कोरोना प्रभाव : दर्जनभन्दा बढी आयोजना अन्योल

फाल्गुन २३, २०७६ काठमाडौँ — छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रभाव नेपालको विकास–निर्माणमा समेत पर्न थालेको छ । हालसम्म प्रदेश २ र सुदूरपश्चिमबाहेक सबै प्रदेशका दर्जनभन्दा बढी सरकारी र निजी लगानीका ठूला तथा साना विकास–निर्माण आयोजनाका काममा कोरोनाको प्रत्यक्ष प्रभाव परिसकेको छ । अप्रत्यक्ष प्रभावको लेखाजोखा छैन ।

चीनबाट आयात हुने उपकरण कोरोनाका कारण रोकिएको र नयाँ वर्ष मनाउन स्वदेश गएका चिनियाँ ठेकेदार, इन्जिनियर र कामदार उतै अड्किएकाले आयोजनाहरू प्रभावित भएका हुन् । नेपालमा काम गर्न तीन वर्षयता श्रम स्वीकृति लिएका विदेशी कामदारमध्ये सबैभन्दा बढी (६० प्रतिशत) चिनियाँ छन् ।

स्वीकृति लिएका चिनियाँ कामदारको संख्या ३ हजार ५ सय ८७ छ । तीमध्ये धेरैजसो कोरोना भाइरस फैलिनुपूर्व चिनियाँ वसन्त चाड (नयाँ वर्ष) मनाउन घर गएकामा उतै रोकिएका छन् । यसबाट चिनियाँ श्रमिक वा लगानीकर्ता प्रत्यक्ष संलग्न नभएका आयोजनामा समेत असर परेको छ । फलस्वरूप आयोजनाको अवधि लम्बिने मात्रै हैन, सरकारी बजेट निकै कम खर्च भइरहेको बेला पुँजीगत खर्च झन् कम हुने सम्भावना छ ।

अध्ययन रोकियो

चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा तय गरिएको परियोजनाको अध्ययन तथा थप प्रक्रिया अघि बढाउने विषयसमेत कोरोनाका कारण रोकिएको छ । ९८ प्रतिशत सुरुङ हुने ७२ किलोमिटरको केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन प्रक्रिया अवरुद्ध भएको छ । मंसिरमा नेपाल–चीनका अधिकारीहरूबीच बढीमा साढे दुई वर्षभित्र यो काम सक्ने समझदारी बनेको थियो । ‘अध्ययन गर्न आउने भनिएको टोली अहिले बेखबर छ,’ रेल विभागका महानिर्देशक बलराम मिश्रले भने ।

चक्रपथ विस्तार (दोस्रो चरण) को विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) गर्न चिनियाँ टोली फागुनमा नेपाल आउने तय भएको थियो । कोरोनाले उनीहरू आउन नसक्दा अध्ययनको काम अन्योलमा परेको सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले बताए । ‘फागुनमा अर्थ मन्त्रालयले बोलाउने कुरा थियो,’ उनले भने, ‘कोरोनाले गर्दा अहिले बोलाइएको छैन ।’

काठमाडौंको टोखादेखि नुवाकोटको छहरे जोड्ने सुरुङमार्गको प्रारम्भिक अध्ययन गरेर ९ जनाको चिनियाँ टोली माघमा चीनतिर लागेको थियो । ‘चैत तेस्रो सातासम्म चीन सरकारलाई रिपोर्ट बुझाउने कुरा भएको हो,’ थापाले भने, ‘तर चीन फर्किएको टोली हाम्रो सम्पर्कमा छैन ।’ उनका अनुसार प्रारम्भिक अध्ययनपछि डीपीआरका लागि अगाडि बढ्ने कुरा थियो । काठमाडौं मेट्रो रेल आयोजनाका पाँच खण्डमध्ये एक खण्डको अध्ययन चिनियाँ टोलीले फागुन दोस्रो साताबाट सुरु गर्ने तय भएको थियो । ९ वर्षपछि हुन लागेको यो अध्ययनको काम पनि रोकिएको रेल विभागका महानिर्देशक मिश्रले जानकारी दिए । ‘सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोकको १२ दशमलव १० किमि क्षेत्रको डीपीआर सुरु गर्ने गरी टोली आउने सहमति भएको थियो,’ उनले भने, ‘अहिले टोलीले इमेलमार्फत आउन नसकेको जानकारी गराई अध्ययनको समय सार्न भनेको छ ।’ सन् २०११ मा कोरियन कम्पनीले प्रारम्भिक अध्ययन गरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई रिपोर्ट बुझाएको थियो ।

गौरवका आयोजना

कोरोना भाइरसको प्रभाव निर्माण सम्पन्न हुने अवस्थामा पुगेका राष्ट्रिय गौरवका आयोजनामा पनि परेको छ । प्राविधिक, कामदार र उपकरण नआउँदा गौतम बुद्ध क्षेत्रीय/अन्तर्राष्ट्रिय विमानस्थलको प्रगतिको गति घटेको छ । चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसनले ठेक्का लिएको विमानस्थलमा कार्यरत प्राविधिकसहितको टोली नयाँ वर्ष मनाउन गएपछि फर्किएको छैन । टर्मिनल भवनको उपकरण ‘कन्ब्यारो बेल्ट’ र धावन मार्गको रनवे लाइट चीनबाट ल्याउने तयारी भइरहेको थियो तर आयात रोकिएपछि अन्तिम समयमा ती काम रोकिएको विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीले बताए । ‘झन्डै २० जना दक्ष प्राविधिक चीनमै रोकिएका छन्,’ उनले भने, ‘अन्य कामदार पनि फर्केका छैनन् ।’ विमानस्थलको काम १३ प्रतिशत बाँकी छ भने निर्माण सम्पन्न अवधि सकिन एक महिना मात्र बाँकी छ । २०७१ कात्तिकबाट निर्माण सुरु भएको विमानस्थलको लागत ६ अर्ब ८२ करोड छ । ०७६/७७ भित्र सक्नुपर्ने भए पनि कोरानाका कारण निर्माण कार्य केही पछि धकेलिने देखिएको छ ।

कामदार नफर्कंदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा असर देखिन थालेको छ । मुख्य सडकबाट विमानस्थलसम्म पुग्ने सडक माघ तेस्रो साताबाट ढलान गर्ने भनिए पनि काम अघि बढेको छैन । आयोजना प्रमुख विनेश मुनकर्मीका अनुसार नयाँ वर्ष मनाउन गएका ८७ जना कामदार चीनबाट आउनुपर्ने हो । ३६ जना फर्किसकेका छन् । बुधबार १४ जना हेल्थ सर्टिफिकेट लिएर काठमाडौं आइपुगेको उनले बताए । ‘धेरै कामदार उतै अड्किँदा कार्यतालिकाअनुसार काम गर्न सकिएको छैन,’ उनले भने । नयाँ कामदार ११५ जना आउनुपर्नेमा ३६ जना मात्र आएका छन् । विमानस्थलमा २५० भन्दा बढी चिनियाँ कामदार कार्यरत छन् । यो विमानस्थलको निर्माण आव २०७१/७२ बाट सुरु भएको हो । ०७९/८० भित्र सक्ने लक्ष्य रहेको यो आयोजनाको कुल लागत २१ अर्ब ६० करोड छ ।

स्याफ्रुबेंसी–रसुवागढी सडक

चीन सरकारको सहयोगमा निर्माणाधीन स्याफ्रुबेंसी–रसुवागढी खण्डको १७ किलोमिटर सडक निर्माण झन्डै तीन महिनादेखि ठप्प छ । नयाँ वर्ष मनाउन बेलैमा चिनियाँ कामदार उता गएको र नफर्किएपछि दुई लेनको उक्त खण्डको काम रोकिएको हो । ‘आउन ढिला हुन्छ, अहिले सडक किनारमा पर्ने घरटहरा भत्काउँदै गर्नू भन्ने सन्देश पठाएका छन्,’ गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक आयोजनाका योजना प्रमुख नारायणदत्त भण्डारीले भने । आयोजना प्रमुखका अनुसार निर्माणमा एक सय चिनियाँले काम गरिरहेका थिए । ७० चिनियाँ कामदार नयाँ वर्ष मनाउन गएपछि फर्किएका छैनन् । कोरोना भाइरस फैलिएलगत्तै चीनले रसुवागढी नाका बन्द गरेपछि सडक निर्माणमा प्रयोग हुने हाइड्रो मेकानिकल सामान केरुङमै

अड्किएका छन् ।

बुटवल–नारायणगढ सडक

बुटवल–नारायणगढ सडक विस्तारको काम पनि प्रभावित भएको छ । चिनियाँ निर्माण कम्पनी चाइना स्टेट इन्जिनियरिङ कन्स्ट्रक्सन कर्पोरेसनले काम गरिरहेका १ सय १३ किलोमिटर सडक विस्तारमा चिनियाँ प्राविधिक नआउँदा काम प्रभावित भएको हो । गैंडाकोट–दाउन्ने सडक खण्डका प्रमुख सुजन अधिकारीले आयोजनाको निर्माण कम्पनीतर्फका प्रमुख नै नभएको बताए ।

आयोजनामा ४० चिनियाँ कामदार कार्यरत छन् । १५ जना चिनियाँ बिदामा गएपछि सडक विस्तारमा ढिलाइ भएको हो । ‘आधाभन्दा बढी प्राविधिक र कामदार चीनमै रोकिएका छन्,’ उनले भने, ‘नफर्किंदा कामको स्पिड घटेको छ ।’ दुवै सडक खण्डका इन्चार्ज मिस्टर लिन हुङ ताओसहित तीन दिनअघि फर्किएका पाँच जनालाई स्वास्थ्य मन्त्रालयको प्रक्रिया पूरा गरी ‘सेल्फ आइसोलेसनमा’ राखिएको छ ।

हुवासिङ र अपर मर्स्याङ्दी

लगानी बोर्ड नेपालका प्रवक्ता बलराम रिज्यालका अनुसार कोरोनाले गर्दा धादिङको ह्वासिङ नारायणी सिमेन्ट उद्योग निर्माण ठप्प छ । ‘हुवासिङ सिमेन्टको मुख्य कार्यालय नै चीनको हुबेई प्रान्तमा छ,’ रिज्यालले भने, ‘त्यसैले निर्माण समयमै सकिनेमा शंका देखिएको छ ।’ कामदार उतै अड्किएका छन् । जनवरीदेखि कामले गति लिन सकेको छैन । ‘समस्या हुवासिङमा मात्र देखिएको छैन,’ उनले भने, ‘अपर मर्स्याङ्दीमा पनि धेरै कामदार चिनियाँ छन्, नयाँ कामदार पनि चिनियाँ चाहिने भए पनि आउन सकेका छैनन्, जसले गर्दा काम रोकिएको छ ।’

दरबार पुनर्निर्माण

चीन सरकारले पुनर्निर्माण गर्ने भनिएको नुवाकोटको साततले दरबार र वरिपरिका सम्पदा पुनर्निर्माणमा पनि कोरोनाको प्रभाव परेको छ । फागुन पहिलो साताबाट पुनर्निर्माण सुरु गर्ने भनिए पनि चिनियाँ पक्षका प्राविधिक र कामदार आउन नसक्दा काम अघि बढ्न सकेको छैन ।

कोरोना भाइरस नियन्त्रणमा आएपछि मात्र आउने कुरा चिनियाँ पक्षबाट आएको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख अर्जुन फुयाँलले बताए ।

सुनकोसी–मरिन डाइभर्सन

कोरोना भाइरसका कारण सुनकोसी–मरिन डाइभर्सन बहुद्देश्यीय आयोजना प्रभावित बनेको छ । आयोजना निर्माणका लागि मुख्य लगानीकर्तामा चीनलाई राखिएको थियो । आयोजना प्रमुख सुशीलचन्द्र आचार्यका अनुसार लगानीको वातावरण तयार गर्नका लागि अर्थ मन्त्रालय र आयोजनाको टोली चीन जाने कार्यक्रम तय गरिएको थियो । कोरोनाले गर्दा जान सकिएको छैन । ‘छलफल भएर टुंगिन जति ढिलाइ हुन्छ, त्यसले आयोजना निर्माणमा प्रत्यक्ष प्रभाव पार्ने छ,’ उनले भने ।

सिटी हल निर्माण

ललितपुरको गोदावरीमा तीन हजार क्षमताको सिटी हल निर्माणको काम कोरोनाले गर्दा प्रभावित बनेको छ । ५२ दिनसम्म रूख काट्न नपाएर निर्माण रोकिइरहेकामा सिटी हलका लागि आवश्यक सामान चीनबाट नआउँदा निर्माण थप प्रभावित बनेको छ । हललाई चाहिने कार्पेट, फल सिलिङ चीनबाट आउन सकेको छैन ।

त्यस्तै कोरियाबाट आउनुपर्ने एचबी एसीको सामान पनि आउन नसकेको निर्माण ठेक्का लिएको केसी समानान्तर जेभीले जनाएको छ । पाँच महिनाभित्र निर्माण सक्नुपर्ने भनिए पनि सामान नआएपछि ढिलाइ हुने भएको हो । राष्ट्रिय–अन्तर्राष्ट्रिय सम्मेलन गर्न मिल्ने गरी १ सय १८ रोपनीमा निर्माणाधीन हलको लागत ७२ करोड रुपैयाँ छ ।

भेरी–बबई डाइभर्सन

भेरी–बबई डाइभर्सन आयोजनामा भने कोरोनाको प्रभाव न्यून छ । आयोजना प्रमुख सञ्जीव बरालले चिनियाँ कामदार चार जना रहेको र तीमध्ये दुई जना फर्किसकेको बताए । ‘फर्केकालाई १४ दिन निगरानीमा राखेर काममा लगाएका छौं,’ उनले भने, ‘अहिले योजनाका कुनै काम रोकिएका छैनन् ।’

१८ जना फर्किए

तमोर नदीमा निर्माणाधीन मध्य तमोर जलविद्युत् आयोजनामा १ सय २५ जना चिनियाँ कामदार छन् । उनीहरूमध्ये १८ जना नयाँ वर्ष मनाउन चीन गएर फर्किएका छन् । चीनमा कोरोनाको संक्रमण देखिएपछि काममा फर्किएका उनीहरूलाई १५ दिन छुट्टै राखिएको आयोजना प्रमुख मणिकुमार पोखरेलले बताए । दुई सातासम्म छुट्टै राख्दा कुनै समस्या नदेखिएपछि काममा लगाइएको उनले बताए । उनीहरूलाई मास्क र हेलमेट अनिवार्य गरिएको छ । थप चिनियाँ कामदार, प्राविधिक र उपकरण ल्याउन नसक्दा काममा समस्या भएको आयोजनाको दाबी छ । यो ७३ मेगावाटको आयोजना हो ।

उच्च सतर्कता

मर्स्याङ्दी–८, भुलभुलेस्थित सिनो हाइड्रो–सगरमाथा पावर कम्पनी प्रालिको आवास तथा ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनामा उच्च सतर्कता अपनाइएको छ । करिब तीन वर्षअघि निर्माण गरिएको आयोजनामा सम्बन्धित व्यक्तिबाहेक अन्यलाई प्रवेश निषेध गरिएको छ । कर्मचारीलाई अत्यावश्यक काममा बाहेक गेटबाहिर निस्कन रोक लगाइएको छ । शरीरको तापक्रम नापेर मात्र प्रवेश दिइएको आयोजनाकाप्रोडक्सन एवं टेक्नोलोजी म्यानेजर ली गाउयुआनले बताए । आयोजनामा ४० चिनियाँ कार्यरत छन् । हाइड्रोको काठमाडौंस्थित कार्यालयमा सात चिनियाँ छन् ।

विद्युत् आयोजना बढी प्रभावित

सबैभन्दा ठूलो समस्या जलविद्युत् आयोजनामा देखा परेको छ । धेरैजसो आयोजनामा चिनियाँको लगानी छ भने अरूमा पनि चिनियाँले नै काम गरिरहेका छन् । स्वतन्त्र ऊर्जा उत्पादक संघ (इपान) का अनुसार कोरोनाका कारण १५ सय मेगावाट बराबरका दुई दर्जन विद्युत् आयोजनाको काम प्रभावित छ । इपानका अध्यक्ष शैलेन्द्र गुरागाईंले अहिलेसम्म २४ जलविद्युत् आयोजनामा प्रभाव परेको जानकारी आएको बताए । ‘कतिपय आयोजनाका कन्ट्र्याक्टर चीनका भएकाले उतैबाट कामदार ल्याएका छन्,’ उनले भने, ‘उता गएकाहरू नआएपछि काम रोकिएको छ ।’

प्रायः आयोजनाका इन्जिनियर उतैका छन् । ‘करिब एक हजार मेगावाटका निर्माणाधीन आयोजना यसै वर्ष सम्पन्न हुने प्रकृतिका थिए,’ उनले भने, ‘अब निर्माण सकिने अवधि एक वर्ष पछि धकेलिएला जस्तो छ ।’ नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले कोरोना भाइरसका कारण आयोजनाको व्यावसायिक उत्पादन मिति (आरसीओडी) पर धकेलिने भन्दै हालसम्म १८–१९ वटा आयोजनाले निवेदन दिएका छन् ।

‘कोरोनाका कारण विज्ञ जनशक्ति चीनबाट आउन नसकेको, सामान ल्याउन नसकिएको र उत्पादन भइसकेका सामान पनि परीक्षणमा जान नसकिएको भन्दै निवेदन आएको छ,’ उनले भने, ‘विद्युत् खरिद सम्झौता (पीपीए) मा प्राकृतिक विपत्तीयलाई समेत फोर्स मेजर राखिएको हुनाले प्राधिकरणले यसबारे अध्ययन गरेर निर्णय गर्छ ।’ यस्तो संख्या थपिँदै जाने उनको अनुमान छ । उनका अनुसार केही ट्रान्समिसन प्रोजेक्टमा चिनियाँहरू संलग्न छन् । ‘ढल्केबर सबस्टेसन ठूलो ट्रान्समिसन आयोजना हो,’ उनले भने, ‘चैत तेस्रो सातासम्म सम्पन्न गर्नुपर्ने थियो, चीनबाट सामान आउन नसक्दा ढिलाइ हुने खतरा बढेको छ ।’ ढल्केबर सबस्टेसनमा चार्ज गरेपछि मात्रै अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर लाइनबाट पावर लेनदेन गर्न सकिने उनले बताए ।

३७ मेगावाटको माथिल्लो त्रिशूली ३ बी जलविद्युत् आयोजनामा डेढ महिनादेखि मुख्य सुरुङ (टनेल) को काम रोकिएको आयोजना कम्पनीका प्रबन्ध सञ्चालक मोहन गौतमले बताए । ‘मुख्य सुरुङ निर्माण कार्य जनवरी तेस्रो सातादेखि रोकिएको छ,’ उनले भने । ५० जना कामदार चीनबाट नफर्किएको र उनीहरू आउन ढिलाइ भएमा आयोजना निर्धारित समयमा नसकिने उनले बताए । ठेकेदार कम्पनी सिचुआन एएनएचई हाइड्रोइलेक्ट्रिक इन्जिनियरिङ कम्पनीले आयोजना कार्यालयलाई फोर्स मेजरको पत्र दिइसकेको छ ।

फर्किएका आइसोलेसनमा

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले निर्माणाधीन भैरहवा र पोखरा विमानस्थलमा काम गर्ने केही कामदार फर्किने क्रममा रहेको बताए । ‘उनीहरूलाई अन्तर्राष्ट्रिय नियमअनुसार क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेका छौं,’ आयोजनाले जानकारी गराएको कुरा गर्दै उनले भने, ‘उनीहरूलाई नजिकको स्वास्थ्य संस्थासँग समन्वय गरेर आफ्नै क्याम्पमा आइसोलेसनमा राख्ने र अघि बढ्ने आयोजनाले जानकारी गराएका छन् ।’ उनका अनुसार चीनबाट आउनेहरू उतैको क्वारेन्टाइनमा बसेर फर्किने गरेका छन् । ‘हामीसँग अरू केही जानकारी आउँदैन, उनीहरूले तयारी जानकारी मात्र गराएका हुन्,’ उनले भने । @ekantipur

Leave a Reply

Back to top button
Close