदी उल्लेख गरी वास्तविक काली कुन हो भन्नेमा भारत आफैँ अस्पष्ट छ । उसले नेपाललाई भ्रमित पार्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी हडप्न खोजिरहेको छ ।


भारतले फर्जीरुपमा खडा गरेका ती ६ वटा ‘कालीनदी’ नक्सा १ मा देखाइएको छ । विभिन्न समयमा प्रकाशित नक्साहरू -तल नक्सा २ मा हेर्नुहोस्) अन्य प्रतिवेदन र अन्तर्वार्ताहरुलाई आधार मानेर नक्सा १ मा हालसम्म उल्लेख गरिएका विभिन्न स्थानबाट बग्ने काली नदी र खोलाहरू देखाइएको हो ।

सुगौली सन्धिपछि सन् १८१९ देखि १८६७ सम्म तयार पारिएका नक्साहरूले लिम्पियाधुरामा उत्पत्ति भई बग्ने नदीलाई ‘काली’ भनी उल्लेख गरेका छन् । १८७९ को नक्सामा भने अगाडि काली भनिएको नदीलाई कुटी याङ्ती र अर्को लिपु भञ्ज्याङबाट निस्केको खोलालाई काली भनी फरक किसिमले देखाइएको छ ।

भारतले २०१७ (सातौं संस्करण) र २०१९ (आठौं संस्करण) मा प्रकाशित भारतको राजनीतिक नक्सामा लिम्पियाधुराबाट निस्केको काली नदीभन्दा पश्चिममा बग्ने नदी (जसलाई १८७९ को नक्सामा धौली वा दरमा खोला भनी लेखिएको छ) काली नदी भनी उल्लेख गरेको छ । भारतले धौलीलाई काली नदी भनी २ वटा नक्सा (२०१७ र २०१९) मा निकालिसकेपछि काली भन्ने शब्द हटाएर नदीको नाम खाली राखी नवौं संस्करणको रुपमा एक हप्तापछि अर्काे नक्सा प्रकाशन गर्‍यो ।

सन् १८७९ भन्दा अगाडि निकालिएका नक्साहरू वैज्ञानिक सर्वेक्षण नगरी बनाइएको हुँदा ती नक्साहरूमा किटानी गरिएको लिम्पियाधुराबाट उत्पत्ति भएको काली नदी वास्तविक होइन र त्यो नदीको नाम कुटी याङ्ती हो भनी जिकिर गर्ने भारतले धौलीलाई तीन वर्षसम्म (२०१७-२०१९) काली नदी भनेको थियो । यस्तो कार्यले भारतले नक्सा तयार पार्दा स्तरीयता र शुद्धतालाई बेवास्ता गरेको, नयाँ संस्करण प्रकाशन गर्दा नदीको नाम फेरबदल गरेको देखाउँछ ।

सन् १९२७ र १९४८ को नक्साले नेपाल र भारतको सीमा १९७९ को नक्सामा तारागढ लेखिएको खोला हुँदै कुन्लस पर्वततिर गएको देखाएको छ । सन् १९२७ को नक्सामा त लिम्पियाधुराबाट बग्ने नदीलाई काली भनी लेखिए पनि तारागढलाई काली मानी मनोमानी हिसाबले सीमा देखाइएको छ ।

१९५० को नक्सामा लिपु भञ्ज्याङबाट आउने खोलालाई मनोमानी ढंगले काली मानी त्यसैलाई सीमाना मानिएको छ । पछि आएर १८७९ को नक्सामा लिपु भञ्ज्याङबाट आएको खोलालाई काली नदी भनी लेखिएको देखिन्छ ।

सन् १८१८ को क्याप्टेन वेबको पत्र र अल्मोरा ग्याजेटमा लेखिएअनुसार कालापानी फाउन्टेन नै काली नदीको मुहान र त्यहीँबाट निस्केको खोल्सोलाई कालापानी खोला भनेर पनि उल्लेख गरिएको छ ।
क्याप्टेन वेबको त्यो व्याख्यामा नेपालले तत्कालै असन्तुष्टि जनाई लिम्पियाधुराबाट बग्ने नदीमा सबभन्दा धेरै पानी भएको हुँदा त्यसैलाई सीमाना मानी कुटी र नाभी नेपालमा पर्दछन् भनी जानकारी गराएको कुरा इड््वीन टी आटकिनसन्ले १८८४ मा प्रकाशित हिमालयन ग्याजेटको पाँचौं अध्यायमा उल्लेख गरेका छन् ।

वेबले १८१९ मा तयार गरेको नक्सामा लिम्पियाधुराबाट निस्केको नदीलाई काली भनी लेखेको देखिन्छ । उक्त नक्सामा सीमाना देखाइएको छैन । कालीको असली स्रोत सम्बन्धमा १९११ मा प्रकाशित अल्मोरा ग्याजेटमा कालापानी फाउउन्टेन काली नदीको मुहान हो भनी भारतीयहरूले मानिआएको कुरा गलत हो भन्ने उल्लेख छ ।

उक्त ग्याजेटमा काली नदीको वास्तविक मुहान कालापानी फाउउन्टेनभन्दा ३० माइल उत्तर-पश्चिममा कुटी याङ्ती क्षेत्रमा पर्छ भनिएको छ । त्यसले कालीको मुहान लिम्पियाधुरालाई नै मानेको छ ।

नेपाल भारतको दक्षिणमा छ र ?

कालापानी फाउउन्टेन नै कालीको मुहान हो भनी गरिएको भारतीय व्याख्यालाई त्यतिबेला नै नेपाले असन्तुष्टि प्रकट गर्दागर्दै सन् १८७९ मा क्याप्टेन वेबकै व्याख्यालाई आधार बनाई कालापानी फाउउन्टेंनबाट निस्केको खोल्सो हँुदै व्यास ऋषि हिमालको टाकुरा हुँदै तिङ्कर भञ्ज्याङतिर एकतर्फी रुपले नेपाल भारत सीमा कोरिएको देखिन्छ ।

त्यो नक्सामा देखाइएको रेखालाई नेपाल-भारत सीमाना मान्ने हो भने नेपाल दक्षिण र भारत उत्तरमा पर्दछ । जबकि सुगौली सन्धिले काली नदीको पश्चिममा भारत र पूर्वमा नेपाल पर्दछ भनी किटान गरेको छ । १८७९ को नक्सामा देखाइएको सीमा रेखालाई हुबहु रुपमा भारतले हालसालै प्रकाशित गरेको नक्सामा राखेको छ जुन सुगौली सन्धिको आर्टिकल ५ को विवरण र भावना विपरीत छ ।

कालीहरूको कुरा

हालसालै एउटा अन्तर्वार्तामा भारतका पूर्व सैनिक अफिसर अशोक मेहताले तिङ्कर भञ्ज्याङबाट निस्कने खोला (तिङ्कर) लाई पनि काली नदी भनी बताएका छन् । उनले त्यस क्षेत्रमा ४ वटा काली रहेको उल्लेख गरेका छन् ।

प्राध्यापक डा. नरेन्द्रराज खनाल

विभिन्न समयमा प्रकाशित नक्सा, गजेटमा उल्लेख गरिएको विवरण र अन्तर्वार्ताहरूका धारणालाई केलाउँदा त्यस क्षेत्रमा ६ वटा नदी-खोला छन् । धौली र तिङ्करसमेतको नाम काली भएको, यीबाहेका अरू सबै खोलालाई काली मानी विभिन्न समयमा विभिन्न ठाउँ हुँदै सीमा कोर्ने काम भएको छ ।

इड्वीन टी आटकिनसन्ले सन् १८८४ मा प्रकाशित हिमालयन ग्याजेटमा उल्लेख भएअनुसार त्यहाँका गभर्नर गार्दनरलाई सुगौली सन्धिमा काली नदी सीमा भनिएकाले काली नदी र नेपालसँगको सीमानालाई तिब्बतसँगको व्यापारका लागि प्रयोग हुने हिमाली भागमा रहेका भञ्ज्याङहरू बि्रटिस इण्डियामा पार्ने गरी व्याख्या गर्नु भनी निर्देशन गरिएको थियो ।

यही निर्देशन पालना गर्दै लिपु भञ्ज्याङलगायत सबै भञ्ज्याङ आफ्नोतिर पार्न क्याप्टेन वेबले कालापानी फाउन्टेंन नै कालीको मुहान हो भनी व्याख्या गरेको देखिन्छ ।

कालीको खास मुहान लिम्पियाधुरा हो र कालापानी फाउउन्टेन काली नदीको स्रोत होइन भने तापनि लिपु खोला जलाधार क्षेत्र पूरै बि्रटिस इण्डियामा पर्छ भनी अल्मोरा गजेटमा उल्लेख हुनुले के देखाउँछ भने सुगौली सन्धिको प्रावधानलाई बेवास्ता गर्दै जे जसरी हुन्छ त्यस क्षेत्रका सबै भञ्ज्याङ आफ्नोतिर पार्दै एकतर्फी रुपमा नक्सामा सीमा रेखा राखिएको हो ।

सुगौली सन्धिको प्रावधान विपरीत दुवै देशले हस्ताक्षर र अधिकारिक नगरिकन एकतर्फी रुपमा नक्सामा कोरिएका सीमा रेखालाई नेपालले मान्नुपर्छ भन्ने केही छैन ।
नदी प्रणालीको सिद्धान्तअनुसार भारतले नै सन् १८७९ मा प्रकाशित नक्सामा देखाइएका नदीहरूलाई केलाउँदा लिम्पियाधुरा क्षेत्रबाट निस्केको नदी सबैभन्दा लामो, धेरै जलाधार क्षेत्र भएको, खोलामा बग्ने पानी धेरै भएको र अन्य नदी र खोलाहरूभन्दा माथिल्लो तह (अर्डर) भएको हुँदा यो नै काली जलाधारभित्रको मुख्य (ट्रंक) नदीको हो भनी मान्नुपर्ने हुन्छ ।

अतः सबै प्रमाण जुटाएर केलाउँदा लिम्पियाधुरा क्षेत्रबाट बग्ने नदी सुगौली सन्धिमा उल्लेख भएको काली नदी हो । त्यसैलाई नेपाल-भारत सीमाना मानी नेपालले जेठ ७ गते आफ्नो देशको नयाँ नक्सा बनाएको छ ।

सोहीअनुसार रेखाङ्कन गरी सीमा निर्धारण गर्ने सम्बन्धमा वार्ताका लागि भारतलाई आहृवान गरिसकेको छ । साथै, सुरुदेखि नै कूटनीतिक माध्यमबाट यो समस्या समाधान गर्नुपर्ने पक्षमा छ ।

Leave a Reply

Back to top button
Close
%d bloggers like this: