गच्छदारलाई अदालतमा उपस्थित हुन १५ दिने म्याद

२४ फागुन २०७६, काठमाडौं – ललिता निवास प्रकरणमा विशेष अदालत काठमाडाैंले नेपाली कांग्रेसका उपसभापति विजय गच्छदारलाई अदालतमा उपस्थिति हुन १५ दिने म्याद जारी गरेको छ। उनीमाथि सरकारी तथा सार्वजनिक जग्गा हिनामिना गरेको आरोप लगाइएको छ। उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नौ करोड ६५ लाख ७६ हजार बिगो र आठदेखि १० वर्ष कैदसजाय मागदाबी गरी विशेष अदालतमा मुद्दा दायर गरेको छ। शुक्रबार अदालतले गच्छदारसहित ७४ जना आरोपितलाई अदालतमा उपस्थिति हुन म्याद जारी गरेको हो।

अदालतले पूर्वमन्त्रीद्वय डम्बर श्रेष्ठ, छविराज पन्त, आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध पनि १५ दिने म्याद जारी गरेको छ।

अदालतले यसअघि तत्कालीन भूमिसुधार तथा व्यवस्था विभागका निर्देशक पुष्पराज उपाध्याय, रुद्रकुमार श्रेष्ठ र मुकुन्द आचार्य, मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुख टीकाराम घिमिरे र कलाधर देउजा, शाखा अधिकृत इन्द्रप्रसाद ढुंगाना, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतमविरुद्ध पनि म्याद जारी गरेको छ। यसैगरी तत्कालीन समरजंग कम्पनीका पूर्वप्रमुख अर्जुनप्रसाद भण्डारी र नायबसुब्बा श्रीहरि पुडासैनीविरुद्ध पनि अदालतले म्याद जारी गरिसकेको छ।

आयोगले माघ २२ मा पूर्वउपप्रधानमन्त्री गच्छदारसहित एक सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। अदालतमा मुद्दा दायर गरिएकाहरूमध्ये ७४ जनामाथि १५ दिने म्याद जारी गरिएको हो। @nagriknews

Leave a Reply

Back to top button
Close
%d bloggers like this: