कोरोनासँगै सलहको उडान : नेपालमा भित्रिने सम्भावना कति ?

प्राणघातक कोरोना भाइरसजन्य रोगले संसारभरको मानव अस्तित्वलाई चुनौती दिइरहेका बेला बालीनालीमा भइरहेको सलहको फौजी आक्रमणले कतिपय देशहरु रोग र भोकको दोहोरो चपेटामा पर्ने संकेत गरेकोे छ । कोभिड– १९ चीनको वुहानबाट शुरु भयो भने, सलहको कहर अफ्रिकी मुलुक केन्याबाट शुरु भएको छ । तर, दुबै विपत्ति लगभग एउटै समयमा शुरु भएका छन् । र, दक्षिण एसियाली देशहरुमा यस शताब्दीको शुरुवातमै सायद सबैभन्दा ठूलो विपत्तिका रुपमा आइलागेका छन् ।

यी दुवै विपत्तिहरुको अर्को फरक पनि खोतल्न सकिन्छ । कोभिड–१९ को भाइरस सायद भिसाप्राप्त मानिसहरुको शरीरको माध्यमबाट देशविदेश चाहार्न सक्यो होला । तर, सलहले भिसाबिनै हामी मानव जातिको खाद्यान्नबालीहरुमा धावा बोलिरहेको छ । अफ्रिकाका कतिपय देशहरुले त फौजी सलहकै कारण भोकमरी व्योहोरिरहेकै छन् ।

यो पनि आकलन गर्न थालिएको छ कि सायद सलहको फौजी आक्रमण भएका विश्वका भूभागमा कोरोनाले भन्दा बढी भोकमरी र कुपोषणका कारण मानवजीवन हाताहाती हुने खतरा छ । भाइरसजन्य कतिपय रोगहरुको उपचार पत्ता लगाएजस्तै कोरोनाको पनि ढिलोचाँडो औषधिमुलो पत्ता लाग्न सक्छ । तर, ठूलै जीव भैकन पनि र इतिहासमा बारम्बार समस्याको रुपमा देखापरिरहेको सलहले क्षति गर्नुपूर्व प्रभावकारी नियन्त्रण गर्न सकिएको छैन । बेलाबखत आइलाग्ने सलहको समस्या विश्वको भोकमरी, खाद्य तथा पोषण असुरक्षाको कारक बन्दै आइरहेको छ ।

सन् १९८६ – १९८९ को सलहको अन्तरदेशीय फौजी आक्रमण र त्यसपछिको दुई दशकसम्म यसको पुनरावृत्तिका कारण अफ्रिकाको धैरैजसो भूभाग र पूर्वी तथा दक्षिण पश्चिम एसियाली देशहरुको खाद्य तथा पोषणमा चुनौती थपिएको थियो । सन् २००४–२००५ मा पनि फौजी सलहका कारण खाद्यसंकट परेको थियो । हाल आएर सलहको फौजी आक्रमण विगतको भन्दा भयानक हुनु दुखद हो । कोरोना यस महामारीले गर्दा विश्वव्यापी बन्दाबन्दी भएकाले अन्तरदेशीय यातायातको समस्या पर्नुका साथै विषादीको क्रय र सञ्चिती आदिमा असर पुग्न जाँदा यो किराको प्रभावकारी नियन्त्रण हुन सकिराखेको छैन ।

भारतमा आतंक पैदा गरिसकेको सलह हाम्रो देशसम्म आइपुग्ला या नपुग्ला ? कथंकदाचित आइपुग्यो भने कुन हदसम्म आइपुग्ला ? कति क्षति पुर्‍याउला, कति समयसम्म रहला र यसको नियन्त्रण गर्न सकौंला नसकौंला भन्ने अनेक विश्लेषणहरु शुरु भएका छन् ।

यसै सेरोफेरोमा रहेर सलह के हो, यसले संसारभरमा पुर्‍याएको क्षति के–कस्ता छन्, संसारका कुन–कुन भुभाग यो किराको जोखिममा छन्, नेपालसम्म यो आइपुग्ने सम्भावना कति छ र हाम्रो सरकार मातहतका बाली संरक्षणका संरचनाहरु (विश्वविद्यालय, अनुसन्धान निकाय र प्रसार) यसको नियन्त्रणमा सक्षम होलान वा नहोलान् भन्ने विषय यस लेखमा उठान गरिएको छ ।

१. सलहको जीवनचक्र

फट्यांग्रा वर्गको किरा सलह हो, जसलाई अंग्रेजीमा लोकस्ट र वैज्ञानिक भाषामा चिस्टोसर्का ग्रेगारिया भनिन्छ । फट्यांग्रासँग मिल्दोजुल्दो भएता पनि यस किराका केही भिन्न विशेषता हुन्छन् । तलको (जीवन चक्र) मार्फत यस बारेमा केही जान्न सकिन्छ ।

चिक्र २. बयष्क सलह । चित्र ३. सलहको जीवनचक्र ।

पुतली, खपटे, झिंगा आदि वर्ग (जसको जीवनचक्रका ४ अवस्थाहरु हुुन्छन् र पूर्ण जीवनचक्र भनिन्छ) को कीराहरुको तुलनामा सलहको जीवनचक्रमा ३ वटा अवस्था हुन्छन् : अण्डा, होपर (अथवा बच्चा अवस्था जसलाई निम्फ पनि भनिन्छ) र बयष्क अवस्था । सलहको जीवनचक्र अन्य किराको दाँजोमा अपूर्ण मानिन्छ ।

अण्डा अवस्था : वयष्क सलहको पोथीले बलौटे माटो भएको खाली जमिनमा फूल पार्ने गर्छ । यस्तो माटो मरुभूमि वा सुख्खा पठारहरुमा पाइन्छ । तर, फुल पार्ने समयमा जमिनमा चिस्यान हुनुपर्छ । संसारमा यस्तो जमिन प्रशस्तै पाइने भएता पनि उत्तरपूर्वी अफ्रिकाका देशहरु जस्तै केन्या, इथियोपिया, इरित्रिया, सोमालिया आदि सलहको प्रजनन् र वृद्धि विकासको हिसाबले उपयुक्त मानिन्छन् । यी देशहरु हिन्द महासागरको तटीय क्षेत्रमा पर्दछन र केही बर्षको अन्तरालमा सामुद्रिक आँधीका कारणले वर्षा गराइदिने हुनाले सलहलाई फुल पार्न उपयुक्त चिस्यान प्राप्त हुन्छ । सन् २००४ र २०१२ मा अनि गत वर्षको अन्त्यतिर यी तटीय देशहरुमा हिन्द महासागरबाट आएको सामुद्रिक आँधीले गराएको वर्षाका कारण सलहको प्रकोप अन्य वर्षहरुको तुलनामा व्यापक भएको हो ।

यो वर्ष सलहको प्रकोप बढी हुनुमा सामुद्रिक आँधीकासाथै समय समयमा परेको वर्षा पनि हो । बलौटे माटोमा चिस्यान उपलव्ध हुनु र वातावरण उष्ण हुनु यो किरालाई फुल पार्न उपयुक्त अवस्था मानिन्छ । माटोको सतहमुनि १२ सेमि गहिराइमा चिस्यान उपलब्ध छ भने सलहले ९–१० सेमीको गहिराइमा फुलहरुको थुप्रो करीब ८० देखि १६० वटासम्म लगाइदिन सक्छ ।

चित्र ४. माउपोथीले बालुवामा फुल पार्दै (बायाँ) र एक झुण्ड सलहको फुल (दायाँ) ।

प्रतिथुप्रो फुलको संख्या माउ सलहको अवस्था एक्लाएक्लै रहने विभिन्न फेज र वातावरणीय अवस्थामा भर पर्छ । सोलिटारी अवस्था अथवा ग्रेगारियस अवस्थाबारे यसै लेखमा पछि कहीँ उल्लेख गरिएको छ । एउटा माउ सलहले जीवन अवधिमा २–३ पटकसम्म यस्ता थुप्रोमा फुल पार्ने क्षमता राख्छ । यी अण्डाहरु उपयुक्त तापक्रम पाएपछि कोरलिन्छन् र होपर (बच्चा) हरु पैदा हुन्छन् । यदि माटोको तापक्रम २५ डिग्री सेल्सियससम्म छ भने अण्डाबाट होपर निस्कन २५ दिन लाग्छ । यदि ३५ डिग्री सेल्सियस छ भने करीब १२ दिन लाग्छ ।

माथि उल्लेखित अफ्रिकी देशहरुमा औसतमा २ हप्तामा अण्डाबाट होपरहरु निस्कन्छन् । १५ डिग्री सेल्सियसभन्दा कम र ३५ डिग्री सेल्सियसभन्दा माथि भएको खण्डमा अण्डा कोरलिन सक्दैनन् र सलहको प्रकोप भयावह हुँदैन ।

चित्र ५. माटोको सालाखाला तापक्रम र सलहको अण्डा कोरलिन लाग्ने समयको सम्वन्ध ।

अफ्रिकी मुलुकहरुमा तापक्रमभन्दा पनि सलहले फुल पार्ने बेलामा उपलब्ध माटोको चिस्यानले फुल कोरलिने दरमा असर पार्छ । यसको अर्थ सामुद्रिक आँधी अथवा लगातारको वर्षा भएको वर्ष सो क्षेत्रहरुमा र त्यहाँबाट फौजी उडान लिएका सलहबाट अन्य महाद्वीपका देशहरुमा अति प्रकोपको अवस्था सिर्जना हुने गर्छ ।

होपर अथवा बच्चा अवस्था

उपयुक्त माटोको चिस्यान र तापक्रम पुगेपछि सलहको अण्डाबाट होपरहरु निस्कन्छन् । होपरका ५/६ वटा अवस्था हुन सक्छन् । सोलिटारी चरणको सलहको होपरको ६ वटासम्म अवस्था हुन सक्छन् । सोलिटारी होपरहरु मूलतः फट्यांग्रा रंगका हुन्छन् । (हेर्नुहोस् तलको चित्र वायाँ)

करीव २४–३२ डिग्री सेल्सियसलाई होपरको बृद्धि विकासका लागि उपयुक्त तापक्रम मानिन्छ । तापक्रम बढ्दै जाँदा होपरको विकासका लागि चाहिने समय छोटो हुँदै जान्छ, अर्थात जीवनचक्र छोटो हुन्छ र सलहको प्रकोप बढ्छ । यसको मतलव, सोलिटारी होपरहरु जम्मा हुँदै ठूलाठूलो समूह बनाउँदै जान्छन् ।

जब यी होपरहरु एकअर्कालाई भेट्छन् र यिनीहरुमा सेरोटोनिन हर्मोन (ह्पाप्पी हर्मोन पनि भनिन्छ) पैदा हुन्छ, जसले यिनीहरुमा सामुहिक भावनाको विकास हुन्छ र खानाको खोजीमा लामो दुरी तय गर्न सक्छन् । यी समूहहरु झनै ठूलो हुँदै गएपछि यी होपरहरुको आनीबानी, शैली र रंग समेत (पहेंलो रंगमा) परिवर्तन भई ग्रेगारियस चरणमा प्रवेश गर्छन् । (हेर्नुहोस् तलको चित्र वीच)

चित्र ६. सोलिटारियस होपर (बायाँ), ग्रेगारियस होपर (बीच) र होपर ब्याण्ड (दायाँ) ।

ग्रेगारियस चरण भनेको हानीकारक चरण हो । यदि माउले फूल पार्नुभन्दा अघि सो क्षेत्रमा पानी परेको छ र हरिया विरुवा बुट्यान छन् भने, यी होपरको समुहलाई खाना उपलब्ध हुन पुग्छ र होपरको समुह ठुल्ठुुलो हुँदै जान्छ । यसरी समूह बनाएर हिँड्ने होपरको ठूलो समूहलाई होपर ब्याण्ड भनिन्छ । (हेर्नुहोस् माथिको चित्र दायाँ)

चौथो अवस्थाको होपरहरुको व्याण्ड एक दिनमा करीव २०० देखि १७०० मिटरको दुरी पार गर्न सक्षम हुन्छन् । घाम लाग्ने दिनमा सो ब्याण्डले लामो दुरी पार गर्न सक्छ भने, बदली भएमा कम दुरी पार गर्छ । सो दुरी खानाको उपलव्धतामा पनि भर पर्छ । खानाको खोजीमा सो ब्याण्ड धेरै समय लगाएर लामो दुरी प्रायःजसो हावा चलेकै दिशातिर पार गर्न पनि सक्षम हुन्छ ।

होपरहरु वयष्कभन्दा आकारमा साना, पखेटाहरु शरीरको लम्बाइभन्दा छोटा भएका हुन्छन्, जो क्रमशः विकास हुँदै जान्छन् र उड्न सक्दैनन् । साधारणतयाः ३०÷४० दिनमा होपर अवधि समाप्त भएर वयष्क अवधि शुरु हुन्छ ।

बयष्क अवस्था : अन्तिम अवस्थाको होपर मोल्टिङ (किराको बच्चा अवस्थामा एक चरणबाट अर्कोमा जाँदा छाला फेर्ने प्रक्रिया) भएपछि वयष्क बन्छ । वयष्क बनेको १० दिनभित्र सलहले उडान भर्न सक्छ । यसरी निस्केको सलहलाई सोलिटारियस सलह भनिन्छ, जो हल्का हरियो खैरो रंगको हुन्छ । सोलिटारियस वयष्क सलह सूर्यास्त भएपछि रातिको समयमा वातावरणीय तापक्रम २० डिग्री सेल्सियसभन्दा बढी भयो भने मात्र उड्न सक्छ र केही घण्टाको एक उडानका दरले प्रत्येक रात १० घण्टासम्म उड्न सक्छ । थोरै सलहहरु मात्र छन् भने तिनीहरुमा सोलिटारियस प्रकृति देखिन्छ । यदि लाखौं करोडौंको संख्यामा छन् भने ग्रेगारियसको प्रवृत्ति देखाउँछन् । जब माटोमा प्रशस्त चिस्यान हुन्छ र प्रशस्त बोटविरुवा (खाना) उपलब्ध हुन्छ, ग्रेगारियस प्रकृतिका सलहहरु एकैचोटि धेरैवटा झुण्डमा पैदा हुन सक्छन् ।

यस्ता ग्रेगारियस वयष्क सोलिटारियसभन्दा बढी पहेंला रंगका हुन्छन् । होपरहरुमा जस्तै सेरोटोनिन हर्मोनले वयष्कहरुमा पनि ग्रेगारियस प्रकृति विकसित हुन्छ । एउटा एक वर्ग किलोमिटरको झुण्डमा साधारणतया ४ देखि ८ करोडसम्म ग्रेगारियस प्रकृतिका सलह हुन सक्छन् र एक दिनमा ३५ सय मानिसलाई पुग्नेजति खानेकुराको क्षति गर्न सक्छन् ।

दिनमा १५० किलोमिटरसम्म यात्रा गर्ने सामथ्र्य राख्ने यी किराहरुको संख्या र व्यापकताका आधारमा क्षेत्रीय, अन्तरदेशीय र अन्तरमहाद्वीपीय गरी तीन वर्गमा विभक्त गर्न सकिन्छ । अहिले अफ्रिकाबाट शुरु भएर एसियाली देशहरुमा आइपुगेको चाहीँ अन्तरमहाद्वीपीय प्रकारको सलहको फौज हो ।

एउटा वयष्क सलहलाई परिपक्व (प्रजननमा भाग लिने) अवस्थामा पुग्न ३ हप्तादेखि ९ हप्ता (साधारणतया ३–४ महिना) लाग्छ । तसर्थ यो किराको क्षति गर्ने समयावधि अन्य कीराको भन्दा लामो हुन्छ । एकैचोटि लाखौं करोडौंको संख्यामा निरन्तर क्षति पुर्‍याइराख्न सक्ने भएकाले यो किरा बेलाबखत भोकमरीको प्रमुख कारण हुने गरेको छ ।

तथ्यांकहरुका अनुसार, सलहको विपत्तिले संसारको करीव १÷१० जनसंख्या (आजको आँकडा अनुसार करीव ८० करोड जनसंख्या) लाई नराम्रोसँग प्रत्यक्ष र आधा जनसंख्यालाई परोक्षरुपमा असर पुर्‍याउने गर्छ । यस किराको विशिष्टीकृत उडान क्षमता, अत्याधिक प्रजनन क्षमता, लामो जीवन अवधि र खञ्चुवा प्रवृत्तिले गर्दा यसको नियन्त्रण कठीनप्रद हुने गर्छ ।

चित्र ७. सलहको फौज (बायाँ) र रूखै ढाक्ने गरी चर्दै गरेका सलहहरू (दायाँ) ।

 २. सलहको प्रकोप र फौजी उडानको इतिहास

हालसम्मका सलह प्रकोपको इतिहासलाई केलाउँदा यसको प्रकोप प्रभावित क्षेत्रहरुलाई बमोजिम वर्गीकरण गर्न सकिन्छ । जसअनुसार, उत्तर अफ्रिकी देशहरु, मध्यपूर्वका देशहरु, इरान, पाकिस्तान र भारत प्रकोपका केन्द्रहरु प्रमाणित भएका छन् ।

प्रकोपको सीमानामाथि उल्लेखित अफ्रिकी देशभन्दा दक्षिणतिरका करीब २० र नेपाल लगायत एसिया र केही भाग यूरोपेली राष्ट्रसहित अर्को २० राष्ट्रसम्म फैलिएको पाइएको छ ।

करीव २५ वटा देश प्रकोपका केन्द्र र अर्को ४० वटा देशमा फैलिएको प्रकोपका कारण एसिया र अफ्रिका महाद्वीपमा गरी ६५ भन्दा बढी देश र संसारकै आधाभन्दा बढी जनसंख्यामा यो किराको प्रत्यक्ष÷ परोक्ष असर पुगेको देखिन्छ ।

चित्र ८. विभिन्न कालखण्डमा भएका सलहको प्रकोपलाई विश्लेषण गरेर तयार पारिएको प्रकोप क्षेत्र ।

सरसर्ती हेर्दा पश्चिम अफ्रिकी देश मौरिसियाना हुँदै माली, नाइजर तथा चाड हुँदै सुडान र दक्षिण सुडान, इथियोपिया हुँदै सोमालिया र केन्या सलहको प्रजनन् (प्रकोप) को अफ्रिकी केन्द्र भएको देखिन्छन् । मध्यपूर्वका देशहरु साउदी अरब, ओमान र यमन पनि प्रकोपको केन्द्र नै भएको देखिन्छ । यता आएर एसियाली राष्ट्रहरु इरान, पाकिस्तान र भारत पनि यो किराको प्रजनन् (प्रकोप) को केन्द्र रहेका छन् ।

रिपोर्टहरुमा आएअनुसार १९५० को दशकपछि हालसम्म ८ पटक गरी १९ वर्षसम्म क्षेत्रीय स्तरको, ७ पटकमा १७ वर्षसम्म अन्तरदेशीय र ३ पटकमा ७ वर्षसम्म अन्तरमहाद्वीपीय सलह अतिक्रमण भएको पाइन्छ ।

हालको अन्तरमहाद्वीपीय सलह अतिक्रमणको लेखाजोखा भने यो मत्थर भएपछि मात्रै गर्न सकिएला । तर, समग्रमा केचाहिँ निश्कर्ष निकाल्न सकिन्छ भने, सलहको जोखिम आजपर्यन्त उत्तिकै रहेको र भविष्यमा अझ बढ्ने देखिन्छ ।

चित्र ९. हालसम्म रेकर्ड गरिएका सलहका अन्तरदेशीय र अनतरदीपीय प्रकोपहरू ।

३. सलह र वातावरणीय प्रभाव विश्लेषण

माथि कतै उल्लेख भएजस्तै सलहको अतिक्रमण ब्यापक बन्नको लाथि वातावरणीय भूमिका प्रमुख हुन्छ । मुख्यतया अफ्रिकी महादीपको पूर्वोत्तर देशहरु, मध्यपूर्वी देशहरु र पश्चिम एसियाली देशहरुका मरुभूमियुक्त जमिनहरुको मौसमले सलह प्रकोपको निर्धारण गर्छ । सलहका प्रत्येक महामारीपूर्व यी क्षेत्रहरुमा भीषण पानी परेको हुनुपर्छ ।

यसरी पानी पर्दा, सलहले फुल पार्ने उपयुक्त चिस्यान प्राप्त गर्छ, ती फुलहरु चाँडै कोरलिन्छन् । साथै यसरी निस्कने होपरका लागि खानेकुराहरु (हरिया घाँसपात पनि पलाउने हुँदा एकैचोटि लाखौं करोडौंको संख्यामा सलहका वयष्कहरु निस्कन सक्छन् र प्रकोपको रुप धारण गर्न सक्छन् ।

एकछिनका लागि यसपटकको सलह प्रकोपकको वातावरणीय पृष्ठभूमि नियालौं ।

सन् २०१९ को अन्ततिरको सामुद्रिक आँधी र त्यसपछिको लगातारको वर्षाले पूर्वोत्तरका अफ्रिकी मुलुकहरु विशेष गरी केन्या, रुवाण्डा, सोमालिया, बुरुण्डी, तान्जानिया, सुडान, दक्षिणी सुडान, युगाण्डा, इथियोपिया, जिबुटीका करोडौं जनसंख्या प्रभावित मात्र बनेनन्, सलहको प्रजनन र प्रकोपको इपिसेन्टर नै बन्न पुगे । त्यतिमात्रै हैन, सन् २०१८ का दुई ठूला सामुद्रिक आँधीहरु लुबान र मेकुनुले पनि पश्चिम अफ्रिकी देशहरुमा सलहको लागि उपयुक्त वातावरण तयार गरिदिए ।

तसर्थ, यसपटकको अफ्रिकी सलहको संख्या यसअघिका भन्दा धेरै गुणा बढी (विज्ञहरुका अनुसार चार सय गुणासम्म) भएको हो । यता इरानमा र साउदी अरबमा २०१९ मा वर्षको शुरुदेखि नै पटक–पटक गरी विगत ५० वर्षको इतिहासमा सबैभन्दा बढी वर्षा भयो । यसले पनि यी देशहरुमा सलह प्रजनन र बृद्धि विकासलाई अनुकूल वातावरण तयार गर्नमा सहयोग पुर्‍यायो ।

त्यसैगरी पाकिस्तान र पश्चिम भारतमा समेत गत वर्षको अन्ततिर एक हप्ताभन्दा लामो समयसम्म भीषण वर्षा भयो जसले गर्दा यी क्षेत्रहरुमा अफ्रिका, मध्यपुर्व र इरान हुँदै आइपुग्ने सलहका लागि उपयुक्त प्रजननस्थल बन्न पुग्यो ।

यसै वर्ष पनि भारत पाकिस्तानका यी क्षेत्रहरुमा भएको बेमौसमी वर्षाका कारण सलहका लागि थप अनुकूल वातावरण बन्न पुग्यो । परिणामतः आज हामी सलहको यो रुप भोगिरहेका छौं ।

यसै सेरोफेरोमा अब सलहको विश्व प्रभावबारे विश्लेषण गरौं ।

कैयन पत्रपत्रिका र टीभी च्यानलहरुले पाकिस्तान पनि सलह प्रजननको हब नै बनेको बताइरहेका छन् र यो यथार्थ पनि हो । माथि भनेझैं बेमौसमी बर्षा र सामुद्रिक आँधीले पाकिस्तानका मरुभूमि जमिनहरु बलुचिस्तान, पञ्जाव एवं भारतका महाराष्ट्र, राजस्थान, मध्यप्रदेश सिँचित हुनपुग्दा यी क्षेत्रहरु सलहको वासस्थान, प्रजनन र बृद्धि विकासका लागि झनै उपयुक्त बनेका छन् ।

ठूल्ठूला होपर ब्याण्ड माउ सलहको झुण्डहरु सँगै देखिनु र गत अप्रिलदेखि पाकिस्तान हुँदै फैलिएको सलहको फौज अझै बढ्दै र फैलँदै मध्य प्रदेश, हरियाणा, नयाँ दिल्ली र उत्तर प्रदेशसम्म पुग्नुले पाकिस्तान र भारत सलहको बलियो प्रजनन् हब बनिसकेको प्रमाणित हुन्छ । चित्र ८ र चित्र १० ले यही पुष्टि गर्छ ।

चित्र १०. सलहको फौज र होपर ब्याण्डहरू देखिएका अफ्रिका, मध्यपूर्व र पश्चिम एसियाली देशहरू ।

४. सलहको फौजी उडान र जलवायु परिवर्तनको असर

संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) ले हाल जारी एसिया अफ्रिका महादेशका सलहको प्रजनन् विगतको तुलनामा चार सय गुणा बढी रहेको अनुमान गरेको छ भने, किटविज्ञहरुले यसको असर विगतको तुलनामा तीन हजार गुणा बढी हुने प्रक्षेपण गरिसकेका छन् । कृषि, जलवायु तथा प्रकोपसँग सम्वन्धित संसारका सवै निकाय र किटविज्ञहरु जलवायु परिवर्तनका कारण सलहको अन्तरद्वीपीय प्रकोप बढेकोमा मतेक्य प्रकट गर्छन् ।

जलवायु परिवर्तनका कारण एकातिर सामुद्रिक सतह बढ्दै गइरहेको छ भने अर्कोतर्फ बेमौसमी बर्षा, अतिवृष्टि अनि अनावृष्टि बढ्दो छ । वायुमण्डलीय चापमा असामान्य हेरफेरले गर्दा बेमौसमी र असामान्य आँधीबेहेरीहरु संसारका विभिन्न भागमा हुने गरेका छन् । यी असामान्य मौसम बदलीले सलहको प्रजनन्, वृद्धि विकास र अन्तरद्वीपीय उडानका लागि भने उपयुक्त अवस्था सिर्जना हुन पुग्छ ।

जस्तै– हालको सलहको प्रकोप पूर्वी अफ्रिकी महादीप र मध्यपुर्वका देशहरुमा सन् २०१८ बाट शुरु भएको मानिन्छ, जसको प्रमुख कारण हिन्द महासागरबाट शुरु भएका २ वटा ठूला सामुद्रिक आँधीहरु लुबान र मेकुनु थिए जसले अफ्रिकाका पूर्वी देशहरु र अरबको रव अल खाली मरुभूमिमा सलह प्रजननका लागि उपयुक्त वातावरण तयार हुनमा मद्दत पुर्‍याए । पछि गएर सन् २०१९ को जनवरी फेब्रुअरीमा लाल सागरका तटीय क्षेत्रमा पर्ने अफ्रिकी र अरवियन देशहरु (इरित्रिया, इथियोपिया, सोमालिया, सुडान, जिबुटी, साउदी अरव, संयुक्त अरव इमिरेट्स, यमन) मा भएको भीषण वर्षातले सलहको सो फौजलाई झन बढ्न मद्दत गर्‍यो ।

सन् २०१९ को मध्यतिर अरबतिरबाट इरानतर्फ बहेको चक्रपातसँगै सो सलहको फौज इरान हुँदै पाकिस्तानको बलुचिस्तान र पञ्जाब अनि भारतसम्म आइपुग्यो । साथै छिमेकी भारतमा २०१९ को अन्ततिर हप्ता दिनभन्दा लामो समयसम्म परेको अविरल वर्षाले सलहको घट्नुपर्ने मौसममा पनि झनै फैलाउन मद्दत गर्‍यो ।

यस्तो इतिहासमा हालसम्म नभएको मौसमविदहरुको धारणा रहेको छ । यसै वर्षको मार्च अप्रिलमा सो क्षेत्रमा भएको बेमौसमी वर्षातले हुनुपर्छ सायद भारतमा सलहको हालको रुप प्रदर्शित भएको छ । अब झनै भारतमा मनसुन सक्रिय हुन गइरहेकाले सलहलाई अरब देशहरुबाट भारततर्फ आउन र भारतमै पनि प्रजनन् र बृद्धिका लागि अझै उपयुक्त वातावरण उपलव्ध हुने अनुमान छ । यसले गर्दा भारतीय प्रायदीपमा सलहको फौजको संख्या र आकार दुवै बढ्न सक्ने अड्कल गर्न थालिएको छ ।

तलको चित्रमा पूर्वी अफ्रिकाबाट शुरु भएर मध्यपूर्व, इरान हुँदै पाकिस्तान र भारतसम्म सलहको फौजी अतिक्रमणको दृश्य देखाइएको छ । अनुकुल वातावरण, खानाको पर्याप्तता र हावाको उचित वेगका कारण यो पटकका सलहहरु स्वस्थ र बलिया भएकाले विगतका सलहका फौजभन्दा माथि–माथि उड्न सकेको आकलन गरिएको छ ।

चित्र ११. सलह किराको फौजी उडानः उत्तर पूर्वी अफ्रिकादेखि पश्चिम दक्षिण एसियासम्म ।

५. नेपालमा सलहको फौज पस्ने सम्भावना

सलहले फुल पार्नका लागि खुल्ला (मरूभूमिको जस्तो) बलौटे माटो चाहिन्छ, जुन नेपालमा छैन । तसर्थ नेपालमा सलहको प्रजनन् असम्भव प्रायः छ । तसर्थ हामीले नेपालमा होपर ब्याण्ड पनि देख्ने सम्भावना छैन ।

नेपालमा आउने सलह भनेका भारत वा पाकिस्तानमा हुर्केका सोलिटारियस अथवा ग्रेगारियस वयष्कहरू हुन् । माथि उल्लेख गरेअनुसार सोलिटारियस भन्दा ग्रेगारियस सलह बढी हानीकारक हुन्छन् । अब नेपालमा वयष्क सलहको जोखिम कति छ त ? सम्भावना छ÷छैन भनेर निक्र्याैल गर्नुपूर्व केही तथ्य केलाउनुपर्ने हुन्छ ।

विगतमा भारतमा सलहको प्रवेश र प्रकोप मुख्य मनसुन सकिनेबेलातिर हुने गर्थ्यो । तर, यसपालि निकै अघि (२ महिना पहिले) भइसकेको छ । यसको कारण, माथिको बुँदा नम्वर ४ मा उल्लेख गरिएको छ । र, अब के होला भन्ने यहाँ छलफल गर्नु उपयुक्त हुन्छ ।

पाकिस्तानको बलुचिस्तान, पञ्जाव अनि भारतको पञ्जाव, राजस्थान र महाराष्ट्र सलहको प्रजनाका लागि उपयुक्त स्थान मानिन्छन् । माथिको बुँदा २ मा त यी स्थानहरू हबकै रूपमा विकास भइसकेको तथ्य पेश गरिएको छ । तर, यी क्षेत्रहरू नेपालको पश्चिम–दक्षिण दिशामा पर्छन् । यो दिशाबाट सलह नेपाल प्रवेश गर्नका लागि पश्चिमी वायु सक्रिय हुनुपर्ने हुन्छ, जुन असम्भवप्रायः नै छ ।

बरू, यसको विपरीत दिशा अर्थात् पूर्वबाट नेपालमा मनसुन सक्रिय हुन गइरहेको छ । बंगालको खाडीबाट नेपालतर्फ मनसुन सक्रिय भैसकेको छ र मनसुनी बहावको विपरीत दिशामा उडान भर्नु सलहलाई कठिन हुन सक्छ । तसर्थ, मनसुनअघि नेपालमा सलह आउने सम्भावना ज्यादै कम हुन सक्छ ।

यहाँनेर नेपालमा सलह आतङ्कको इतिहासलाई पनि केलाउनुपर्ने हुन्छ । ठ्याक्कै तिथिमिति उल्लेख गर्न नसके पनि नेपालका विभिन्न स्थानका ज्येष्ठ नागरिकहरूले आफ्नो सम्झना सुनाउनु भए अनुसार केही विश्लेषण भने गर्न सकिन्छ ।

मेरो आफ्नै जन्मस्थान लमजुङको राइनास (जो टार क्षेत्र पर्दछ) मा सायद वि. सं १९८६ तिर हुनुपर्छ, भदौमास घैया धानमा सलहले व्यापक क्षति पुर्‍यााएको रहेछ । त्यस्तै पर्वतको मल्लाजमा पनि सोही वर्षको साउनको अन्तिम वा भदौको पहिलो हप्ता कोदोमा व्यापक क्षति पुर्‍यााएको रहेछ ।

काभ्रेको पनौती आसपास मकैमा धेरै क्षति पुर्‍याएको भन्ने सुनिएको थियो । यसको मतलव, सो ठाउँमा असारको अन्तिम वा साउनको पहिलो हप्तातिर सलह पसेको हुनुपर्छ । मेरै संस्थाबाट सेवानिवृत्त अग्रज डा. समुद्रलाल जोशीज्यूका अनुसार सन् १९६२ (वित्रम सम्वत २०२० तिर हुनुपर्छ) मा काठमाडौंमा देखिएको सोलिटारियस सलहलाई संकलन गरेर किटविज्ञान महाशाखा, खुमलटार, ललितपुरमा राखिएको रहेछ । सो फट्याँग्रा सलह नै हो भनी ब्रिटिस म्युजियमले सोही साल निर्क्योल गरेको रहेछ । यसबाट के प्रक्षेपण गर्न सकिन्छ भने, भारत पाकिस्तानमा पहिलेका वर्षहरूमा जुलाई अगस्टमा देखिएजस्तै नेपालमा पनि सोही हाराहारीमा देखिएको रहेछ ।

यहाँनेर आएर अलिकति बढी विश्लेषण गर्न जरूरी छ । भारत पाकिस्तानमा यो कीराको प्रकोप माथि बुँदा ४ मा उल्लेख भएझैं झनै बढ्यो भने, मनसुनको अन्ततिर पहिले पहिलेका अतिक्रमण झैं साउन भदौको दौरान नेपालमा सलह अतिक्रमण हुने प्रवल सम्भावनालाई नजरअन्दान गर्न भने मिल्दैन ।

चित्र १२. नेपालमा सम्भावित सलहको प्रवेश र नोक्सान पुर्‍याउन सक्ने क्षेत्रहरू

भारत पाकिस्तानमा विद्यमान सलहको वस्तुस्थिति भन्दा पनि माथि उठेर अर्को तथ्यलाई जोड्नु उपयुक्त होला । बुँदा ४ मा उल्लेख गरेझैं उत्तर पूर्वीअफ्रिकी देशहरू, मध्यपूर्वी देशहरू, इरान, पाकिस्तान र भारत लगायतको देशहरूका मरूभुमिहरूमा सन् २०१८ देखि अविछिन्न सामुद्रिक आँधी तुफान तथा भीषण वर्षाका कारण सलहको प्रजननका लागि उपयुक्त वातावरण सिर्जना भएको छ ।

हालको सलहले ढाकेको विश्वका क्षेत्र र यी क्षेत्रहरूका मौसम पूर्वानुमानका आधारमा यी क्षेत्रहरूमा सलहको अतिक्रमण झनै बढ्ने निश्चितप्रायः छ । यसको असर नेपालमा पर्ने सम्भावना पनि योसँगै बढेको प्रतीत हुन्छ । त्यस्तो अवस्था आयो भने माथि चित्र १२ मा झैं सलहको प्रवेश हुने अनुमान गर्न सकिन्छ । जस अनुसार, पश्चिम दक्षिण सीमाना हुँदै सलहको झुण्ड पूर्वतिर सर्न सक्छ ।

संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन, सन् २०१६ ले पनि नेपालको झण्डै आधाजसो भुभागलाई सलह प्रकोप क्षेत्रको सिमानाभित्र (चित्र ८) राखेको छ । यी तथ्य र प्रमाणका आधारमा सलह नियन्त्रणका लागि हाम्रा संयन्त्रहरू पनि तयारी अवस्थामा रहनुपर्छ भन्ने सुझाव दिन सकिन्छ ।

६. सलह रोकथामका लागि हाम्रो विगत र वर्तमान

माथि उल्लेखित ब्रिटिश म्युजियम र किटविज्ञान महाशाखाको म्युजियम अनुसार नेपालमा विगतमा सलहले अतिक्रमण गरेको बैज्ञानिक पुष्टि भने भएको छ । यसबाहेक सलह नियन्त्रणका लागि सिफारिस प्रविधिहरू नेपालको कुनै पनि निकायमा भएजस्तो लाग्दैन । धेरै समयको अन्तरालमा आइलाग्ने समस्या भएकाले पनि सलह नियन्त्रणले खासै प्राथमिकता पाउन सकेन होला भन्ने अनुमान गर्न सकिन्छ ।

माथि उल्लेख गरिएका सन्दर्भअनुसार, विगतमा सलहले अतिक्रमण गर्दा धुवाउने, ठुल्ठूला आवाजहरू निकाल्ने, लामा डोरीहरू बारीको वारपार टाँगेर दुईजनाले दुईतिरबाट बालीनालीका बोटहरू हल्लाइदिने, चराहरूलाई संरक्षण गर्ने, बिहान बिहानै (जतिखेर सलह उडिसकेका हुँदैनन्) बाली खानुभन्दा पहिलै बारीबाट सलहलाई धपाउने, नेटजालीहरूमा छोप्ने आदि क्रियाकलाप गरेर हाम्रा अग्रजहरूले सलहबाट हुने क्षतिलाई कम गर्ने प्रयास गरेका रहेछन् । यसका साथै सलहलाई पक्रेर विभिन्न परिकार बनाएर खाएको इतिहास पनि सुन्नमा आएको छ ।

सलहले नेपालमा क्षति पुर्‍याएको इतिहास हुँदाहुँदै पनि यसको नियन्त्रणका लागि राज्य र यसका अंगहरू जस्तै विश्वविद्यालय, कृषि अनुसन्धानका निकायहरू, कृषि विभागले यथेष्ट ध्यान दिएको पाइँदैन । हाल आएर सलह नियन्त्रणका लागि सरकारले विज्ञहरू सम्मिलित टास्क फोर्स गठन गरेको छ जुन एकदमै सकारात्मक छ । सो टीमसँग यो मनसुनभरिको समय छ । आशा गरौं यसले सलह नियन्त्रणका केही ठोस उपायहरू सुल्झाउने छ ।

७. तत्कालका लागि के गर्नुपर्छ ?

नेपालजस्तो देश, जहाँ सलहका सोलिटारियस अथवा ग्रेगारियस वयष्क मात्रै आइपुग्छन्, यसको नियन्त्रण पक्कै पनि गाह्रो हुन सक्छ । यद्यपि केही रोकथामका उपायहरू भने अपनाउन सकिन्छ ।

हामीकहाँ अरू देशमा जस्तो एकल खेती प्रणाली नभइकन बहुखेती प्रणाली छ । यसले गर्दा सलहको संक्रमणले कुनै एक खेती नष्ट भएमा अर्को खेती जोगिन सक्छ । अथवा, हाम्रा किसानहरूसँग तुरून्तै अर्को खेती लगाउनका लागि वीउवीजन आफैंसँग सुरक्षित राखेका हुन्छन् । यो एकदमै सवल पक्ष हो । त्यसमाथि, हाम्रा खेतबारीहरू नजिक वनजंगल छन्, जसले गर्दा सलहका शिकारी चरा आदिलाई भरपर्दो वासस्थान हुने गर्छ ।

अलिकति हामीले गर्नसक्ने भनेको हाम्रो खेतबारीमा चरा डाक्नका लागि चरा बस्ने टाँगाहरू, चरालाई नुहाउनका लागि साना–साना डोबिल्काहरू तयार पारिदिनुपर्छ । यसो गर्नाले चराहरूले सलहको आहार गरी संख्या घटाइदिन सहयोग गर्छन् ।

अर्को, माथि उल्लेखित हाम्रा अग्रजहरूले अपनाउनुभएका क्रियाकलाप पनि अनुसरण गर्न सकिन्छ । जालमा समात्ने पनि अर्को उपाय हुन सक्छ । तर, यी तमाम क्रियाकलाप एकजना किसानले मात्रै भन्दा पनि सामुहिक गर्न सकियो भने बढी प्रभावकारी बन्न सक्छ ।

हाम्रो समाजमा सलहजस्ता फट्याँग्रा खाने प्रचलन छैन वा खाए पनि त्यसलाई निम्नस्तरमा लिइन्छ । तर, सलह फट्याँग्रामा मानिसलाई चाहिने पौष्टिक तत्वहरू विशेष गरी प्रोटिन प्रशस्त मात्रामा पाइन्छ । तसर्थ सलहलाई समातेर भण्डारण गर्ने र पछि खानामा प्रयोग गर्न सकिन्छ । तर, विषादी हालेर मरेका सलह भने खान हुँदैन ।

खाद्य तथा पोषण संकट कम गर्नलाई यो राम्रो तरिका पनि हुन सक्छ । अफ्रिकी, अरबियन र एसिया प्यासिफिक क्षेत्रका देशहरूमा फट्याँग्रा खाने चलन यद्यपि कायमै छ ।

चित्र १३. साउदी अरब (बायाँ) र यमन (बीच) मा सलह बिक्रिमा, र सलहको कुवेती परिकार (दायाँ) ।

साउदी अरब लगायतका मध्यपूर्वी देशहरूमा त खाद्यान्न बजारमा सलह पनि किन्न पाइन्छ । त्यति मात्रै हैन, यसरी समातिएका सलहलाई पशुपंछी र माछाको आहारमा पनि उत्तिकै प्रयोग गर्न सकिन्छ । तर, सलहको फौजको आकार निकै ठूलो हुने गर्छ र यसको अतिक्रमणले खाद्यसंकटको अवस्था नै सिर्जना हुन सक्छ । तसर्थ, विषादी अन्तिम विकल्प पनि हुन सक्छ ।

जैविक विषादी होपर अवस्थामा बढी प्रभावकारी मानिन्छ । तर, नेपालमा आइपुग्ने सलह वयष्क हुने भएकाले रासायनिक विषादीकै प्रयोग गर्नुपर्ने हुन सक्छ । छिमेकी मुलुक भारतले यसअघि प्रतिवन्ध गरिएका विषादीहरू मालाथिएन र फेनिट्रोथिएन सलहका विरूद्ध प्रयोग गर्न अनुमति दिइसकेको छ । नेपाल सरकारले पनि विषादी पंजीकरण गर्ने निकायको सुझावका आधारमा सो विषादीहरू र अन्य अर्गानोफस्फेट र कार्वामेट विषादीहरू जसको असर खाएफछि देखिने वा सो विषादीको संसर्गमा सलह आउँदा विष लाग्ने हुन्छ, त्यस्ता विषादीहरूलाई सिफारिस गर्नुपर्ने हुनसक्छ ।

विषादी छर्दा दुईथरिका रणनीति तय गर्न सकिन्छ । एउटा सलहलाई खेतबारीमा बस्न नै नदिने र अर्को बसिसकेपछि विषादी प्रयोग गर्ने । बस्न नै नदिनका लागि हाम्रो सलह अनुगमन प्रणाली दुरूस्त हुनुपर्छ । यो भनेको, यदि २ घण्टापछि हाम्रो बालीनालीमा सलह बस्ने एकिन भयो भने, सलह बस्नुभन्दा ठीक अगाडि विषादीको प्रयोग गर्ने । यसो गर्नाले बालीनालीमा सलह नै बस्न सक्दैन र बालीनाली जोगिन्छ । अर्को रणनीति भनेको सलह बालीनालीमा बसिसकेपछि विषादीले उपचार गर्ने हो ।

यो रणनीति बिहानपख सूर्य उदाउन भन्दा ठीक अगाडि गर्न सकियो भने प्रभावकारी हुन सक्छ, किनभने ग्रेगारियस सलहहरू त्यतिञ्जेलसम्म उडिसकेका हुँदैनन् । वयष्क सलहहरूले सूर्योदय भएको केही मिनेटदेखि केही घण्टासम्म शक्ति सञ्चय गरेपछि मात्रै उड्न सक्षम हुन्छन् ।

विषादी प्रयोग गर्दा सुरक्षाका उपायहरू अपनाएर प्रयोग गर्नुपर्छ । प्रयोग गरिसकेपछि सरसफाई गर्नुपर्छ, बिषादी प्रयोग गरेको बारीमा निश्चित समयसम्म प्रवेश गर्नुहुँदैन र विषादी प्रयोग भएको बालीनाली खाना वा दानामा प्रयोग गर्नु छ भने पनि पर्खनुपर्छ पार भएपछि मात्रै खानुपर्छ र प्रयोग गर्नुपर्छ ।

सलहको प्रकोप एकैचोटि ठूलो क्षेत्रफलमा हुने भएकाले, माथि उल्लेखित विषादी प्रयोगको दुवै अवस्थामा अफ्रिकी मुलुकहरू विशेष गरी केन्या र इथियोपिया अनि इरानमा जहाज र हेलिकोप्टरहरू प्रयोग गरिएका छन् । हाम्रो भु–बनोट र उपलब्धताले गर्दा पनि कीटनाशक विषादी छर्न जहाज र हेलिकोप्टर प्रयोग गर्न हामी समर्थ हुनेछैनौं ।

यसको विकल्पका रूपमा ड्रोनहरूको प्रयोग भने गर्न सकिन्छ । यसले विषादीसँग मानिसको संसर्ग कम हुने भएकाले स्वास्थ्यमा जोखिम धेरैहदसम्म कम हुन्छ । साथै, कम समयमा धेरै क्षेत्रफलमा विषादी प्रयोग गर्न सकिन्छ । यसका लागि आजैदेखि विषादी किन्ने, सो विषादीहरूलाई सलहको जोखिम बढी भएका देशका विभिन्न ठाउँमा वितरण गरी उचित ठभण्डारण गरी राख्ने र ड्रोन हाँक्नसक्ने जनशक्ति तयार गर्नतर्फ लाग्नुपर्छ । भारत, पाकिस्तान र अन्य सलह प्रभावित देशहरूले पनि सलहको अनुगमन र नियन्त्रणका लागि ड्रोनको प्रयोग बढाउन थालेका छन् ।

चित्र १४. सलह अनुगमन र नियन्त्रण गर्न भारतको महाराष्ट्र र जयपुर, र पाकिस्तानमा ड्रोनको प्रयोग ।

८. भविष्यको रणनीति के हुनुपर्छ ?

द गार्जियन पत्रिका (१५ मे, २०२०) का अनुसार हाल पूर्वी अफ्रिकी मुलुकहरूमा सलहको दोस्रो लहर आइसकेको छ र यो यसै वर्षको शुरूमा फैलिएको सलहको तुलनामा ३०० गुणा बढी हानीकारक छ । सलह प्रजनन् र बृद्धि विकासका लागि लगातार अनुकुल परिस्थितिको सिर्जना हुनु, कोरोनाले गर्दा नियन्त्रणका उपायहरू प्रभावकारी हुन नसक्नु आदि यसपछाडिका प्रमुख कारणहरू मानिएका छन् ।

हाल अफ्रिकामा मात्रै हैन, मध्यपूर्वी देशहरू, इरान, पाकिस्तान र भारतमा समेत सलहको प्रभावकारी नियन्त्रण हुन सकिरहेको छैन । डाउन टु अर्थर द डिप्लोम्याट पत्रिकाहरू (२५ मे, २०२०) ले त भारत पाकिस्तानमा समेत आगामी दिनहरूमा सलहको प्रकोप झनै बढ्ने आकलन गरेको छ । हिन्दुस्तान टाइम्स (मे २७, २०२०) ले त पाकिस्तानलाई सलहको नयाँ प्रजनन् केन्द्र भएको बताइराखेकै छ । द न्यूयोर्क टाइम्स (मे २७, २०२०) ले पनि भारतमा दोस्रो चरणको सलह प्रकोप शुरू भएका बताएको छ ।

यी सन्दर्भ सामग्रीहरूबाट के आकलन गर्न सकिन्छ भने, एसिया अफ्रिकी देशहरूमा सलहको कहर झनै भयावह हुँदै गइरहेको छ । अन्तरदेशीय एवं अन्तरद्वीपीय उडान भर्न सक्ने भएकाले पनि यो कीराको नियन्त्रण कठीन भएको हो । मरूभूमि (जहाँ मानिसहरूको तत्काल नजर पुग्न सक्दैन) मा सलहहरू फुल पार्न रूचाउने भएकाले पनि यी किराहरूको समयमा नियन्त्रण हुन सकिराखेको छैन ।

हाम्रोजस्तो देश, जहाँ वयष्कहरू मात्रै आइपुग्छन, समस्या झनै जटिल हुनेगर्छ । भारत पाकिस्तानमा भएका सलहका प्रजननयोग्य मरुभुमिजन्य जमिनहरूमा सलहलाई अण्डा पार्न नदिने, होपरहरूलाई विषादी प्रयोग गरेर नियन्त्रण गर्ने र त्यसपछिको चरणमा सोलिटारियस वयष्कहरूलाई लक्षित गरी नियन्त्रण गरेको खण्डमा र यति गर्दा पनि नेपाल प्रवेश गरेमा माथि भनेझैं गरिएको अवस्थामा नेपालमा सलहको जोखिम कम हुन सक्छ ।

तर, भारत–पाकिस्तानबीचको तिक्ततापूर्ण सम्वन्धले गर्दा पनि यो प्रकृयाबाट सलह नियन्त्रण नेपालको लागि जटिल बिषय बन्न सक्छ । यसका लागि नेपाल, भारत, पाकिस्तान र इरानसहितको क्षेत्रीय अन्तरदेशीय प्रयासको खाँचो हुन्छ । सलह नियन्त्रणका निम्ति कम्तिमा यी राष्ट्रहरू एक ठाउँमा नउभिएसम्म भारतीय प्रायदीपमा सलह नियन्त्रण असम्भव छ । र, ढिलोचाँडो यस क्षेत्रमा सलह नियन्त्रणको क्षेत्रीय सञ्जाल बन्नेमा आशावादी हुन सकिन्छ । बैज्ञानिक पृष्ठभूमिका आधारमा नेपालले यस विषयमा पहलकदमी लिन पनि पछि पर्नुहुँदैन ।

हामीकहाँ सलहमात्रै हैन, थुप्रै अन्तरदेशीय र अन्तरद्वीपीय किराहरू आइलागेका छन् । जस्तै– उत्तर छिमेकी देशबाट आएको स्याउको टेन्ट क्याटरपिलार, बंगलादेश र पूर्वी भारतबाट आउने धानको ब्राउन प्लान्ट होपर, अमेरिकी महादेशबाट आइसकेका खाद्यान्नबालीका फौजीकीरा, तरकारीमा लाग्ने टुटाकीरा, निकट भविष्यमा आइपुग्न सक्ने आलुको कोलोराडो बिटल, आदि ।

यी सबै कीराहरूको नियन्त्रणका लागि नेपालमा विद्यमान कृषि अनुसन्धानका निकाय, कृषि विभाग र कृषि विश्वविद्यालय तथा कृषि अध्ययन संस्थानमा कार्यरत विज्ञहरू संलग्न टिम तयार गरिनु सान्दर्भिक हुन्छ । यो टोलीलाई सलह र अन्य ट्रान्सबाउन्डरी शक्रुकिरा संक्रमित अफ्रिकी, मध्यपूर्वी एसियाली र भारत–पाकिस्तानसमेतका देशहरूमा तत् किराहरूको अतिक्रमण भएका बखत स्वयंसेवकका रूपमा अध्ययन अनुसन्धान गर्न पठाउन सक्नुपर्छ ।

जस्तै– टर्की र चीन दुबै सलहको जोखिम अत्यन्तै न्यून भएका देशहरू हुन् । तर, पनि ती देशहरूले आफ्ना वैज्ञानिक प्राविधिक संलग्न विज्ञहरूको टोलीलाई रासायनिक विषादी, ड्रोन तथा हाँसहरूसहित पाकिस्तानमा पठाएका छन् । यसो भयो भने अन्य देशहरूले गरिरहेका सलह र सलहजस्तै हानीकारक किराहरूको नियन्त्रणका उपाय जान्न, पत्ता लगाउन अनि राष्ट्रलाई चाहिएका बेला प्रयोग गर्न सकिन्छ । अर्को महत्वपूर्ण भनेको यो टीमले मौसमविदहरू समेतको सहभागितामा सम्भावित सलह संक्रमणको प्रक्षेपण गर्ने र जनतालाई सुसूचित गर्ने गर्नुपर्छ । सरकारी र निजी संचारका माध्यमबाट जनस्तरमा सुचना प्रवाह गर्ने व्यवस्था मिलाउनुपर्छ ।

यी त भए कसरी सलहलाई नेपाल प्रवेश गर्नबाट रोक्न कोसिस गर्ने, कथंकदाचित प्रवेश गरिहालेमा कसरी नियन्त्रणमा लिन कोशिस गर्ने भन्ने तात्कालिक र दीर्घकालीन रणनीतिहरू । तर, सलहले नेपालमा संक्रमण गरेर हाम्रा बालीनाली ध्वस्त नै पारेको खण्डमा हाम्रा चुनौतिहरू झनै थपिने निश्चित छ ।

पहिलो त माथि उल्लेखित कार्यकलापहरूलाई निरन्तरता दिई नै राख्नुपर्छ । अतिक्रमण पश्चात हामीले लिने रणनीतिक तयारी अहिले नै शुरू गर्नुपर्छ । प्रकोप क्षेत्रका किसान र अन्यहरूलाई पनि विषादीरहित सलह संकलन गर्न, खानामा प्रयोग गर्न र पशुपंछी तथा माछाको दानाहरूमा प्रयोग गर्न उत्प्रेरित गर्नुपर्छ । सलह संक्रमण पश्चात छोटो अवधिमा तयार हुने बालीनाली उत्पादन गर्न प्रेरित गर्ने र सोको लागि संघीय, प्रादेशिक र स्थानीय तीनै तहका सरकारहरूले आजै सो बालीका बीउबिजन, मल र प्रविधिको जोहो गर्नु वाञ्छनीय हुन्छ ।

सबैभन्दा महत्वपूर्ण भनेको विश्व वातावरणीय अवस्थामा भएको बदली नै सलह प्रकोप बढ्नुको मूल कारण हो । यसको नालीबेली माथिको बुँदा ४ मा उल्लेख गरिएको छ । जलवायु परिवर्तन आजको निकै ठूलो चुनौती हो र भौगोलिक धरातलका कारण हाम्रो देश उच्च जोखिममा छ । त्यसमाथि सलह लगायतका अन्तरदेश र महादेश विचरण गर्न सक्ने शत्रुकीराहरूको पनि हामी सधैं उच्च जोखिममा रहेका छौं ।

यी अति महत्वपूर्ण तर्कसहित नेपाल सरकारले अन्तर्राष्ट्रिय मञ्चहरूमा सशक्त उपस्थिति जनाउँदै वातावरण प्रदुषण र जलवायु परिवर्तन रोक्नमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । यति भन्दै गर्दा तत्कालको आवश्यकताचाहिँ माथि उल्लेख गरिएझैं सलहको सम्भावित अतिक्रमणबाट सकेसम्म जोगिने उपाय गर्नु नै हो ।

कोरोनाको महामारीबीच यदि सलहको प्रकोप नेपालसम्म फैलियो भने नेपाली किसान वर्गलाई यसको नियन्त्रणमा सरकारसँगै रहेको अनुभुति गराउनु महत्वपूर्ण ढाडस हुन सक्छ । तर, कामना र आशा गरौं कि बंगालको खाडीबाट सक्रिय पूर्वीय वायुले सलहको नेपाल यात्रामा विराम लगाउन सफल होस् र संसारबाट नै सलह संक्रमण निस्तेज हुँदै जाओस् ।

Leave a Reply

Back to top button
Close
%d bloggers like this: