विश्‍वभर आज : उत्तर कोरियाले फेरि गर्‍यो आक्रमण, तालिबानी बन्दीलाई रिहा नगर्ने अफगान सरकरको अडान

लादेनको हत्यामा सघाउने चिकित्सकले जेलमै गरे भोक हड्ताल


इस्लामाबाद : ओसामा बिन लादेनको खोजी र हत्याका लागि सिआईएलाई सहयोग गरेका चिकित्सकले पाकिस्तानी जेलमा भोक हड्ताल सुरु गरेका छन् । शकिल अफ्रिदीका परिवारका सदस्य र कानुन व्यवसायीहरुका अनुसार सोमबार उनले जेलभित्रै भोक हड्ताल सुरु गरेका हुन् ।

२०११ मा उनको नक्कली खोप कार्यक्रममार्फत अमेरिकी एजेन्टको खोजी र अलकायदाका नेताको हत्या गर्न सम्भव भएको थियो । ‘गैरन्यायीक र अमानवीय व्यवहारविरुद्धको आन्दोलन हो यो,’ शकिलका भाइ जमिल अफ्रिदीले दाजुलाई उद्धृत गर्दै भनेका छन् ।

शकिल पाकिस्तानको पन्जाब प्रान्तस्थित कारागारमा राखिएका छन् । शकिल अफ्रिदी २०१२३ को मे महिनामा ३३ वर्षका लागि जेलमा पठाइएका हुन् । शकिलले भने आफूविरुद्धको अभियोग इन्कार गर्दैआएका छन् ।

इजरायलमा फेरि निर्वाचन


इजरायल : इजरायलमा आम निर्वाचनका लागि सोमबार मतदान भएको छ । सहमतिको प्रयास असफल भएपछि एक वर्षकै अवधिमा इजरायलमा तेस्रो पटक निर्वाचन भएको हो । गत वर्ष अप्रिल र सेप्टेम्बरमा भएका निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र बेन्नी गान्जको प्रतिपक्षी पार्टीले स्पष्ट बहुमत ल्याउन सकेका थिएनन् ।

साथै दुईमध्ये एकको पार्टीले अन्य साना दलसँग मिलेर सरकार गठन गर्नुपर्ने थियो । त्यो पनि सम्भव नभएपछि यस पटक निर्वाचन भएको हो । प्रधानमन्त्री नेतान्याहुमाथि भने भ्रष्टाचारको अभियोग लागेको अवस्थामा यस पटकको मतदानमा पनि नागरिकहरुले उत्साह देखाएका छैनन् । नेतान्याहुमाथिको मुद्दाको सुनुवाइ आगामी मार्च १७ गतेदेखि हुने बताइएको छ ।

उत्तर कोरियाले फेरि गर्‍यो हमला


सोल : दक्षिण कोरियाली सेनाका अनुसार उत्तर कोरियाले फेरि लामो दूरीका दुई क्षेप्यास्त्र प्रहार गरेको छ । तर उत्तर कोरियाली आक्रमणको यकिन भइसकेको छैन । उत्तर कोरियाले मिसाइल हमला गरेको केही हप्तामै क्षेप्यास्त्र प्रहार गरेको हो ।

२ सय ४० किलोमिटर टाढाको लागि उक्त क्षेप्यास्त्र प्रहार गरेको हुनसक्ने बताइएको छ । उत्तर कोरियाले पछिल्लो समय श्रृंखलावद्ध रुपमा मिसाइल आक्रमण गर्दैआएको छ । गत वर्षको नोभेम्बरमा मात्रै श्रृंखलावद्ध रुपमा ब्यालेस्टिक मिसाइल आक्रमण गरेको थियो । पछिल्लो आक्रमण जापानको हिरोसिमामा विस्फोट गरिएको बमभन्दा १६ गुणा ठूलो रहेको बताइएको छ ।

तालिबान बन्दीलाई रिहा नगर्ने अडान


काबुल : अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले हजारौं तालिबानी युद्धबन्दीलाई रिहा गर्ने निर्णय अफगान सरकारलाई अस्वीकार्य रहेको बताएका छन्। उनले सातदिने आंशिक युद्धविराम भने जारी रहने स्पष्ट पारेका छन्।

शनिवार सम्पन्न अमेरिका–तालिबानबीच सम्पन्न सम्झौताको प्रमुख मागमा तालिबानी बन्दीलाई छोड्ने उल्लेख छ। सम्झौतामा मुख्य रूपमा अमेरिकी समेत सबै विदेशी सैनिक १४ महिनाभित्र स्वदेश फर्किने उल्लेख छ। यसको बदलामा तालिवानले धेरै प्रतिज्ञाल पूरा गर्नुपर्नेछ भने अझ विस्तृत शान्ति सम्झौताका लागि अफगानिस्तानसँग वार्ता गर्नुपर्नेछ।

‘पूर्ण युद्धविरामको अवस्था सिर्जना गर्न हिंसामा कमी आउनुपर्नेछ’, काबुलमा आयोजित पत्रकार सम्मेलनमा घानीले भने ‘जनरल स्कट मिलरले तालिवानलाई यही गर्न सल्लाह दिनु भएको छ। यो अवस्थाले निरन्तरता पाउने अपेक्षा गरिएको छ।’ अफगानिस्तानमा तैनाथ विदेशी सेनाका संयोजक अमेरिकी कमान्डर मिलर रहेका छन्।

शान्तिको मार्गमा गतिरोध ल्याउन सक्ने बुँदातर्फ ध्यानाकर्षण गर्दै घानीले सम्झौताका शर्तहरू निकै विवादस्पद रहेको बताए। सम्झौताको एउटा धारामा तालिबानले बन्धक बनाएका १ हजार सरकारी सैनिक र सरकारी कारागारमा थुनिएका करिब ५ हजार तालिबानी लडाकुलाई रिहा गर्नुपर्ने उल्लेख छ।

पाँच हजार तालिबानी बन्दीलाई रिहा गर्ने प्रतिबद्धतामा अहिल्यै सहमत हुन नसकिने घानीको भनाइ छ। ‘यो अफगानिस्तानका जनताको अधिकार र आत्मनिर्णय हो। यस विषयलाई अन्तर–अफगान वार्ताको समयमा एक एजेन्डा बनाउनु पथ्र्यो र वार्तामा यसलाई पूर्वशर्तका रूपमा लिन सकिन्न।’

उनले कुनै पनि बन्दी रिहाइ गर्ने कुरा अमेरिकी अधिकारको विषय नभई अफगान सरकारको अधिकार क्षेत्रभित्रको कुरा भएको स्पष्ट पारे। राष्ट्रपति घानीले तालिबान र अफगान सरकारबीच हुने वार्तातर्फ संकेत गर्दै थिए। यो वार्ता पनि अमेरिका–तालिबानबीचको सम्झौताको एक हिस्साको रूपमा स्वीकार गरिएको छ। तालिबान लडाकुले अहिलेसम्म घानीको प्रशासनसँग वार्ता गर्न अस्वीकार गरिरहेका थिए। उनीहरूले अफगान सरकारलाई अमेरिकी कठपुतली शासन भन्दै आएका थिए।

राष्ट्रपति घानीको बन्दी रिहाइसम्बन्धी प्रश्नले आगामी दिन निकै कठिन हुने संकेत गरेका छन्। महिनौं ढिलाइ गरेर गत साता घोषणा गरिएको घानीको राष्ट्रपति पदमा पुनः विजयलाई अमेरिकाले अझै मान्यता दिएको छैन भने मुख्य प्रतिस्पर्धी अब्दुल्ला अब्दुल्लाले पनि चुनावमा धाँधली भएको आरोप लगाउँदै घानीलाई अस्वीकार गर्ने यसअघि नै घोषणा गरिसकेका छन्।

यद्यपि सम्झौताको संयुक्त राष्ट्रसंघका महासचिव एन्तोनियो गुतेरेस, नेटोका महासचिव जेन्स स्टोलटनवर्ग र बेलायती रक्षा मन्त्री बेन वालेसलगायतले स्वागत गरेका छन्।

ज्याकी च्यानलाई पनि कोरोना भाइरसको संक्रमण भएको हल्ला चलेपछि…


बेइजिङ : विश्वचर्चित चिनियाँ कलाकार ज्याकी च्यान कोरोना भाइरसबाट संक्रमित भएको खबर सामाजिक सञ्जालमा भाइरल बनेपछि च्यानले आफू कोरोना संक्रमित नभएको स्पष्ट गरेका छन् ।

उनका समर्थक तथा शुभचिन्तकहरुले सोमबार छोटो समयमा नै उनी संक्रमित भएको खबर सामाजिक सञ्जालमा भाइरल बनाएका थिए । साथै उनीहरुले चिन्ता व्यक्त गरेका थिए । च्यानले भने समाजिक सञ्जालमा फैलिएको अफवाहको पछि नलाग्न आफ्ना फ्यानहरुलाई आग्रह गरेका छन् ।

उनले भनेका छन् ‘मेरो सबै फ्यानलाई म प्रति देखाएको मायाको लागि धन्यावाद ज्ञापन गर्दछु। म स्वस्थ छु र मलाई कुनै क्वारेन्टाइनमा पनि राखिएको छैन् ।’ ‘विश्वका मेरा फ्यानहरुले मेरो स्वास्थ्य अवस्थाबारे बुझ्न चाहेका छन् । उनले भनेका छन, ‘म सुरक्षित छु, तपाईहरु सबै सुरक्षित हुनुहुन्छ भन्ने आशा राखेको छु ।’

६५ वर्षिय मार्शल कलाकार च्यान हङकङमा जन्मेका हुन्। जँहा कोरोना भाइरसकै कारण १ को मृत्यु र ९० जना संक्रमित भएको पुष्टि भएको छ । ‘कोरोना भाइरसलाई जित्न विज्ञान र प्रविधि महत्वपूर्ण छ । र मलाई विश्वास छ कि धेरै मानिसहरुले यही सोच्छन् । आशा छ कि छिट्टै भाइरसबाट बच्ने औषधि पत्ता लाग्नेछ । कुनै पनि व्यक्ति वा संस्थाले कोरोना भाइरसको औषधि बनाउँछ भने म उनलाई १ मिलियन युआन सहित धन्यावाद दिन चाहन्छु,’ उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् ।

भाइरसका संक्रमणका कारण विश्वभरी मृत्यु हुनेको संख्या ३ हजार ४८ पुगेको छ । विश्वभरी झन्डै ९० हजारमा संक्रमण भएको पुष्टि भएको छ । @anpurnapost

Leave a Reply

Back to top button
Close
%d bloggers like this: