कलियुगका द्रोणाचार्य, जो विद्यार्थीका हात चिर्छन् !

२७ फागुन, काठमाडौं । परीक्षामा ७५ प्रतिशतभन्दा बढी अंक नल्याएको निहुँमा कक्षा ६ र ७ सातका ३४ बालबालिकाका हात ब्लेडले चिर्न लगाएकी शिक्षिकालाई गत शनिबार प्रहरीले नियन्त्रणमा लियो । काठमाडौं जडिबुटीस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्मी कर्माचार्य विरुद्ध किटानी जाहेरी भने परेको छैन ।

पीडितले जाहेरी नदिँदा मुद्दा कसरी अगाडि बढाउने भन्ने अन्योल भएको प्रहरीको भनाइ छ ।

सामाजिक शिक्षा पढाउने कर्माचार्यले २० पूर्णाङ्कको परीक्षामा १५ अंकभन्दा कम ल्याउने विद्यार्थीको हात ब्लेडले चिराचिरा पार्न लगाएकी थिइन् ।

‘जागृति एकेडेमीमा जे भयो, त्यो सभ्य समाजले कल्पनै गर्न नसक्ने अपराध हो’ मनोविद् शिशिर सुब्बा भन्छन्, ‘मानसिक रूपमा सामान्य अवस्थाको व्यक्ति बालबालिकामाथि यति क्रुर हुनै सक्दैन ।’

कतिपय शिक्षकहरूले आफ्नो घरको झगडा, ऋणको बोझ, अघिल्लो दिन भट्टीमा खाएको रक्सीको ह्याङ विद्यार्थीमाथि पोख्ने गरेका छन्

विद्यार्थीलाई अनुशासित र पढैया बनाउने नाममा दिइएको यो यातना पहिलो होइन । सबैभन्दा विचारणीय पक्ष के छ भने दिनहुँजतो हुने यस्तो अपराधका लागि शिक्षक मात्रै होइन, सरकार, शिक्षाविद्, विद्यालय व्यवस्थापन र स्वयं अभिभावकसमेत दोषी छन् ।

गुरु दक्षिणामा ज्यान

महाभारतमा एउटा पात्र छन्, एकलव्य । एकलव्यलाई असाध्यै धनुर्विद्या सिक्न मन लागेछ । त्यतिबेला धनुर्विद्याका धुरुन्धर गुरु थिए– द्रोणाचार्य । भारद्वाज ऋषि र घृतार्ची अप्सराका छोरा उनी कौरव कुमारहरूलाई धनुर्विद्या सिकाउन नियुक्त भएका थिए ।

एकलव्य पनि एक दिन धनुर्विद्या सिक्न द्रोणाचार्यकहाँ पुग्छन् । आफ्नो काम राजकुमारहरूलाई मात्रै धनुर्विद्या सिकाउनु भन्दै द्रोणाचार्यले एकलव्यलाई शिष्य बनाउन अस्वीकार गर्छन् ।

तर, एकलव्यले हार मान्दैनन् । द्रोणाचार्यको मूर्ति बनाएर अगाडि राखेर धनुर्विद्या सिक्न थाल्छन् । मन लगाएर सिकेका उनी धनुर्विद्यामा निपूर्ण हुन्छन्, गुरु शिक्षाविना नै ।

एकलव्यको सर्वत्र चर्चा हुन्छ । कौरव कुमारहरूलाई सबैभन्दा पारंगत बनाउने जिम्मा लिएका द्रोणाचार्यले एकलव्यको प्रतिभालाई आफ्नो लक्ष्यको बाधक ठान्छन् । कौरव कुमारहरूलाई एकलव्य भन्दा अब्बल बनाउन नसक्ने देखेपछि द्रोणाचार्यले गुरु दक्षिणा माग्छन्, त्यो पनि धनु चलाउन नभई नहुने दाहिने हातको बुढी औंला ।

आनाकानी नगरी एकलव्य पनि गुरु दक्षिणा दिन तयार हुन्छन् । द्रोणाचार्यको एक वचनमै उनले दाहिने हातको बुढी औंला च्वाट्टै काटेर दिन्छन् ।

रोल्पामा शिक्षिकाको कुटाइबाट हात भाच्चिएका विद्यार्थीहरू ।

अहिले पनि गुरुभक्तिको अनुपम उदाहरण खोज्नु पर्दा एकलव्यको नाम पहिलो नम्बरमा लिने गरिन्छ । जागृति एकेडेमीका विद्यार्थीहरू पनि सीतालक्ष्मी कर्माचार्यरूपी द्रोणाचार्यको लक्ष्यमा बाधक नबन्न आफ्नो सुन्दर भविश्य कोर्ने कलिला हात छियाछिया पार्न तयार भए ।

१०–१२ वर्षका बालबालिकाले सामाजिक शिक्षा पढेवापत असामाजिक गुरुदक्षिणा बझुाउनुपरेको जागृति एकेडेमीको त्यो घटना केवल एउटा उदाहरण हो । आज पनि एकलव्यहरूले दिनहुँजसो देशभरि द्रोणाचार्यलाई औंला काटेर बुझाइरहेका छन् ।

औंला मात्रै किन, शिक्षाको उज्यालोले बालबालिकाको भविश्य उज्वल बनाउने प्रण गरेका हाम्रा गुरुहरूले ‘विद्यार्थीको ज्यानै गुरुदक्षिणा’ लिइरहेका छन् ।

सन् २०१९ मा देशभरि ४६ विद्यार्थीलाई चरम शारीरिक यातना दिइएको मानव अधिकारवादी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को तथ्यांक छ । इन्सेकका अनुसार उनीहरू मध्ये १९ छात्रा र २७ छात्र छन् ।

गत असारमा भीमदत्त नगरपालिकामा चारजना शिक्षक मिलेर कक्षा नौमा अध्ययनरत छात्रसँग ‘ज्यान गुरुदक्षिण’ मागे । भीमदत्त–१७ स्थित महाकाली बाल विद्यालयमा अध्ययनरत माधव कलौनीले १३ असारमा गुरुदक्षिणामा आफ्नै ज्यान दिनुपर्‍यो ।

विद्यालयका प्रधानाध्यापक यशोदा जोशी, शिक्षकहरू लक्ष्मण भट्ट, दुर्गादत्त पाठक र हर्क जाग्रीलाई ज्यान मार्ने उद्योग गरेको भन्दै प्रहरीले नियन्त्रणमा लियो ।

शिक्षकहरूले ‘विद्या सिकाउने’ क्रममा विद्यार्थीको छाती, टाउकोमा गम्भीर चोट लाग्यो भने दायाँ खुट्टा भाँचिएको थियो । चारजना शिक्षकको सामूहिक शिक्षा धेरै भएर विद्यार्थीले उपचारका क्रममा ज्यान गुमाए ।

हिंस्रक गुरु

शिक्षाविदहरूका अनुसार कुटपिट नगरी विद्यार्थीलाई पढाउन नसक्नु शिक्षकमा हुनुपर्ने आधारभूत क्षमताको अभाव हो । शिक्षाविद् डा. विद्यानाथ कोइरालाका अनुसार ‘सही व्यक्ति सही स्थान’ मा नहुनुको सजाय विद्यार्थीले भोग्नुपरेको छ ।

‘भनेको नमान्ने वा नजान्ने विद्यार्थीलाई नपिटी पढाउन सक्नुहुन्न भने सम्झनुस् तपाई‌ंमा शिक्षक बन्ने ल्याकत छँदैछैन’ कोइराला भन्छन् । उनका अनुसार, बालबालिकासँग कसरी व्यवहार गर्ने, उनीहरूले मान्ने गरी कसरी पढाउने भन्ने ज्ञान नहुनु भनेको शिक्षक बन्न अयोग्य हुनु हो ।

जुन भ्यागुतोले आफू बसेको कुवालाई संसार ठान्छ, ऊमात्रै आक्रमणमा उत्रिन्छ । ‘प्याराडाइम सिफ्ट’ भएको थाहा नपाएका शिक्षकले मात्रै विद्यार्थी कुट्छन् । विगतमा बालबालिको दिमाग खाली हुन्छ, शिक्षकले भरिदिने हो भन्ने मान्यता थियो । अहिले प्रत्येक बालबालिकाको दिमाग सूचनाले भरिएको छ ।

‘शिक्षकको काम विद्यार्थीको दिमागमा भएको ज्ञान काम थपघट गर्न सघाउनु मात्रै हो’ शिक्षाविद् डा. कोइराला भन्छन्, ‘सिर्जनशील र रचनात्मक बनाउन सिकाउने मात्रै हो ।’

कतिपय शिक्षकहरूले आफ्नो घरको झगडा, ऋणको बोझ, अघिल्लो दिन भट्टीमा खाएको रक्सीको ह्याङ विद्यार्थीमाथि पोख्ने गरेका छन् ।

शिक्षा मन्त्रालयका एक अधिकारी शिक्षक घरमा श्रीमान/श्रीमती वा प्रेमी/प्रेमिकासँग झगडा गरेर आएको विद्यार्थीले बढी कुटाइ खाने गरेको बताउँछन् । कतिपय शिक्षकहरूले व्यवस्थापनको रिस पनि विद्यार्थीमाथि नै पोख्ने गर्छन् ।

तीन दशक पहिला बनेको बालबालिका सम्बन्धी ऐनमा ‘बालबालिकाप्रति क्रुर र यातनापूर्ण व्यवहार गर्न नहुने’ उल्लेख छ । शिक्षा मन्त्रालयले निर्णय नै गरेर विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय दिन नपाइने निर्णय गरेको पनि दुई दशक पुग्न लागेको छ ।

बालबालिका सम्बन्धी ऐन, २०७५ मा बाल अधिकार, कसूर तथा सजाय सम्बन्धी स्पष्ट व्यवस्था छ । ‘तर हाम्रा शिक्षकहरूलाई यस्तो ऐन पढ्ने फुर्सद कहाँ ?’ अर्का शिक्षाविद् डा. मनप्रसाद वाग्ले भन्छन्, ‘बालअधिकारै नबुझ्ने शिक्षकको हातमा हाम्रा नानीहरूको भविष्य सुम्पिएका छौं ।’

सजायले विद्यार्थी सुध्रिँदैन भन्ने कुरा घामजत्तिकै छर्लङ्ग छ । तर, पनि शिक्षकहरूले विद्यार्थीलाई मृत्युको मुखमा पुग्ने गरी कुट्ने पिट्ने क्रम रोकिएको छैन ।

अभिभावक संघ नेपालका अध्यक्ष केशव पुरी अविवेकी, मिचाह, पिट्दा ठूलो भइन्छ भन्ने बुझाइले गर्दा शिक्षकहरू हिंस्रक भएको बताउँछन् । जुन शिक्षक कक्षामा पस्दा ‘पिन ड्रप साइलेन्स’ हुन्छ त्यही शिक्षकलाई योग्य र सफल मान्ने मान्यताको अन्त्य गर्नुपर्ने उनको भनाइ छ ।

‘शिक्षकले आफ्नो असमक्षता लुकाउन विद्यार्थीलाई कडा सजाय दिने गरेको देखिन्छ’ अध्यक्ष पुरी भन्छन्, ‘यो गैरकानूनी कार्यको हामीले निरन्तर विरोध गर्दै आइरहेका छौं, तर पनि विद्यालय र शिक्षकले विभिन्न तर्क दिएर विद्यार्थीलाई सजाय दिन छाडेका छैनन् ।’

सकेसम्म शत प्रतिशत, नभए पनि बढीभन्दा बढी प्रतिशत विद्यार्थी उत्तीर्ण गराउने शिक्षकलाई सफल शिक्षक भन्ने चलन छ । विद्यार्थी ‘कमसल’ नपरोस् भनेर सुरुै प्रवेश परीक्षा लिइन्छ र धेरै अंक ल्याउने सम्भावना भएकालाई मात्रै भर्ना गरिन्छ । कतिपय विद्यालयले अभिभावकको शैक्षिक तथा आर्थिक अवस्थालाई विद्यार्थी छनोटको आधार मान्ने गरेका छन् ।

अर्कोतिर विद्यालयले शिक्षक छनोट गर्दा लिलाम घटाघटमा लिन्छ । जसले थोरै पारिश्रमिकमा पढाउँछ, त्यही शिक्षकलाई नियुक्ति दिइन्छ ।

विद्यालय व्यवस्थापन लिलाम घटाघटमा लिइने शिक्षकलाई ‘राम्रो’ नतिजा ल्याउने दबाव दिइरहेका हुन्छन् । शिक्षाविदहरूका अनुसार पढ्ने जान्ने विद्यार्थीलाई होइन नजान्नेलाई जान्ने बनाउन सक्नुचाहिँ बहादुरी हो ।

शिक्षाविद् डा. कोइरालाका अनुसार कमजोर विद्यार्थीलाई हात चिर्न होइन पढाउन जान्नु राम्रो शिक्षकको द्योतक हो । असल शिक्षकले विद्यार्थीको मनोविज्ञान बुझेर पढाउँछन् ।’

‘जस्तो– फुटबल खेल्न मन पराउने विद्यार्थीलाई फुटबलबाटै गणित सिकाउनुपर्छ । नाच्न रुचाउनेलाई नचाएरै पढाउने क्षमता चाहिन्छ’ कोइराला भन्छन् ।

विद्यार्थी कुट्न ‘बाउन्सर’

शिक्षकले मात्रै होइन, कतिपय विद्यालयहरू नीति बनाएरै विद्यार्थी कुटपिट गर्न लागेको देखिन्छ । हिंस्रक शिक्षकले नपुगेर केही विद्यालयले डीआई (डिसिप्लिन इञ्चार्ज) राख्ने गरेका छन् ।

नाम डीआई भए पनि कामका हिसाबले उनीहरू विद्यालयका ‘बाउन्सर’ हुन् । फरक के हो भने डान्सबार, क्लबमा बाउन्सरले गुण्डा तह लगाउँछ, भने डीआईले विद्यार्थी ।

‘विद्यालयहरूले राखेका डीआई विद्यार्थीलाई सम्झाइ–बुझाइ गर्न होइन, धम्काउन, तर्साउनै लागि हो,’ शिक्षाविद् डा. वाग्ले भन्छन् ।

बालअधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौता, महासन्धि र प्रचलित शिक्षासँग सम्बन्धित कानूनले पनि विद्यार्थीमाथि हुने सबैखाले हिंसालाई अवैध मानेको छ । संविधानको धारा ३९ को ७ मा ‘कुनै पनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारीरिक, मानसिक वा अन्य कुनै किसिमिको यातना दिन पाइने छैन’ भनिएको छ ।

प्रचलित कानूनले दण्डनीय मानेको अपराध गराउन विद्यालयहरूले नयाँ तरिका अपनाएको देखिन्छ । गृहकार्य नगरेको, समयमा नआएको वा सुगा रटाइ गर्न नसकेको निहुँमा उनीहरूले एउटा विद्यार्थीलाई अर्को विद्यार्थीमार्फत कुटपिट गर्न लगाइरहेका छन् ।

साथीलाई चिमोट्न, चड्कन हान्न, किक हान्न लगाउनुलाई विद्यालयहरूमा सामान्य रूपमा लिने गरिएको शिक्षा मन्त्रालयका एक अधिकारीको अनुभव छ । उनी भन्छन्, ‘जडिबुटीमा हात चिरेको घटनामा चोट बाहिर देखिएकाले सार्वजनिक भएको हो, नदेखिने तर त्योभन्दा कठोर सजायहरू बाहिर आएकै छैन ।’

झट्ट हेर्दा विद्यार्थीलाई अर्को विद्यार्थीमार्फत कुटाउने सजायको सिलसिलाजस्तै देखिन्छ कर्माचार्यको सजाय दिने तरिका पनि । तर, यसरी सजाय दिँदा बाहिर हातमा लागेको भन्दा बढी असर बालमनोविज्ञान पर्ने मनोविदहरू बताउँछन् । आफैंले आफैंलाई काट्न लगाउनु भनेको अपराधको पराकाष्ठा हो ।

प्रेममा ढोका पाउँदा वा आफ्नो जिद्दी पूरा नहुँदा कतिपय युवायुवतीले आफैंलाई सजाय दिने उपाय रोज्छन् । त्यही संस्कारबाट आएका शिक्षकले मात्रै आफै‌ंलाई काट्न लगाउन सक्ने एक मनोविद् बताउँछन् । उनका अनुसार यस्तो कुरामा कुन संस्कारबाट हुर्किएको छ भन्ने कुराले पनि काम गर्छ ।

विद्यार्थीलाई ‘राम्रो’ बनाउने नाममा गरिने यस्तो सजायले विद्यार्थीसँगै सिंगो समाजलाई बर्बादीतर्फ डोर्‍याइरहेको उनको बुझाइ छ । उनी भन्छन्, ‘यस्ता सजायले विद्यार्थीलाई आत्महत्यातर्फ समेत प्रोत्साहित गरिरहेको हुन्छ ।’

शिक्षकले हानेको लट्ठीको चोट भौतिक शरीरमा भन्दा बढी विद्यार्थीहरूको मनमा पर्छ । मनोविद् शिशिर सुब्बा कक्षामा अपमानित हुँदा उनीहरूको आत्मबल छियाछिया हुने बताउँछन् । अपमानित हुँदा विद्यार्थीले पेट, टाउको दुख्ने जस्ता मनोशारीरिक लक्षण समेत देखाउने गर्छन् ।

कठोर सजायको असर

‘सबै बालबालिकालाई विद्यालय पठाऔं, नेपाललाई शिक्षित देश बनाऔं’ भन्ने नारा दिएर सरकारले विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको छ । विद्यालय देख्न नपाएका बालबालिका संख्या उल्लेख भएपछि सरकारले यस्तो अभियान चलाएको हो ।

तर, विद्यालय भर्ना भएका सबै विद्यार्थीले पनि पढाइ पूरा गर्दैनन् । शिक्षा मन्त्रालयका अनुसार कक्षा १–५ सम्म ३.६, कक्षा ६–८ सम्म ४.४ र ९–१० सम्मका ३.७ प्रतिशत विद्यार्थीले बिचैमा पढाइ छाड्छन् ।

विद्यार्थीले बिचैमा पढाइ छाड्नु (ड्रप–आउट) को प्रमुख कारण विद्यालयले दिने सजाय पनि हो । जस्तो– गत पुसमा गृहकार्य नगरेको निहुँमा देब्रे आँखा फुट्ने गरी कुटाइ खाएका रूपन्देहीका एक विद्यार्थीले विद्यालय जानै छाडे । सम्मरीमाई–६ स्थित ज्ञानदीप बोर्डिङमा कक्षा ५ मा पढ्ने ती विद्यार्थीलाई कम्युटर शिक्षक शैलेन्द्र बरईले कुटेका थिए ।
लामो समय शिक्षा मन्त्रालयमा कार्यरत राष्ट्रिय चिकित्सा शिक्षा आयोगका सदस्य सचिव हरि लम्साल विद्यालयमा दिइने सजायले विद्यार्थीहरूको बिचैमा पढाइ छाड्ने दर बढाएको बताउँछन् । उनी भन्छन्, ‘मानसिक सजायका कारण कति र शारीरिक सजायका कारण कतिले छन् भन्ने अध्ययन भएको छैन । तर, यस्ता सजाय ‘स्कूल ड्रप आउट’को ठूलो कारण पक्का हो ।’

विद्यार्थीलाई अंक धेरै ल्याउने र अनुशासित बनाउने नाममा दिइने यस्ता सजायले विद्यार्थीको पढाइ वा वृत्तिविकासमा मात्रै होइन, सिंगो समाजलाई हिंसात्मक बनाइरहेको विज्ञहरू बताउँछन् । मनोविद् शिशिर सुब्बाका अनुसार स्वभावैले जिज्ञासु उमेर समूहका बालबालिकाले गर्ने चकचकलाई बदमासीका रुपमा अथ्र्याउनु हुँदैन । सिक्ने उमेरका बालबालिका गमक्क पर्नु वा छुकछुक गर्नुलाई अन्यथा लिन नहुने उनको भनाइ छ ।

‘सजायले बालबालिका नकरात्मक मनोविज्ञानको विकास गराउँछ,’ सुब्बा भन्छन्, ‘पिटाइ खाएर हुर्किएका विद्यार्थीमा शक्ति भयो भने निरीहलाई सजाय दिन सकिँदो रहेछ भन्ने पर्छ र जीवन उनीहरू यही कुरा लागू गर्छन् ।’

समाज हिंस्रक बन्नबाट रोक्ने हो भने सजायको मनोविज्ञान हटाउनुपर्ने सुब्बाको सुझाव छ ।

ब्राजिलका दर्शनशास्त्री पाउले फ्रेयरीले आफ्नो पुस्तक ‘पेडागोगी अफ दि अप्रेस्ड’ मा लेखेका छन्, ‘माथिल्लो वर्गको दमनमा बाँचेको व्यक्ति जब आफू माथिल्लो वर्गको ओहदामा पुग्छ, ऊ आफूभन्दा तल्लो वर्गलाई आफूले भोगेको भन्दा पनि बढी दमन गर्न उद्यत हुन्छ ।’

अभिभावकको अनावश्यक अपेक्षा

घरमा आफूले भनेको नमान्ने छोराछोरीलाई ‘तह’ लगाउन विद्यालय पठाएको भन्ने अभिभावकको संख्या पनि सानो छैन । घरमा ‘मोबाइल फोन’ दिन नमान्दा होस् वा खाना खान नमान्दा, शिक्षकको नाम लिएर तर्साउने गरिन्छ । यसले नजानिँदो पाराले विद्यालय र शिक्षकहरूलाई ‘अनुशासनको डण्डा’ चलाउने संस्थाका रुपमा चित्रण गरिरहेको हुन्छ ।

‘अभिभावकहरू नै ‘कडा’ विद्यालयलाई नै पहिलो प्राथमिकतामा राख्ने गर्छन्’ राजधानीको एक निजी विद्यालयका प्राचार्य भन्छन्, ‘उहाँहरू सार्वजनिक विदाको दिन पनि आफ्ना छोरोछोरीको जिम्मा विद्यालयले लिइदेओस् भन्ने अपेक्षा राख्छन् ।’

अभिभावकले आफ्नो जीवनमा प्राप्त नभएको सफलता आफ्ना छोराछोरीमा लाद्ने गर्दा पनि समस्या आएको ती प्राचार्यको गुनासो छ । उनी भन्छन्, ‘छोराछोरीको चाहना र क्षमता नहेरी अभिभावकहरूको रोजाइ हावी हुँदा समस्या हुँदोरहेछ ।’

धेरै अंक प्राप्त गर्ने विद्यार्थीलाई मेघावी मान्ने गलत संस्कारका कारण निजी विद्यालयहरूले सुगा रटाइ गराइरहेको र त्यही क्रममा कठोर सजायका घटना देखा परेको शिक्षकहरूको भनाइ छ ।

‘पिटपाट गरेर भए पनि मेरो छोराछोरीले धेरै अंक ल्याउनुपर्छ भन्ने अभिभावकीय सोच पनि गलत छ’ शिक्षाविद् डा. कोइराला भन्छन्, ‘गायक बन्ने लक्ष्य लिएका सन्तानसँग गणित र विज्ञान ९८ प्रतिशत खोइ भनिरहेका छौं ।’

यद्यपि शिक्षा प्रणाली, सामाजिक चिन्तन लगायतलाई कारण देखाएर विद्यार्थी कुट्ने कुरालाई सही मान्न भने नसकिने उनको भनाइ छ । शैक्षिक क्रियाकलापका नापमा विद्यालय हाताभित्र हुने कतिपय अपराध शिक्षा ऐनले समेट्न सक्दैन ।

बालबालिका सम्बन्धी ऐन २०७६ ले घर, विद्यालय वा जुनसुकै स्थानमा बालबालिकालाई शारीरिक तथा मानसिक दण्ड दिने वा अमर्यादित व्यवहार गर्न निषेध गरेको छ । यस्तो सजाय गर्नेलाई पचास हजार रुपैयाँसम्म जरिवाना र एक वर्षसम्म कैदको व्यवस्था छ ।

क्रुर अमानवीय व्यवहार गर्ने वा यातना दिनेलाई एक लाख जरिवाना र पाँच वर्ष कैद सजायको व्यवस्था छ । पछिल्लो पटक जागृति एकेडेमीमा भएको अपराधमा पनि ऐनका यिनै दफा आकर्षित हुने देखिन्छ । यद्यपि, हात चिर्न लगाउने शिक्षकलाई अभिभावक र विद्यालय व्यवस्थापनले नै रिहा गर्न दबाव दिइरहेका छन् ।

समाधान के त ?

अपराधीलाई कानूनी सजाय त छँदैछ । योसँगै दीर्घकालीन समाधानका उपाय पनि खोज्नुपर्ने सरोकारवालाहरू बताउँछन् । मनोविद् सुब्बा कक्षामा पस्नु अगाडि प्रत्येक शिक्षकलाई बालबालिकासँग कसरी व्यवहार गर्ने भन्ने शिक्षा दिनुपर्ने बताउँछन् । शिक्षण पेशामा प्रवेश गर्नका लागि आपराधिक मनोवृत्ति छ कि छैन, परीक्षण हुनुपर्ने उनको सुझाव छ ।

विद्यालयमा डीआई होइन, मनोपरामर्शदाता र शिक्षक अनुसन्धानदाता अनिवार्य व्यवस्था गर्नुपर्छ । जसले विद्यार्थी र शिक्षकबीचको सम्बन्ध सुमधुर बनाउन निरन्तर प्रसार जारी राखोस् ।

कुनै शिक्षकलाई सजाय दिनै मन लागेको छ भने नयाँ पाठ पढ्न, हेन्ड राइटिङ लेख्न लगाउन सकिन्छ ।

‘सबैभन्दा ठूलो कुरा १०० प्रतिशत अंक ल्याउने विद्यार्थी मात्रै योग्य हो र ३२ प्रतिशत पनि नल्याउनु अयोग्यताको द्योतक होइन भन्ने सबैले बुझ्नु जरुरी छ,’ डा. कोइराला भन्छन्, ‘ग्रेडिङ सिस्टममा आएको परीक्षाको नतिजालाई पनि अंकमा तुलना गरेर हेर्ने सोचको अन्त्य हुनुपर्‍यो।’

‘मेरो विद्यालयमा आउने प्रत्येक बालबालिका आफ्नै सन्तानजस्ता हुन्, मेरो छोराछोरीलाई शिक्षकले मैले गरेकै व्यवहार गर्दा कस्तो लाग्थ्यो भन्ने सम्झे पुग्छ,’ शिक्षाविद् डा. वाग्लेको सुझाव छ । @onlinekhabar

Leave a Reply

Back to top button
Close
%d bloggers like this: