कोइलाखानीको सुरुङभित्र

‘खानीको सुरूङभित्र बाटो हुँदैन, आफैं खोल्दै हिँड्‍नुपर्छ । कतै भत्कन थाल्छ, काठ लिएर टेकासो लगाउनुपर्छ । ढुंगा र चट्टान काट्दै अघि बढ्नुपर्छ । भित्र अन्धकार भइरहने हुनाले रात परेको पनि थाहा हुँदैन । बिहान बाँचे फर्कुंला भन्दै भित्र पस्छौं, बेलुकी बाहिर निस्केपछि ठूलो युद्ध जितेजस्तो हुन्छ ।’

फाल्गुन २४, २०७६  (दाङ) — ‘खानीको सुरूङभित्र बाटो हुादैन, आफैं खोल्दै हिाड्नुपर्छ । कतै भत्कन थाल्छ, काठ लिएर टेकासो लगाउनुपर्छ । ढुंगा र चट्टान काट्दै अघि बढ्नुपर्छ । भित्र अन्धकार भइरहने हुनाले रात परेको पनि थाहा हुादैन । बिहान बााचे फर्कुंला भन्दै भित्र पस्छौं, बेलुकी बाहिर निस्केपछि ठूलो युद्ध जितेजस्तो हुन्छ ।’

यमबहादुर राना हरेक बिहान भगवान् सम्झिन्छन् । त्यसपछि उनै भगवान्लाई पुकार्दै कोइलाखानीको सुरुङभित्र पस्छन् । बाहिर निस्कने निश्चित हुँदैन । सुरुङ बाहिर आएर उज्यालो देख्न पाउनुलाई भाग्य ठान्छन् । परिवारलाई सुरुङमा पसेका आफन्त घर फर्किन्छन्/फर्किन्नन् दिनदिनै सुर्ता हुन्छ । चार सय मिटर गहिरो सुरुङमा बिना कुनै सुरक्षा दिनमा कैयौं पटक ओहोरदोहोर गर्छन् । भित्र पसेर पानी निकाल्छन्, कोइला खन्छन्, बोकेर बाहिर ल्याउँछन् । सुरुङ जोखिमपूर्ण छ । भत्किने त्रासले ठाउँठाउँमा काठका टेको लगाइएको छ । बोरा राखेर अड्याइएको छ । सुरुङभित्र सजिलै पानी जम्ने भएकाले कोइला निकाल्न सजिलो छैन। पानी फालेपछि बल्ल कोइला खन्न सुरु गर्छन् ।

घोराहीको उत्तरी पहाडमा रहेका कोइलाखानीमा सयौं कामदार दिनहुँ यसैगरी जोखिमपूर्ण काम गर्छन् । ‘बाँचे फर्कुंला भन्दै भित्र पस्छौं । बाहिर निस्केपछि ठूलो युद्ध जितेजस्तो हुन्छ,’ रानाले भने, ‘दिनदिनै मन ढुकढुक हुन्छ । कतिबेला के हुने हो केही भन्न सकिँदैन ।’

५४ वर्षीय रानाले यसैगरी सुरुङभित्र २४ वर्ष बिताइसके । घोराही उपमहानगरपालिका–१२ भलडाँडा निवासी उनी नै कोइलाखानीका पुराना मजदुर हुन् । अहिले पनि बिहान ८ बजे सुरुङभित्र पसिसक्छन् । शरीर पूरै कोइलाजस्तो, जता पनि कालै । ‘भित्र बाटो हुँदैन, आफैं खोल्दै हिँड्नुपर्छ । कतै भत्कन थाल्छ, त्यस्तो बेला बाहिर आएर काठ लिएर टेकासो लगाउनुपर्छ,’ उनले भने, ‘त्यही टेकासोले जमिन थामेजस्तो लाग्छ । कति दिन थामिन्छ थाहा छैन ।’ बाटो खोल्दा ढुंगा, चट्टान काट्नुपर्छ । यसले धेरै समय लिन्छ । कहिलेकाहीं अँध्यारो सुरुङभित्रै दिन बित्छ । ‘ढुंगा काट्नुपर्दा धेरै समय लाग्छ, हामीसँग ठूलो उपकरण केही हुँदैन । छिनो र हतौडाको भरमा बाटो खोल्ने हो,’ उनले भने, ‘बाटो खोल्दै जाँदा कतिबेला दिन सकिन्छ थाहा हुँदैन । भित्र जतिबेला पनि अँध्यारो भइरहने हुनाले रात परेको पनि पत्तो पाइँदैन।’

सुरुङभित्र टर्च बालेर, निहुरिएर हिँड्नुपर्छ । पहिलोचोटि पस्ने मान्छे ‘आत्तिएरै मर्लाजस्तो’ हुन्छ । सबैतिर अन्धकार, छेउछेउमा काठका टेकासो, जीउ नै सिरिंग हुने । केही भित्र पसेर फोटो खिच्न खोज्दा पनि ज्यानै काँप्ने । तैपनि मजदुरहरू तल निकै गहिराइबाट हस्याङफस्याङ गर्दै कोइला बोकेर आइरहेका भेटिन्छन् । भित्रभित्रै धेरै बाटाहरू छन् ।

एउटा सुरुङभित्र पसेपछि ५/६ वटा बाटा आउँछन् । कोही कुनै बाटो लाग्छन् त कोही कुनै । आफू भने कता जानु कता ? आत्तिएर बाहिर निस्कनुको विकल्प छैन । केहीबेर भित्रै अडिएर कोइला बोकेर निस्कँदै गरेका मजदुरहरूको फोटो खिचौं भन्दा सास थुनिएर मरिएलाझैं हुन्छ । यस्तो डरलाग्दो अवस्थामा पनि उनीहरू भित्रभित्रै काम गरिरहेका भेटिन्छन् । कहिलेकाहीं कामदार राति अबेर मात्र घर पुग्छन्।

‘घरपरिवार कतिबेला फर्कन्छ भनेर बाटोतिर हेरिरहेका हुन्छन् । ढिलो गर्दा केही भयो कि भन्ने सोचेर चिन्तित हुन्छन्,’ रानाले भने, ‘फेरि भोलिपल्ट बिहानै त्यही चिन्ताका साथ घर छोड्नुपर्छ । कहिलेकाहीं घरमा यस्तो काम छोडी दे भन्छन्, तर अरू के काम गर्नु र ? काम पाइँदैन । जानेको पनि यही छ ।’

उदयपुरका ५७ वर्षीय निरबहादुर मगर पनि सात वर्षदेखि कोइलाखानीमै छन् । काम खोज्दै दाङ पुगेका उनी कोइलाखानीको सुरुङभित्र पस्न थालेदेखि अन्य कामबारे सोच्न सकिरहेका छैनन् ।

‘भित्र पसेपछि अरू सोच्नै पाइँदैन । कहाँ के भइरहेको छ, केही थाहा हुँदैन । अँध्यारो र कालोबाहेक केही देखिँदैन,’ उनले भने, ‘सबैतिर अन्धकार । यता हेर्‍यो कालो, उता हेर्‍यो कालो । कोइला पनि कालो, सुरुङ पनि कालो ।’ कोइला खन्दा, बोक्दा र अँध्यारोमा बस्दा जीवन नै अन्धकार भए जस्तो लाग्ने गरेको उनले सुनाए । ‘कहिलेकाहीं जीवन नै अन्धकार भयो कि जस्तो लाग्छ । फर्केर घर जान पाइन्छ कि पाइँदैन भन्नेमा शंका लाग्छ,’ उनले भने, ‘तैपनि काम नगरी सुख छैन । ज्यान पाल्न केही न केही त गर्नैपर्‍यो । डराएर के गर्नु ?’ घोराही उपमहानगरपालिका–१९ तोसकी ५५ वर्षीया दिलमाया रानाले कोइला बोकेरै जीवन बिताएकी छन् । उनले जीवनको महत्त्वपूर्ण समय कोइलासँगै बिताइन् । उनलाई पहाड र सुरुङबाहेक अरू देख्न मुस्किल पर्छ । ‘कोइला बोकेरै ज्यान पालेका छौं, एक दिन काममा नआए कसरी चुलो बाल्नु ?’ उनले भनिन्, ‘जति गाह्रो भए पनि कोइला नबोकी सुख छैन । नजिकमा अरू काम पनि त पाइँदैन ।’

कोइलाखानीको सुरुङभित्र काम गर्नु निकै जोखिमपूर्ण भए पनि सुरक्षाका कुनै उपाय अपनाइएको छैन । हेल्मेट, मास्क, सुरक्षित पोसाक र मेडिकल उपकरण केही पनि छैन । केही भइहाले प्राथमिक उपचार गर्ने स्वास्थ्य टोली पनि छैन । ‘हामी यस्तै सामान्य अवस्थामा सुरुङभित्र पस्छौं । सानो ढुंगा या माटो खसे पनि छेक्ने केही साधन छैन,’ घोराही–१९ लेकका २९ वर्षीय प्रेम पुनले भने, ‘७ वर्षदेखि सुरुङभित्र काम गरिरहेको छु तर अहिलेसम्म कुनै सुरक्षा उपाय अपनाएकै छैन ।’

सुरक्षाका केही साधन नभएकाले झन् धेरै डर लाग्ने गरेको पुनले बताए । ‘भित्र पस्दा नै मुटुको धड्कन बढ्न थाल्छ, जति भित्र पस्यो उति डर लाग्छ,’ उनले भने, ‘बाहिर निस्केपछि बल्ल बाँचियो भन्ने हुन्छ । भित्र जतिबेला जे पनि हुन सक्छ ।’ सुरुङ कामदारले नै खन्दै गएकाले कुनै वैज्ञानिक मापदण्ड छैन । खानी कति जोखिम छ भन्ने विषयमा कुनै अनुगमन र अध्ययन पनि भएको छैन । मजदुरलाई सुरक्षा र सतर्कताबारे केही ज्ञान पनि छैन । ‘हामीलाई कसैले केही सिकाएको छैन । भित्र खन्दै जाने हो जता पुगिन्छ पुगिन्छ,’ उनले भने, ‘माटो कति बलियो छ, सुरुङ भत्किन्छ कि के हुन्छ ? केही ज्ञान छैन ।’

खानीमा कुनै पनि सुरक्षाका साधन नभएको कञ्चन कोल प्रालिका व्यवस्थापक प्रेमकुमार राईले बताए । ‘हामीसँग सुरक्षाको कुनै साधन छैन, सुरुमा हेल्मेट ल्याएका थियौं, कामदारले गर्मी भयो भनेर फालिहाले,’ उनले भने, ‘त्यसपछि हामीले पनि ल्याउन छोड्यौं । अहिलेसम्म समस्या नआएकाले सामान्य नै ठानेका छौं ।’ केही चोटपटक लागे कम्पनीले तत्काल उपचार गर्न लैजाने गरेको उनले बताए । यस कम्पनीले घोराही–१९ तोसमा रहेका तीनवटा खानीबाट कोइला निकाल्दै आएको छ ।

२१ कामदार सुरुङभित्र खन्ने र ३२ जनाले बोक्ने काम गर्छन् । सबै कामदारले असुरक्षित अवस्थामा नै काम गरिरहेका छन् । उच्च जोखिममा काम गरे पनि सेवा सुविधा पर्याप्त छैन । एक क्विन्टल कोइला खन्दा १ सय २० रुपैयाँ पाउँछन् । बोक्नेले एक क्विन्टलको ७० रुपैयाँ पाउँछन् । भिरालो बाटो भएकाले बोक्नेलाई पनि जोखिम छ । ‘बाटो डरलाग्दो छ । कहिलेकाहीं लडिन्छ । डरैडरमा काम गर्नुपर्छ,’ घोराही–१९ च्यानगैराकी ३९ वर्षीया विष्णु घर्तीले भनिन्, ‘पानी चुहिने भएकाले धेरै बोक्न पनि सकिँदैन ।’

पढाइ छोड्दै, कोइला बोक्दै

कोइलाखानी आसपासका क्षेत्रमा अधिकांश बालबालिका पढाइ छोडेर कोइला बोक्न थाल्छन् । आमाबुवा पनि खानीमा काम गर्ने भएकाले पढाइको सट्टा कमाइ गर्नेतिर सबैको जोड हुने गरेको छ । घोराही–१९ तोसकी २१ वर्षीया कुमारी सार्की ५ कक्षा पढ्दापढ्दै छोडेर कोइला बोक्न थालिन् । अहिले उनी बिहानदेखि बेलुकासम्म खानीमा हुन्छिन् । सकी नसकी कोइला बोक्छिन् । ‘पढेर पनि जागिर पाइने होइन, बरु यहाँ पैसा कमाउन पाइन्छ,’ उनले भनिन्, ‘धेरै साथी कोइला बोक्ने काममा छन् । साथीहरूसँगै कोइला बोक्दा रमाइलै हुन्छ ।’ रुन्टीगढी–७ सैबाङ रोल्पाकी १६ वर्षीया पुष्पा बहकरीले पनि ५ कक्षा पढेर छोडिन् । उनी पनि कोइला बोकिरहेकी छन् । साथीहरूसँगै पहाडी भीरको बाटो कोइला बोकेर हिँड्छिन् । हजुरआमा पनि कोइला बोक्छिन् ।

‘हजुरआमाले पहिलेदेखि नै कोइला बोक्नुहुन्थ्यो, कमाइ हुन्छ भनेपछि म पनि पढाइ छोडेर यता लागें,’ उनले भनिन्, ‘बोक्न दुःख छ । पहाडको बाटो, खानीमा पनि खतरा नै हुन्छ तैपनि काममा लागियो । अब छोड्न सकिएको छैन ।’ एक क्विन्टल बोकेको ७० रुपैयाँ पाइन्छ । दिनभरि निकै मिहिनेत गरे १० क्विन्टलसम्म बोक्न सकिन्छ । उनीहरू दैनिक ६ देखि ७ सय रुपैयाँसम्म कमाउँछन् । घोराही–१२ भलबाङकी १८ वर्षीया दिया पुन मगर पनि १० कक्षा पढेर कोइला बोक्न थालिन् । उनले पनि पढाइ छोडिन् । ‘घरको आर्थिक अवस्था कमजोर छ, खर्च गरेर पढ्न सक्ने अवस्था छैन,’ उनले भनिन्, ‘बाध्यताले कोइला बोक्न आएको छु, अब पढ्न सकिँदैन होला ।’ अधिकांश बालबालिका पढाइ छोडेर कोइला बोक्न आउने गरेको उनले बताइन् । उनका अधिकांश साथीहरू बालिका छन् । ‘धेरैजसो केटी पढाइ छोडेर काममा आउने गरेका छन्,’ उनले भनिन्, ‘घरपरिवार पनि यसैमा लागेपछि पढ्ने चासो हराइसक्यो ।’

नियमन हुँदैन

जिल्लामा १२ ठाउँबाट कोइला उत्खनन हुन्छ । घोराही–१९ को बोल्दी, राम्चे, बजारपानी र तोस तथा बंगलाचुली गाउँपालिकाको मर्पेस, छिपन, बोक्सिनीभीर, ठाडा, ज्यामुरे र भुल्केमा एक/एक कोइलाखानी छन् । बंगलाचुलीको टाकुरामा दुई खानी छन् । यी खानीको कुनै पनि नियमन र अनुगमन हुन सकेको छैन । खानी तथा खनिज पदार्थ नियमावली ०५६ मा उत्खनन गर्दा पालना गर्नुपर्ने सर्तअन्तर्गत दफा १९ को उपदफा ६ मा उत्खनन कार्य गर्दा खोलेको टोपा, टनेल, खाल्टा इत्यादिमा कुनै दुर्घटना हुन नपाउने गरी सुरक्षा व्यवस्था गर्नुपर्ने उल्लेख छ । दफा ३८ मा खानीको जिल्ला विकास समितिले अनुगमन गर्नुपर्ने व्यवस्था छ । तर अहिलेसम्म हुन सकेको छैन । दफा ३८ को उपदफा १ मा अनुगमन समितिले प्रचलित ऐन, नियम र मापदण्डअनुसार काम नभए कम्पनीलाई आवश्यक निर्देशन दिन, उत्खनन कार्य रोक्न र अनुमतिपत्र खारेज गर्न सक्नेसम्मको अधिकार दिइएको छ ।

कोइलाखानीको अनुगमन गर्ने जिम्मेवारी भए पनि अहिलेसम्म जान नपाएको जिल्ला समन्वय समिति प्रमुख जितेन्द्रमान नेपालीले बताए । ‘अन्य काममा व्यस्त भएकाले कोइलाखानीमा पुग्न पाइएको छैन,’ उनले भने, ‘अहिलेसम्म ध्यान पुगेको छैन । अब छिट्टै आवश्यक अनुगमन गर्छौं ।’ सुरुङ गहिरो भएर अक्सिजन पाउन छाडेपछि धेरै खानी बन्द हुन थालेको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले बताए । गाउँपालिकामा पहिले कोइला उत्खनन भए पनि अहिले जोखिमपूर्ण अवस्था भएपछि काम बन्द भएको उनले बताए । ‘खानीमा जोखिम बढ्न थाल्यो, धेरै गहिरा सुरुङ भएपछि मजदुरलाई काम गर्न कठिन भयो, धेरै बन्द भइसके,’ उनले भने, ‘भित्र श्वास फेर्न पनि नसकिने खालका खानी छन् । मजदुर अक्सिजन पाइन छाड्यो भन्छन् । सुरक्षा नै नभएका सुरुङमा काम गर्नु ठीक होइन ।’

केमा प्रयोग हुन्छ ?

पहाडी भेगका खानीबाट उत्खनन गरिएको कोइला घोराहीको कपासीबगियामा संकलन गरिन्छ । त्यहाँबाट विभिन्न इँटाभट्टामा बिक्री हुन्छ । अधिकांश बाहिरी जिल्लामा लगिन्छ । राम्रो गुणस्तरको कोइला विद्युत् निकाल्न, खाना पकाउन र विभिन्न उद्योगमा इन्धनका रूपमा प्रयोग हुन्छ । दाङको कोइलामा गुणस्तर कम भएकाले इँटाभट्टामा अन्य देशबाट ल्याएको कोइलामा मिसाएर प्रयोग गरिन्छ । कोइलामा हुनुपर्ने ऊर्जाशक्ति ३ हजार क्यालोरी हुनुपर्नेमा यहाँ १ हजार ८ सय मात्र रहेको कोइला व्यवसायी संघका अध्यक्ष रोशन दाहालले बताए । बजार र कामदार अभावले उत्पादन कम हुँदै गएको छ । दाङमा ५ वटा कम्पनीले उत्खनन गरिरहेका छन् । एक कम्पनीले वार्षिक सरदर १ हजार २ सय मेट्रिक टन उत्पादन गर्ने दाहालले बताए ।

असम, भुटानतिर सिकेका मानिसले नेपालमा उत्खनन गर्न थालेका थिए । करिब २५ वर्षअघि काठमाडौंका जाङ्बो शेर्पाले दाङमा उत्खनन सुरु गरेका थिए । भारतको बिरला कम्पनीले नेपालमा खानी सर्वेक्षण गर्दा राखेको अभिलेखका आधारमा दाङमा पनि कोइलाखानी भएको थाहा पाएपछि शेर्पा दाङ आएका थिए । उनले असममा काम गर्दाको अनुभवलाई यहाँ प्रयोग गरेका थिए । त्यसपछि विस्तारै अन्य कम्पनी पनि कोइला उत्खननमा लागेका थिए । अहिले शेर्पा छैनन् तर पनि जोखिमपूर्ण अवस्थामा उत्खननले निरन्तरता पाइरहेको छ ।

जो सुरुङभित्र पुरिए

सुरुङभित्रको काम कहाँ सजिलो छ र ? खन्दाखन्दै कतिबेला माथिबाट भत्कन्छ र ज्यान जान्छ भन्ने निश्चित हुँदैन । १० वर्षको अवधिमा चार जनाको ज्यान गइसकेको छ । घोराही–१९ तोसस्थित खानीमा स्थानीय दुर्गे राना र चन्द्रबहादुर विकको ज्यान गयो । यसैगरी बोक्सिनीभीरको खानीमा रोल्पा रुन्टीगढीका टीका डाँगी र फलितेखानीमा स्थानीय भीमकान्त रावतले ज्यान गुमाए । त्यसपछि उनीहरूका परिवार खानी नजिक बस्न सकेनन् । श्रीमती अर्कैसँग विवाह गरेर गए, छोराछोरी कामको खोजीमा कताकता भौंतारिए । उनीहरू अहिले कता छन् भन्नेबारे स्थानीयलाई पनि थाहा छैन । खानीमा चार जना घाइते भए ।

घोराही–१९ राम्चेका बलबहादुर विक र वसन्त पुरी तथा बयालीकोटका गमे रोका र रामसिं घर्ती खानीभित्रै च्यापिएर गम्भीर घाइते भए । घाइतेमध्ये गमे रोकाबाहेक अरू सबैले काम छोडे । ‘खन्दाखन्दै माथिबाट भत्कियो, सबै साथीहरू च्यापियौं, बल्लबल्ल बाहिर निकाले,’ तीन वर्षअघि राम्चेको सुरुङमा च्यापिएर घाइते भएका राम्चेका ५४ वर्षीय बलबहादुर विकले भने, ‘घुँडा नै खुस्कियो, तीन महिना थलिएँ, त्यसपछि कामै छोडिदिएँ ।’

सुरुङभित्र असुरक्षित भएपछि काम छोडेको उनले बताए । अहिले उनी घर निर्माणको काम गर्छन् । यसमा उनी धेरै सुरक्षित महसुस गर्छन् । ‘काम छोडेपछि धेरैले नजिकको काम किन छोडेको होला भने तर मेरो मनले मानेन,’ उनले भने, ‘कति साथीको ज्यानै गयो । भाग्यले बाँचेपछि फेरि किन त्यही खाल्डोमा पस्नु ?’ कम्पनीले मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेलाई उपचार खर्च दिए पनि काममा सुरक्षा नभएको उनले बताए । ‘मान्छे मरेपछि क्षतिपूर्ति दिएर, घाइतेको उपचार गरेर मात्र भएन नि ।

त्यस्तो उच्च जोखिम भएको ठाउँमा कुनै पनि सुरक्षाको व्यवस्था नहुनु अचम्म छ,’ उनले भने, ‘यस्ता ठाउँमा सरकारको पनि ध्यान पुग्नुपर्छ । काम गरिखाने मजदुरको जीवन सुरक्षा हुनुपर्छ ।’ मजदुरका लागि बिमा र सुरक्षा सामग्रीको व्यवस्था रहेको राम्चेस्थित कोइलाखानीका व्यवस्थापक बाबुराम मगरले दाबी गरे । ‘पञ्जा, हेल्मेट, चस्माजस्ता सामग्री छ, तर मजदुरले प्रयोग गर्दैनन्,’ उनले भने, ‘तर काम गर्दा गाह्रो मानेर यी सामान प्रयोग हुँदैनन् । घटना भइसकेपछि बिमाको व्यवस्था भने हुन्छ ।’ @ekantipur

Leave a Reply

Back to top button
Close
%d bloggers like this: