गर्मीमा कोरोना संक्रमणको जोखिम कम, रुघाखोकी भए घरमै बस्‍ने

निमोनियाविरुद्धको खोप फाइदाजनक सही तरिकाले लगाऔं मास्क

फाल्गुन २४, २०७६ काठमाडौँ — यतिबेला विश्वलाई नै त्रसित बनाइरहेको कोरोना भाइरस रोग–२०१९ अर्थात् ‘कोभिड–१९’ को संक्रमण गर्मी बढ्दै जाँदा जोखिम र विस्तार पनि मत्थर हुँदै जान सक्ने विज्ञहरूले औंल्याएका छन् ।

नेपाललगायतका मुलुकमा गर्मीयाम सुरु भइसकेको अवस्थामा देखिएको कोरोनो भाइरस प्रकोप वातावरणीय तापमान बढ्दै जाने क्रमसँगै संक्रमणको अवस्थाबाट जोगिन सक्ने दाबी गरिएको छ । तर मुलुक र आमनागरिकले थप उच्च सतर्कता नअपनाएको खण्डमा भने यसको विस्तार र प्रभाव रोक्न नसकिने जोखिम पनि उत्तिकै रहेको विज्ञहरू बताउँछन् ।

‘हाल गर्मीयाम सुरु भएकोले तापक्रम विस्तारै बढ्दै गएको छ । यो भाइरस तापक्रम संवेदनशील भएकाले हामीलाई फाइदा हुन्छ,’ स्वास्थ्य सेवा विभाग, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलजिस्ट डा.वासुदेव पाण्डेले कान्तिपुरसँग भने, ‘गर्मी बढेपछि यसको संचारको क्रम (ट्रान्समिसन ब्रेक) टुट्छ हुन्छ ।’
हालै पत्ता लागेको कोरोना भाइरसले गर्दा हुने संक्रामक रोग ‘कोभिड–१९’ यसअघि कतै देखिएको थिएन । गत डिसेम्बरमा चीनको बुहानमा यसको प्रकोप देखिएपछि विस्तारै चीन हुँदै विश्वव्यापी रूपमा फैलिएको हो । कोभिड–१९ फैलाउने जीवाणु गर्मीयाममा सतहमा पर्दासमेत निष्क्रिय हुने भएकाले हाल देखिएको डर गर्मी सुरु हुन लाग्दा कम हुने डा.पाण्डे औंल्याउँछन् ।

‘कोभिड–१९ संक्रमण उत्पन्न गर्ने ‘आरएनए’ भाइरस भएकाले कोठाको तापक्रम (करिब २४ डिग्री सेन्टिग्रेड) भन्दा माथिको तापक्रममा छोटो समयमै निष्क्रिय हुन्छ । ‘डीएनए’ भाइरस मध्येका ‘हेपाटाएटिस–बी’ जस्ता भाइरस ६० डिग्री सेन्टिग्रेडसम्मको तापक्रममा जीवित रहने डा. पाण्डे बताउँछन् ।

‘यसको प्रकोप चीनमा फैलिएको समय (डिसेम्बरमा) त्यहाँ धेरै चिसो थियो । विगतका घटना हेर्दा यस्ता भाइरसहरू चिसोलगायतका उपयुक्त तापक्रममा बढ्छन् तर बढी गर्मीमा खासै वृद्घि हुँदैन,’ वरिष्ठ श्वासप्रश्वास तथा छाती रोग विशेषज्ञ डा.रमेश चोखानी गर्मीमा तापक्रम वृद्घिसँगै ‘कोभिड–१९’ को केसमा कमी आउने दाबी गर्छन् ।
उनका अनुसार, नेपाल लगायतका मुलुकको तापक्रममा वृद्घि भए पनि विश्वका धेरै ठाउँको तापक्रममा कमी नै हुने भएकाले यो भाइरस पुनः अर्को वर्ष मुलुकमा आउने सम्भावना जारी नै रहने भएकाले अहिलेदेखि नै थप संवेदनशीलता अपनाउनुपर्छ ।

हालसम्म मुलुकमा चीनबाट फर्केका एकजना विद्यार्थीलाई यो संक्रमण देखिएको छ । ती विद्यार्थीको गत माघ ९ गते र्‍यालको नमुना जाँच गर्दा कोराना भाइरस पुष्टि भएको थियो । हाल उनी पूर्ण स्वस्थ भइसकेका छन् । मुलुकमा मधेसदेखि पहाड, हिमालसम्म स्थानीय नेपाली समुदायमा यो संक्रमण हालसम्म देखिएको छैन ।

हालसम्म ‘कोभिड–१९’ को आयातीत संक्रमण मात्र देखिएको औंल्याउँदै डा.पाण्डे राष्ट्रिय र अन्तर्राष्ट्रिय विमानस्थलजस्तै सीमा क्षेत्रका नाकामा समेत कडा रूपमा परीक्षण गर्ने सशक्त हेल्थ डेस्क हुनुपर्ने आवश्यकता औंल्याउँछन् । यति मात्र नभई, बस स्ट्यान्ड, पर्यटक बढी आउने स्थल, विभिन्न सहरको प्रवेशद्वारमा हेल्थ डेस्क हुनु आवश्यक छ । हाल नेपालमा यो रोगको जोखिम स्थानीय रूपमा संक्रमण देखिएको चीन, दक्षिण कोरिया, इरान, इटाली, जापानमाबाट आउने व्यक्तिबाट छ ।
‘कोभिड–१९’ को संक्रमण ९० प्रतिशतजति चीनमा र १० प्रतिशत जति चीनबाहिर देखिएको छ । चीनबाहिर ८० प्रतिशत केस दक्षिण कोरिया, इरान, इटाली, जापानमा देखिएको हुनाले हालका लागि यो मुलुक आवातजावत बन्द गर्नुपर्ने डा.चोखानी बताउँछन् । ‘कोभिड–१९’ संक्रमण चीनमा नियन्त्रणतिर गइरहे पनि भारतलगायतका अन्य मुलुकमा विस्तार भइरहेकाले नेपाल थप जोखिममा रहेको छ ।

हालको समयमा मौसमी रुघाखोकी (सिजनल इन्फलुएन्जा) समेत देखिने भएकोले र ‘कोभिड–१९’ संग यसको लक्षण मिल्दोजुल्दो हुनाले थप त्रास बढेको छ । मौसमी रुघाखोकीभन्दा यो भाइरस बढी कडा देखिएको छ । सन् २००३ मा बर्डफ्लुले मात्र ४ सय ५५ जनाको मृत्यु भएको थियो भने सार्स र मर्सले समेत एक वर्षमा १ हजार जना जतिको मृत्यु भएको थियो ।
‘हालसम्मको तथ्यांकअनुसार कोरोनाको २.३ प्रतिशत केसलाई भेन्टिलेटरमा राख्नुपरेको र प्रयोगशाला प्रमाणित १.४ प्रतिशत केसमा मृत्यु देखिएको अवस्था छ,’ डा.चोखानीका अनुसार कोभिड–१९ मा सार्स र मर्सको दाँजोमा मृत्युदर कम देखिएको छ । यो भाइरस ‘सार्स’ होइन, ‘मर्स’ पनि होइन, न त ‘इन्फ्लुएन्जा हो,’ विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक डा. टेड्रस अधानोम गेब्रियससले यतिबेला यो भाइरसको सञ्चारको शृंखला तोड्ने र यसको फैलावट रोक्ने अवसर पनि मिलेको बताए । हालसम्म ‘कोभिड–१९’ रोगलाई हराउन डब्लूएचओले संक्रमणको कडी तोड्ने (ब्रेक द चेन अफ ट्रान्समिसन) रणनीति अपनाएको छ । यसअन्तर्गत छिटो केस पत्ता लगाएर बिरामीलाई आइसोलेसनमा राखेर उपचार गर्ने गरिएको छ ।

‘हामीलाई अत्यन्त सुरक्षा उपाय अपनाउनुपर्ने खाँचो छ । मुलुकमा ५–६ जनालाई संक्रमण देखिए हाहाकारको स्थिति आउन सक्छ,’ डा.चोखानी भन्छन्, ‘हामीसँग आधारभूत संरचना छैन । तयारी छैन, उपयुक्त क्षमता छैन, यसलाई बिर्सनुहुन्न ।’ मुलुकमा कोरोना संक्रमण देखिए सबैभन्दा बढी प्रभावित स्वास्थ्यकर्मी हुने उनले जनाए ।
के हो कोरोना भाइरस ?

भाइरसको एउटा ठूलो परिवार कोरोना भाइरस हो । यो जनावर वा मनुष्यमा रोगको कारण बन्न सक्छ । हामीमा थुप्रै किसिमका कोरोना भाइरसले सामान्य रुघाखोकीदेखि लिएर सर्भ एक्युट रेस्पिरेटरी सिन्ड्रोम (सार्स), मिडिल इस्ट रेस्पिरेटरी सिन्ड्रोम (मर्स) जस्ता गम्भीर रोग उत्पन्न गर्छन् । सबैभन्दा पछिल्लो पत्ता लागेको कोरोना भाइरसले ‘कोभिड–१९’ रोग सार्छ ।

यसको सबैभन्दा सामान्य लक्षण ज्वरो, थकाइ र सुक्खा खोकी हो । तर केही बिरामीलाई शरीर बाउँडिनु दुखाइ, नाक बन्द हुनु, नाकबाट पानी बग्नु, घाँटी दुख्नु र पखालासमेत लाग्ने हुन सक्छ ।

डा. टेड्रसका अनुसार, यसको संक्रमण मुख्य रूपमा ज्वरो र सुक्खा खोकी (ड्राई कफ) बाट सुरु हुन्छ । लक्षण सामान्यतः मध्यम रूपमा देखिएर विस्तारै बढ्न थाल्छ ।
केही व्यक्ति यसको संक्रमणले प्रभावित भए पनि उनीहरूमा लक्षण नदेखिने र आफूलाई अस्वस्थ अनुभव नगर्न पनि सक्छन् । डब्लूएचओका अनुसार धेरैजसो व्यक्ति अर्थात् करिब ८० प्रतिशत विशेष उपचार नपाए पनि यो रोगबाट निको भइरहेका हुन्छन् । कोरोना संक्रमण भएका ६ मध्ये एक जना गम्भीर रूपमा बिरामी पर्छन् र उनीहरूमा सास फेर्न समस्या देखिन्छ ।

बूढापाका र उच्च रक्तचाप, मुटुको समस्या, मधुमेह आदि भएकाहरू गम्भीर रूपमा बिरामी हुन सक्छन् । डा. टेड्रसका अनुसार हालसम्मको विभिन्न तथ्यांकअनुसार ६० वर्ष माथिका मुटु र रक्तनलीका रोगी, मधुमेह, श्वासप्रश्वास, क्यान्सर, दीर्घ रोगीहरूमा कडा रूपमा देखिएको छ ।

यो रोगको जीवाणु हाम्रो शरीरमा प्रवेश गरेपछि एकदेखि १४ दिनभित्र लक्षण देखिन थाल्छ । तर यो समय अझै विश्वभरिबाट प्राप्त विभिन्न तथ्यांकका आधारमा डब्लूएचओले आँकलन नै गरेकोले भविष्यमा थप तथ्यांकका माध्यमले संशोधनसमेत हुन सक्छ । तर सामान्यतः धेरै केसहरूमा शरीरमा जीवाणु प्रवेश गरेको ५ दिनभित्र लक्षण देखिएको छ ।

लक्षण नदेखिएकाबाट समेत फैलिन सक्छ

यो संक्रमण मुख्य रूपमा खोक्दा, हाच्छिउँ गर्दा नाक, मुखबाट निस्किने पानीको स–साना थोपा अन्य व्यक्तिको शरीरमा प्रवेश गरेपछि रोग सर्छ । तर लक्षण नदेखिएका व्यक्तिबाट यो रोग सर्ने जोखिम धेरै कम हुन्छ । उसो त धेरै व्यक्तिले यो रोगको थोरै कम लक्षण अनुभव गर्छन् । डब्लूएचओका अनुसार रोगको प्रारम्भिक चरणमा लक्षण नआउने व्यक्तिबाट रोग सर्न सक्ने विशेष रूपमा सही हो ।

नोवल कोरोना भाइरस मौसमी रुघाखोकी फैलिने प्रक्रियाजस्तै संक्रमित व्यक्तिबाट अर्को स्वस्थ व्यक्तिमा श्वासप्रश्वासको माध्यमले फैलिन्छ । मुख्य रूपले श्वासप्रश्वाससम्बन्धी रोग हुनुका साथै यो मुख, नाकबाट निस्किने पानीका स–साना कण (ड्रप्लेट) बाट एक व्यक्तिबाट अर्कोमा निकट सम्पर्कद्वारा फैलिरहेको डब्लूएचओ, हेल्थ इमर्जेन्सीका कार्यकारी निर्देशक डा. माइकल रायन बताउँछन् ।

प्रत्यक्ष रूपमा मुख, नाकबाट निस्किने पानीका स–साना थोपालाई श्वासप्रश्वासका माध्यमले शरीरमा तान्दा यो संक्रमण हुन्छ । संक्रमित व्यक्तिको दिसाबाट यो सर्ने जोखिम कम हुन्छ । तर प्रारम्भिक जाँचबाट यो भाइरस केही केसमा दिसामा समेत हुन सक्ने देखाएको थियो । तर दिसाको माध्यम कोभिड–१९ को प्रकोप फैलाउनलाई मुख्य रूपमा जिम्मेवार देखिएको भने छैन ।

यसबाहेक नाक, मुखबाट निस्किने यस्ता पानीको थोपा कुनै वस्तु वा सतहमा पर्दा त्यसलाई छुने स्वस्थ व्यक्तिको हातसमेत जीवाणुले संक्रमित हुन्छ । यस्तो हातले पुनः आँखा, नाक, मुख छुँदा जीवाणु शरीरमा प्रवेश गर्छ । खोक्दा, हाच्छिउँ गर्दा निस्किने पानीको स–साना थोपाहरूले यो भाइरसलाई बोकेको हुन्छ । त्यसैले रुघाखोकी लागेका बिरामीहरूसँग न्यूनतम एक मिटरको दूरी कायम राख्दा श्वासप्रश्वासको माध्यमले हुने संक्रमणको जोखिम कम हुन्छ ।

‘हामी अझै यो भाइरसबाट रोग सर्ने प्रक्रियाबारे विस्तृत अनुसन्धान गरिरहेका छौं,’ डा. चोखानीका अनुसार नाक–मुखबाट निस्किने पानीको स–साना थोपाको माध्यमले विभिन्न सतहहरूमा टाँस्सिएको यो भाइरस केही कम समयसम्म जीवित रहने हुँदा त्यस्ता सतहलाई छुने लगायत गर्दासमेत संक्रमण हुन सक्छ । तर अझै यो थाहा हुन सकेको छैन कि कोरोना भाइरस कति समयसम्म सतहमा बाँच्न सक्छ । तर प्रारम्भिक जानकारीअनुसार यो भाइरस खुला सतहमा केही घण्टादेखि धेरै दिनसम्म पनि बाँच्न सक्छ । भाइरस सतहमा बाँच्ने समय सतहको प्रकार, तापक्रम र वातावरणको आद्रतामा निर्भर गर्छ । तर सामान्य संक्रमण मुक्त गर्ने रसायनहरूले सतहमा भएको यो भाइरसलाई मार्न सक्छ ।

कोरोना फोबिया बढी

कोरोनाको संक्रमण फैलिरहेको मुलुकबाट आउने केही व्यक्तिमा यसको फोबिया (डर) निकै देखिन थालेको छ । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका डा.अनुप बाँस्तोलाका अनुसार, विदेशबाट फर्केकाहरूले आफूलाई कोरोनाको संक्रमण छ/छैन भनेर चेकजाँच गर्न अस्पताल आउनेको संख्या बढ्दो छ ।

‘कति त अस्पतालकै वरिपरि घुमिरहेका हुन्छन् । यो विषयमा सोधिरहेका हुन्छन्,’ डा. बाँस्कोटा भन्छ, ‘तर शंका छ भने क्वारेन्टाइनमा बस्नुपर्छ भन्दा धेरैजसो बस्न मान्दैनन् ।’ हाल आम जनमानसमा कोरोनाबारे सही वैज्ञानिक जानकारीसँगै उपयुक्त मनोपरामर्शको समेत आवश्यकता देखिएको छ ।

विशेषज्ञहरूका अनुसार हालसम्मको तथ्यांकले पाको उमेरकालाई यो भाइरस बढी प्रभावित गर्ने भएको ६० वर्षमाथिका उमेर समूहलाई विशेष सावधानी अपनाउनुपर्ने बताएका छन् । ‘हालसम्म कोभिड–१९ विरुद्घ कुनै खोप छैन तर ६० वर्षमाथिकाले रुघाखोकीविरुद्घको इन्फलुएन्जा खोप, निमोनियाविरुद्घको ‘न्युमोकोक्कल खोप’ लगाउनु फाइदाजनक हुन सक्छ,’ डा. पाण्डेका अनुसार मौसमी रुघाखोकी र निमोनियाको जटिलताबाट बाँच्न यी खोपले केही भरथेग गर्न सक्छ ।

हाल मौसमी रुघाखोकीसँगै कोभिड–१९ संक्रमणको समेत जोखिम रहेकोले रुघाखोकी, ज्वरोजस्ता लक्षण देखिएकाहरूले सार्वजनिक स्थलमा नगई परिवारमा प्रत्यक्ष सम्पर्क नहुने गरी छुट्टै बस्नु उपयुक्त हुन्छ ।

‘रुघाखोकी भएकाहरू घरमै बस्नुपर्‍यो,’ डा.पाण्डेका अनुसार धेरैलाई संक्रमण हुने यो अवस्थामा घरलाई नै क्वारेन्टाइन बनाएर परिवारका अन्य सदस्यसँग प्रत्यक्ष सम्पर्क, उपयोग गर्ने वस्तुको साटासाट नहुने गरी बस्नुपर्छ । अझ खोकीको लक्षण देखिएका बालबालिकालाई स्कुल पठाउनु हुँदैन । कामदारले समेत बिरामीको अवस्थामा बिदा लिएर घरमै बस्नुपर्छ । ‘कोरोना प्रभावित मुलुक नगएका व्यक्तिसँग नभेटेकाहरूले रुघाखोकीमा कुनै जटिलता देखिए तुरुन्त स्वास्थ्यकर्मीसँग सल्लाह लिनुपर्छ,’ डा.पाण्डे भन्छन् ।

कोरोना भाइरसको संक्रमणको जोखिम बढेसँगै मुलुकमा हाल मास्क लगाउनेको संख्या ह्वात्तै बढेको छ । यसअघि स्वाइनफ्लु देखिँदासमेत मास्क लगाउने क्रम बढेको भए पनि हाल मास्कको उपयोग उत्कर्षमा छ ।

अझ चिकित्सकहरूले रुघाखोकीका लक्षण भएकाहरू, उपचार गर्ने स्वास्थ्यकर्मी र बिरामी स्याहार्ने व्यक्तिले नै मास्क लगाउनुपर्ने बताउँछन् । ‘शंकास्पद बिरामीको उपचारमा संलग्न चिकित्साकर्मी, बिरामीको निकट र प्रत्यक्ष सम्पर्कमा रहेर स्याहार्ने व्यक्तिले ‘एन–९५’ मास्क लगाउनुपर्छ,’ डा. पाण्डे भन्छन्, ‘सामान्य रुघाखोकी भएकाहरूले भने उपयुक्त रूपमा सर्जिकल, मेडिकल मास्क लगाए हुन्छ ।’ कपडाको मास्क त्यति प्रभावकारी नभए पनि हाल मास्कको अभाव भएकोले बाक्लो खालको कपडाको मास्कसमेत लगाउन सकिन्छ ।

‘एउटै सर्जिकल मास्क दुई–तीन दिनसम्म लगाउनु जोखिमपूर्ण हुन्छ,’ डा. चोखानीका अनुसार यस्तो मास्क एक प्रक्रिया गर्नका लागि लगाइन्छ । अर्थात् सर्जिकल मास्कको एक पटकमा ३–४ घण्टासम्म उपयोग गर्न सकिन्छ । डा. चोखानी खोकीको समस्या भएकाहरूले सबैभन्दा पहिले मास्क लगाउनु उपयुक्त हुने बताउँछन् । आम व्यक्तिलाई संक्रमणबाट जोगाउन सामान्य मास्क त्यति प्रभावकारी हुँदैन । मास्कसँगै निरन्तर साबुन पानी वा सेनिटाइजरले हात सफा गर्दै रहनु सबैभन्दा राम्रो उपाय हो ।

हात धुन कम्तीमा २० सेकेन्ड

कोरोनाबाट बाँच्न साबुनपानीले हात धुनु बढी प्रभावकारी छ । राम्ररी हात धुनलाई न्यूनतम २० सेकेन्ड खर्चिनुपर्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाउँदै आएको छ । बच्चालाई राम्ररी हात धुन सिकाएर एउटा राम्रो बानीको विकास गर्न सकिन्छ । उचित प्रकारले हात धुन पानीमा हात भिजाएर पर्याप्त साबुन लिएर हातमा राम्ररी फैलाउनुपर्छ । यसपछि दुवै हातलाई राम्ररी दल्नुपर्छ । एक हातलाई अर्को हातको माथि दल्दै औंलाको बीचमा समेत राम्ररी सफा गर्नुपर्छ । यस्तै दुवै हातको औंलालाई आपसमा समातेर औंलाको पछाडिको खण्ड अर्को हातमा दल्नुपर्छ । पानीले राम्ररी धोएको हात सफा तौलियाले राम्ररी पुछ्नुपर्छ । यस प्रक्रियाले हात जीवाणुरहित हुन्छ ।

हात राम्ररी धोएर त्यसलाई आफूले लगाएको लुगाको फेरो, खल्तीमा राखिएको रुमाल वा सारीको आँचलले पुछ्नु हुँदैन । यसमा पहिल्यैदेखि कीटाणु रहेको हुन सक्छ जुन चिसो हातमा टाँस्सिन्छन् । चिकित्सकका अनुसार सफा ठाउँमा राम्ररी घाममा सुकाइएको तौलियाले नै हात पुछ्नुपर्छ । तौलियालाई भने उम्लिरहेको पानीमा धुनुपर्छ जसले गर्दा तौलिया कीटाणुमुक्त होस् ।

औषधिको विकास हुँदै

कोभिड–१९ संक्रमणविरुद्घ हालसम्म कुनै खोप र विशिष्ट उपचार छैन । संक्रमितमा देखिने लक्षणका आधारमै उपचार गरिन्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक डा.टेड्रस अधानोम गेब्रियससका अनुसार हाल विश्वभरिमा यसको २० वटा खोप र केही औषधि विकासका क्रममा रहेको छ । केही महिनाभित्रै खोप आउन सक्ने सम्भावना छ । डा. वासुदेव पाण्डे केही महिनामा नै कोभिड–१९ मा उपयोग गरिने औषधि आइसक्नेमा आशावादी छन् ।

हाल एन्टिभाइरल औषधि ‘टेमी–फ्लु (ओसेल्टामाभिर) को उपयोगमा फाइदा देखिएको औंल्याउँदै उनले एचआईभी/एड्सको उपचारमा उपयोग गरिने एन्टिरेट्रो भाइरल औषधिहरू पनि उपयोगी सिद्घ भएको बताए । चिनियाँहरूले औंलोमा उपयोग गरिने ‘क्लोरोक्विन’ औषधिसमेत प्रयोग गरेको उनी औंल्याउँछन् । @ekantipur

Leave a Reply

Back to top button
Close
%d bloggers like this: