२५ जनाले जिते कोरोना : भीम अस्पतालबाट नाँच्दै गाउँदै घर फर्किए

भैरहवा : रुपन्देही जिल्लाको भैरहवास्थित भीम अस्पतालमा उपचारत २५ जना कोरोना संक्रमित निको भएर नाँच्दै गाउँदै घर फर्किएका छन्। योसँगै अस्पतालमा उपचारत संक्रतिमको संख्या शून्य भएको छ ।

डिस्चार्ज भएर घर फर्किने क्रममा अस्पतालमा परिसरमा उनीहरु झुमेर नाचे । साथै उनीहरुलाई निको बनाउनमा फ्रन्ट लाइनमा रहेर उपचार गरेका केही चिकित्सक पनि उनीहरुको थप आत्मबल बढाउन नाचमा साथ दिएर खुशीयाली मनाए ।

घर फर्किने क्रममा उनीहरुले उपचारमा खटिएका सबै चिकित्सकलाई धन्वयाद दिँदै आत्मबल बढाए कोरोनालाई सहजै जित्न सकिने बताए । डिस्चार्ज भएकालाई प्रदेश पाँच सरकारका सामाजिक विकासमन्त्री सुर्दशन बराल, प्रदेशसभा सांसद सन्तोष कुमार पाण्डेय, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्मालगायत अस्पतालका स्वास्थ्यकर्मीले खादा ओढाएर पुष्पगुच्छा दिएर विदाइ गरे ।

डिस्चार्ज हुनेहरुमा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका पाँचजना, गैडहवा गाउँपालिकाका दश, सिद्धार्थनगर नगरपालिकाका एक, कपिलवस्तुका पाँच, नवलपरासीका तीन र भारतका एकजना रहेको भीम अस्पतालका प्रवक्ता गोपाल उपाध्यायले बताए ।

उनले संक्रमितको उपचारका लागि कुनै विशिष्ट औषधि नरहेपनि निको गराउनका लागि सामन्य भीटामिनका साथै मनोबल बढाउने परामर्श, योगा, सकारात्क सोचको विकास गर्ने लगायतका उपचारत पद्दतिबाट निको बनाइएको बताए ।

डिस्चार्ज हुनेहरु ४ वर्ष देखि ५० वर्ष उमेर समूहका छन् । अस्पतालमा २० दिन बिताएका कोरोना संक्रमित २४ घण्टाको अन्तरालमा पीसीआर रिपोर्ट निगेटिभ भएपछि डिस्चार्ज गरिएको अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. नविन दर्नालले बताए । ‘अस्पतालमा आउँदा मरिने पो हो कि भन्ने अवस्थामा आउनुभएको थियो, उनले भने, ‘तर अहिले निकै खुशी भएर नाच्दै गाउँदै घर जानु भयो ।’

सामाजिक विकास मन्त्री बरालले कोरोना संक्रमित बिरामीलाई निको पार्न खट्ने अस्पतालका सबै कर्मचारी र स्वास्थ्यकर्मीलाई धन्यवाद दिए । उनले प्रदेश ५ मा कोरोना संक्रमण निरन्तर बढ्दै गइरहेकोले आइसोलेसन सेन्टरलाई विस्तार गरिने काम भइरहेको बताए ।

उनले संक्रमण हुँदैमा आत्तिहाल्नुपर्ने स्थिति नरहेको भन्दै संक्रमित सबैलाई माया र सदभाव आवश्यक रहेको बताए ।कोरोना संक्रमित भइ डिस्चार्ज हुने भारत गोण्डा का २८ वर्षीय पुरुषले भीम अस्पतालमा रहँदा स्वास्थ्यकर्मीको राम्रो व्यवहारले छिटै निको भएको प्रतिक्रिया दिए। नवलपरासीमा पूजाका लागि नेपाल आएको बेला उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Leave a Reply

Back to top button
Close