अमेरिकी राष्ट्रपति बन्न ब्लुमबर्गको लगानी- प्रतिदिन ५५ करोड रुपैयाँ

५५ अर्ब सकेर बाहिरिए राष्ट्रपतिको दौडबाट

अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा डेमोक्रयाटिक पार्टीबाट उम्मेदवार बन्न अहिले प्राइमरी चुनाव भइरहेको छ।

मंगलबार सुपर ट्युज्डेअन्तर्गत १४ वटा राज्यमा डेमोक्र्याटहरूको प्राइमरी चुनाव भयो। उक्त चुनावको नतिजासँगै बाँकी राज्यमा अब दुईजना आकांक्षीबीचमात्र प्रतिष्पर्धा हुने देखिएको छ।

डेमोक्र्याट पार्टीबाट सुरूमा दुई दर्जन बढीले राष्ट्रपतिमा दाबी गरेका थिए। सुपर ट्युज्डेसम्म आइपुग्दा चार जना आकांक्षी बाँकी थिए। तीमध्ये अब बर्नी स्यान्डर्स र पूर्वउपराष्ट्रपति जो बाइडनमात्र बाँकी राज्यमा लड्ने देखिएको छ। एलिजावेथ वारेन र मिडिया मुगल अर्बपति माइक ब्लुमबर्गले १४ मध्ये कुनै पनि राज्यमा जित हात पार्न सकेनन्।

सुपर ट्युज्डेलाई नै लक्षित गरी तीन महिनाअघिमात्रै राष्ट्रपतिको दौडमा होमिएका न्युयोर्क सहरका पूर्वमेयर ब्लुमबर्गले आफ्नो राष्ट्रपति हुने आकांक्षामा पूर्णविराम लगाएका छन्। बुधबार उनले अब अर्का उम्मेदवार बाइडनलाई समर्थन गर्ने निर्णय गरेका छन्।

७८ वर्षीय ब्लुमबर्ग राष्ट्रपतिको दौडबाट बाहिरिएपछि अब अमेरिकामा प्रतिदिन झन्डै ५५ करोड रुपैयाँ कम कारोबार हुनेछ। किनभने पछिल्ला तीन महिनामा उनले आफ्नो अभियानका लागि ५५ अर्ब रुपैयाँ खर्च गरेका छन्।

जनवरी र फेब्रुअरी महिनामा त उनको दैनिक ७० लाख डलर खर्च हुन्थ्यो।

अमेरिकामा राष्ट्रपतिको चुनाव उठ्नेले चन्दादाताहरूसँग पैसा उठाउँछन्। उक्त पैसाबाट आफ्नो सचिवालय बनाउँछन्, रेडियो, टेलिभिजन, अनलाइनलगायत स्थानमा विज्ञापन दिन्छन्। पोष्टर, प्लेकार्ड अन्य प्रचार सामग्री बनाउँछन्। त्यसैले कुनै उम्मेदवारले प्रभावकारी अभियान चलाउन उसलाई पत्याएर सहयोग गर्नेहरू पनि उत्तिकै हुनु पर्छ।

अर्बपति ब्लुमबर्गलाई लाख, करोड डलरको त के हिसाब हुन्थ्यो र! उनले कसैसँगै चन्दा मागेनन्, सहयोगको अपिल गरेनन्। सुरूमा हुने साना राज्यको प्राइमरीमा त भाग नै लिएनन्।

उनको लक्ष्य नै सुपर ट्युज्डे थियो। राष्ट्रपति उम्मेदवार बन्दा उनले आफूले ट्रम्पलाई पहिला पनि हराएका कसरी हराउने भन्ने ज्ञान भएको दाबी गरेका थिए।

त्यसका लागि उनले अमेरिकाका ४३ राज्यमा अभियान चलाएका थिए। दुई हजार ४ सयभन्दा बढी कर्मचारी राखेका थिए।

यत्रो पैसा र लगानी खर्च गरेका ब्लुमबर्गले अमेरिकन सोमाओमा मात्र जित हात पारेका छन्। प्रशान्त महासागरमा पर्ने उक्त अमेरिकी भूभागबाट जम्मा ११ जना डेलिगेट्स सुपर प्राइमरीमा आउँछन्। त्यसमध्ये ब्लुमबर्गले ४ जना डेलिगेट्स पाएका छन्।

५५ अर्ब खर्चेर जम्मा ४ जना डेलिगेट्स जितेपछि अहिले कतिपयले ब्लुमबर्गलाई कहाँ लगानी गर्नुपर्छ थाहा नभएको भन्दै व्यंग्य गरेका छन्। @setopati

Leave a Reply

Back to top button
Close
%d bloggers like this: