चक्रव्यूहमा अर्थतन्त्र

२३ फागुन २०७६ काठमाडौं : कोरोना भाइरस नेपालमा भित्रिएको पुष्टि नहुँदै मुलुकको अर्थतन्त्र चक्रव्यूहतर्फ धकेलिएको छ। यही रफ्तारमा कोरोना प्रकोप बढ्दै जाने हो भने चाँडै मुलुकको अर्थतन्त्र गम्भीर संकटमा पर्ने चिन्ता सरकारी अधिकारीहरूको छ।

बिहीबार बिहानसम्म संसारका ८४ मुलुकमा संक्रमण फेला परेको छ। झन्डै ९६ हजारमा संक्रमण देखिएकोमा ५३ हजार ७ सय जनालाई निको भएको समाचार एजेन्सीहरूले जनाएका छन्। मृत्यु हुनेको संख्या तीन हजार ३ सय हाराहारीमा पुगेको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वृद्धिको मार्गप्रशस्त हुनै लागेका बेला बाह्य चुनौती सामना गर्नुपरेको बताएका छन्। राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले कोरोनाका कारण मूल्यवृद्धिमा चाप पर्ने बताए। ‘हामीले कोरोनाको प्रभाव कम गर्न पर्यटनलगायत क्षेत्रमा बैंक ऋणको पुनर्तालिकीकरण र पुनर्संरचना गर्ने सुविधा दिएका छौं,’ उनले भने। राष्ट्र बैंकले तीन दिनअघि सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा यस्तो सुविधा दिने उल्लेख छ।

यस्ता सामान्य समाधानबाट चुनौती सामना गर्न ‘असम्भव’ रहेको अर्थ मन्त्रालयका अधिकारी बताउँछन्। औषधि, खाद्यान्न, ऊर्जा, लत्ताकपडाजस्ता अत्यावश्यक वस्तुमा परनिर्भर नेपाली अर्थतन्त्र नयाँ संकटबाट प्रभावित हुने अनुमान अर्थशास्त्रीको छ।

अधिकांश ठूला होटेलको ‘अक्युपेन्सी’ दर १५ प्रतिशतभन्दा कम रहेको पर्यटन व्यवसायीले बताएका छन्। यसको मतलब सय जना क्षमताको होटेलमा १५ जना पनि छैनन्। यसको असर रोजगारी, उपभोग्य वस्तु र बैंकको ऋणमा पर्छ।

ट्राभल कम्पनी र वायुसेवा कम्पनीले सेवा र कर्मचारी कटौती गर्नुपर्ने अवस्था आएको बताएका छन्।

अत्यावश्यक औषधिलगायत खाद्यान्न भण्डार क्रमशः रित्तिँदै छ। चाहिनेभन्दा बढी सामान किनेर थुपार्न थालेपछि बजारमा अभाव अभाव हुन थालेको व्यवसायी बताउँछन्।

पछिल्लो एक सातामा अमेरिकी डलर ३ रुपैयाँभन्दा धेरै महँगिइसकेको छ भने युरो ६ रुपैयाँ महँगिएको छ। स्वदेशी मुद्रा अवमूल्यनले आयातमा निर्भर नेपाली अर्थव्यवस्थालाई अझ समस्यामा पार्न सक्ने सरकारी अधिकारी बताउँछन्। सबैभन्दा ठूलो समस्याचाहिँ रेमिट्यान्समा हुने जोखिम हो।

२०७२ सालमा भारतीय नाकाबन्दीका बेला रेमिट्यान्स आम्दानी बढ्दा महँगै भए पनि किनेर खान सक्ने क्षमता थियो। विदेशको कमाइले वित्तीय प्रणाली चलायमान बनाउन सहयोग गरेको थियो।

खाडी क्षेत्रमै कोरोना प्रकोप देखिएकाले रेमिट्यान्स आय ठूलो मात्रामा घट्न सक्ने जोखिम छ। ‘अर्थतन्त्रको प्राण’ रेमिट्यान्ससँगै लय लिँदै गरेको प्रत्यक्ष विदेशी लगानी मात्र घट्ने छैन, अधिकांश मुलुकले अनुदान सहायता दिन सक्ने सामथ्र्य गुमाउन थालेका छन्।

कोरोनाको प्रभाव विश्वव्यापी फैलिँदै छ। ब्रिटिस एयरवेजले मार्च १६ देखि २८ का लागि तय भएका ४३२ उडान रद्द गरेको छ। छोटो दूरीका हवाईजहाज सेवाप्रदायकमध्ये युरोपको सबैभन्दा ठूलो कम्पनी र्‍यानियरले १७ मार्चदेखि ८ अप्रिलसम्म इटाली उड्ने सयौं उडान स्थगित गरेको छ।

इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आयटा) ले १२ दिनअघि नै विश्वभरको हवाई उद्योगले कोरोनाका कारण ३० अर्ब अमेरिकी डलरसम्म क्षति भोग्नुपर्ने बताएको थियो। यो सन् २००१ मा अमेरिकामा भएको आतंककारी हमलापछिकै सर्वाधिक प्रक्षेपण हो। अन्तर्राष्ट्रिय समाचार संस्था गार्जियनले उक्त प्रक्षपण अहिलेसम्म आउँदा ‘आउटडेटेड’ भइसकेको टिप्पणी गरेको छ।

पछिल्ला एक सातामा संसारभर कोरोनाको प्रकोप असामान्य गतिमा फैलिएको छ। त्यसले गर्दा हवाई सेवामा समस्या हुने देखिएको छ। जलमार्ग पातलिइसकेको छ। विश्व व्यापारमा ८० प्रतिशत वस्तुको ढुवानी जलमार्गबाट हुन्छ। ठूला कन्टेनर प्रयोग गर्ने संसारका प्रमुख १० बन्दरगाहमध्ये सातवटा चीनमै छन्। दक्षिण कोरिया र सिंगापुरको ‘मासपोर्ट’ पनि चीननजिकै छ।

अधिकांश मुलुकले चीनबाट गएका भेसल भनिने ठूला मालवाहक जहाजलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखेर आफ्नो मुलुक छिर्न दिइरहेका छन्। तर संसारकै प्रमुख उत्पादनगृह बन्दप्रायः हुँदा व्यापारको गतिविधि बिस्तारै सुस्ताउने अनुमान छ।

विश्वभरको आवतजावत र ढुवानी प्रणालीमा देखिएको अवरोधका कारण पेट्रोलियम पदार्थको खपत घट्न थालिसकेको छ। यसले पेट्रोलियमको मूल्यमा कमी ल्याउनेछ। खाडी क्षेत्रमा भारी मात्रामा रोजगारी कटौती हुन सक्ने जोखिम बढेको छ। सबैभन्दा ठूलो रक्सी उत्पादक कम्पनी डिआगोले कोरोनाका कारण उत्पादन बिक्री ३२ करोड ५० लाख पाउन्डसम्म घट्ने अनुमान गरेको छ। एक्जाभेटरलगायत निर्माण सामग्री उत्पादन गर्ने जेसीबीले तीन साताअघि नै रोजगारी कटौती सुरु गरेको छ।

आइफोन उत्पादन गर्ने एउटा कम्पनी फक्सकनले मास्क बनाउन थालेको छ। सोनी र अमेजनले दुई महिनाअघिदेखि प्रमुख प्रविधि प्रदर्शनीहरुबाट बाहिरिने निर्णय लिएका थिए। संसारका सबैजसो ठूला कार निर्माताले उत्पादन आंशिक वा पूर्ण रूपमा बन्द गरिसकेका छन्।

संसारको एक तिहाइ औद्योगिक उत्पादन चीनमा हुन्छ। सबैभन्दा ठूलो निर्यातकर्ता मुलुकमा अहिले आर्थिक गतिविधि रोकिएपछि विश्व अर्थतन्त्र नै धर्मराएको छ। सन् २००८ को वित्तीय संकटपछि अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भले पहिलो पटक आकस्मिक रुपमा ब्याजदर कटौती गरेको छ। मंगलबार साँझ फेडेरलले नीतिगत ब्याजदरमा ५० आधार विन्दु घटायो। नेपालले पनि खाद्यान्न, औषधि र अत्यावश्यक सामग्री भण्डारणमा सतर्कता अपनाउन ढिलाइ भइसकेको विज्ञहरूले बताएका छन्। @anpunapost

Leave a Reply

Back to top button
Close
%d bloggers like this: