चुरे अभियानी दिलिपको हत्या गरिएको स्थानबाट पुनः नदी दोहनको सुरु: अबैध उत्खननमा स्थानीयको रोके, प्रहरीको सपोट

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका वडा नम्बर ४ र ५ को वीचमा पर्ने जलाद नदी सहित चुरे अभियानी दिलिप महतोको हत्या गरिएको स्थानबाट फेरी नदी दोहनको सुरु भएको छ । क्रसर माफियाले नदी दोहन गर्न जेसिबी, लोडर र टिपर लिएर पुगेपछि स्थानीयले अवरोध गरेको हो ।

सोही नगरपालिका ५ स्थित औरही खोला उत्खननको विरोध गर्दा क्रसर माफियाले स्थानीय दिलिप कुमार महतोको हत्या गरे । त्यसपछि प्रदेश २ का आठै जिल्लाको नदी नाला उत्खनन गर्नमा प्रशासनले रोक लगाए । तर दिलिपको हत्याको २ महिना नबित्दै पुनः सोही नगरपालिकामा अर्को नदी दोहन गर्ने प्रयास क्रसर माफियाले गरेपछि स्थानीयबासी आक्रोसित बनेका छन् ।

क्रसर माफियाहरुले जलाद नदी उत्खनन गरिरहेको थाहा पाएपछि स्थानीयबासी अवरोध गरे । नदीनाला उत्खनन गर्न नदिने बताएपछि स्थानीयबासी र क्रसर माफियाहरुबीच केहिबेर तनाव सृजना भयो । पछि सशस्त्र प्रहरी पुगेपछि विवाद साम्य पारेका थिए ।

स्थानीय विनोद महतोले ठूलो उपकरणले नदीबाट बालुवा गिट्टी उत्खनन गर्न रोक लगाएपनि क्रसर माफियाहरु स्काभेटर लिएर नदी दोहन गर्न खोज्दा स्थानीयले रोकेको बताए । उनका अनुसार क्रसर माफियाहरु एउटा स्काभेटर, एउटा लोडर र ५ वटा टिपर लिएर नदी उत्खनन गर्न पुगेका थिए । नदी दोहन भइरहेको कुरा प्रहरीलाई खबर गर्दा पनि नपुगेको उनले गुनासो समेत गरे ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले नदी उत्खनन गर्ने र स्थानीयबीच विवाद भएको विषयमा केहि थाहा नभएको प्रतिक्रिया दिए । उनले भने, ‘अहिले केहि थाहा भएन । यसबारे बुझेर भन्छु ।’ स्रोतका अनुसार स्थानीयले ढल्केबर प्रहरीलाई खबर गरेपनि घटनास्थलमा पुगेनन् ।

मिथिला नगरपालिकाले उक्त नदी उत्खननका लागि स्थानीय बजरंग बालुवा प्रशोधन केन्द्रलाई ठेक्का दिएको छ । मेयर हरिनारायण महतोले बालुवा उत्खननका लागि ५१ लाखमा ठेक्का दिएको बताए । उनले बालुवा उठाउन स्काभेटर नै प्रयोग गर्न दिने सम्झौता भएको पनि बताए ।

मेयर महतोले जिल्ला समन्वय समितिमै छलफलमा समेत स्काभेटर लिएर बालुवा गिट्टी उत्खनन गर्न दिने निर्णय भएको दावी गरे । उनले भने, ‘स्काभेटरले नउठाए के हातले बालुवा उठाउनन सकिन्छ ? यो कुरा बुझ्नुपर्छ नी !’ उत्खनन गर्न गएकाहरु र स्थानीयबीच विवाद भएको विषयमा केहि थाहा नपाएको उनको भनाई छ । @khojkendra

Leave a Reply

Back to top button
Close
%d bloggers like this: