धनुषाको जटही नाकाबाट जलानलाई तस्करीको लाइन, कमिसन बुझ्ने प्रशासनका सई

जनकपुर । धनुषाको जटही नाकाबाट यतिबेला खुलेआम तस्करी भइरहेको छ । तस्करीमा संरक्षण गर्ने नेपाल प्रहरीका घुमुवादेखि सेटिङ मिलाउने जिप्रका धनुषाका प्रशासनमा कार्यरत प्रहरीसम्म छ । जबकि डिआइजी प्रद्युम्न कार्कीले तस्करी रोक्नलाई अनेकन प्रयासहरू गरिरहेका छन् ।

तस्करहरू तस्करी गर्न नपाएकै कारण डिआइजी कार्कीलाई हटाउने अभियानमा समेत लागिपरिरहेका छन् तर पनि डिआइजी कार्कीले तस्करी नियन्त्रणका लागि सक्दो प्रयास गरिरहेका छन् तर डिआइजीलाई समेत गुमराहमा राख्ने गरी एसपीलाई समेत झुक्याएर घुमुवासमेतको सेटिङमा धनुषाको जटहीबाट अहिले खुलेआम तस्करी भइरहेको छ ।

तस्करी पनि सबैलाई नभएर एउटा समूहलाई दिइएको छ । त्यो समूहको नेतृत्व गर्ने तस्कर हुन्– सोहन जलान । सोहन जलानको यो सम्ूहमा मोहम्मद अली, मोहम्मद रहमान, मोहम्मद स्माइल, विजय कर्ण र रञ्जित गुप्ता रहेका छन् । ६ जनाको यो समूहको नेतृत्वकर्ता सोहन जलान हुन् ।

जलानले नेपाल प्रहरीतर्फ सीमा प्रहरी चौकी जटहीका सई चन्दन सिंह र सशस्त्र प्रहरी बलका भन्सारस्थित गुल्मका निरीक्षक ध्रुवप्रसाद भट्टलाई मिलाएर मेनगेटबाट नै तस्करी गराइरहेका छन् । यी व्यापारीहरूमध्ये सोहन जलानको मुुख्य साझेदार सुरेश साह हुन् । तस्कर सुरेश साह र धनुषाका घुमुवा सई महेन्द्र साहका आमाहरू दिदी बहिनी हुन् अर्थात् सुरेश साहको सानिमाको छोरा सई महेन्द्र साह हुन् । यही सम्बन्धका कारण यो तस्करको समूहले तस्करीको लाइन पाएको छ ।

सशस्त्रको रकम लिने काम भने निरीक्षक भट्टले नै गर्दै आएका छन् । एकातर्फ न्यूनतम भन्सार तिर्ने, एउटा प्रज्ञापनपत्रबाट धेरै पटक ल्याउने र एउटा सामान ल्याएको भनी भन्सार काट्ने तर अर्को सामान ल्याएर तस्करी गर्ने काम यो गिरोहबाट हुँदै आएको छ । यो समूहसँग कमिसन बुझ्ने काम जिल्ला प्रहरी कार्यालय धनुषाको प्रशासनमा बस्ने सई अशोक झाले गर्दै आएका छन् ।

उनीहरूले डिआइजी, एसएसपी र एसपीका नाममा समेत पाँच लाख रूपैयाँ सई अशोक झालाई दिइसकेको बताएका छन् भने घुमुवा टोली र मिलाइदिएवापत सई झालाई तीन लाख रूपैयाँ दिएको समेत यहाँ सार्वजनिक भएको छ ।

डिआइजी कार्कीले यस विषयमा अनुसन्धान गरेका खण्डमा पनि यो समूहले तस्करीको लाइन चलाइरहेको कुरा पुष्टि हुने दावी संघीय इकाइ प्रहरी कार्यालयका एक सिनियर प्रहरी अधिकृतले नै जानकारी दिए । @khojkendra

Leave a Reply

Back to top button
Close
%d bloggers like this: