कोरोना प्रभाव : अन्तर्राष्ट्रिय आवागमनमा कडाइ, जरुरी कामबाहेक विदेश नजान आग्रह

अतिप्रभावित ५ देशका नागरिकलाई अनअराइभल भिसामा प्रतिबन्ध

फाल्गुन २०, २०७६ काठमाडौं — विश्वभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमण र सन्त्रास बढेसँगै नेपालले पनि अन्तर्राष्ट्रिय आवागमनमा कडाइ गरेको छ । सरकारले सोमबार ‘ट्राभल एड्भाइजरी’ जारी गर्दै अत्यन्तै जरुरी कामबाहेक विदेश यात्रा नगर्न भनेको छ । कोरोना प्रभावित ५ देशका नागरिकलाई ‘अनअराइभल भिसा’ सुविधामा अस्थायी प्रतिबन्ध लगाएको छ ।कोराना प्रभावित देशहरूमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीका लागि वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) दिन पनि रोकिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुका आफन्तलाई स्वागत तथा बिदाइमा कडाइ गरिनुका साथै स्थलमार्गबाट नेपाल भित्रिनेहरूलाई पनि अनिवार्य स्वास्थ्य परीक्षण गर्न भनिएको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मुलुकमा अन्तर्राष्ट्रिय सभा/सम्मेलन गर्न पनि केही समयका लागि स्थगित गरिएको जानकारी गराए । ‘निजी र सामाजिक क्षेत्रलाई पनि यस्ता खाले कार्यक्रम नगर्न आग्रह गरेका छौं,’ उनले भने । विदेशस्थित आफ्ना नियोगलाई त्यहाँ रहेका
नेपालीसँग सम्पर्कमा रहन निर्देशन दिइसकेको उनले बताए । नेपालका ३० वटा दूतावास, तीनवटा संयुक्त राष्ट्रसंघको स्थायी नियोग र ६ वटा महावाणिज्य दूतावास छन् । स्थलमार्गबाट भारत भएर आउनेलाई अनिवार्य स्वास्थ्य परीक्षण गर्न भनेको र नाकामा पनि उच्च सतर्कता अपनाइएको उनले बताए ।

‘चीनबाट नेपालीहरूलाई उद्धार गरेर ल्यायौं । आवश्यक परे अन्य स्थानबाट पनि ल्याउन सरकार तयार छ,’ उनले भने । विदेशबाट नेपालीलाई उद्धार गरी ल्याइए भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनलाई निरन्तरता दिने र अन्य सरकारी तथा निजी अस्पतालमा पनि आइसोलेसन वार्डको व्यवस्था गर्न भनिएको मन्त्री ज्ञवालीले बताए ।
यस्तै, सरकारले चीन तथा उसको विशेष प्रशासनिक क्षेत्र हङकङ, दक्षिण कोरिया, जापान, इटाली र इरानका नागरिकलाई नेपालले दिँदै आएको अनअराइभल भिसामा आगामी मार्च १० देखि अर्को व्यवस्था नभएसम्मका लागि रोक लगाएको छ । अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलका अनुसार ती देशका नागरिकले नेपाल भ्रमण गर्नुपरे सम्बन्धित मुलुकमा रहेका नेपालका कूटनीतिक नियोगबाटै कोभिडमुक्त रहेको स्वास्थ्य प्रमाणित पत्रका साथ निवेदन दिनुपर्नेछ ।

निवेदनपछि आवश्यकता र औचित्यका आधारमा ती देशका नागरिकलाई भिसा प्रदान गर्न सकिने गरी प्रावधान लागू गर्न सोमबार नै परराष्ट्र मन्त्रालयले आफ्ना राजदूतावास तथा कूटनीतिक नियोगहरूमा परिपत्र गरेको छ । त्यसअघि अध्यागमन विभाग र परराष्ट्र मन्त्रालयका अधिकारीबीच सिंहदरबारमा छलफल भएको थियो । मन्त्रिपरिषद् बैठकले अध्यागमन कानुनमा केही कडाइ गर्न निर्देशन दिएको भोलिपल्टै गृह मन्त्रालयले पाँच देशका नागरिकलाई अनअराइभल भिसामा अस्थायी प्रतिबन्ध लगाएको हो । नेपालले इराकसहित १२ मुलुकका नागरिक र शरणार्थीलाई अनअराइभल भिसामा रोक लगाउँदै आएको छ ।
मन्त्री ज्ञवालीले नेपालले चैतमा गर्न लागिएको सगरमाथा संवाद पनि तत्कालका लागि स्थगित भएको बताए । यसबारे सगरमाथा संवाद सचिवालयको टोलीसँग आइतबार बृहत् छलफल गरेको उनले बताए । नोभेम्बर २६ मा हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–२६) अघि सगरमाथा संवाद गर्ने योजना रहेको पनि उनले बताए । उनका अनुसार संवादमा सहभागी हुन २० मुलुकका राजनीतिक नेतृत्व तथा ३० वटा अनुसन्धान संस्था, विश्वविद्यालय र यूएन एजेन्सीहरूका प्रतिनिधिले प्रतिबद्धतासमेत गरिसकेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पनि यात्रुका आफन्तजनलाई स्वागत तथा बिदाइमा कडाइ गरेको छ । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले सार्वजनिक सूचना जारी गर्दै हवाई यात्रुका आफन्तजन तथा अन्य सरोकारवालालाई विमानस्थलभित्र प्रवेश नगर्न भनेका छन् । यात्रुबाहेक अन्यलाई अत्यावश्यक अवस्थामा बाहेक प्रवेश नगर्न र मास्क अनिवार्य प्रयोग गर्न उनले आग्रह गरेका छन् ।
विमानस्थलमा रहेको टर्मिनल ड्युटी अफिस (टीडीओ) बाट वितरण गरिँदै आएको भिजिटर पास पनि अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको छ । आफन्तजनको बिदाइ वा स्वागतमा जाने अभिभावकले भिजिटर पास पाउँथे । टीडीओका अनुसार यस्तो पास लिने दैनिक तीन सय हाराहारी हुन्थे । यी पासबाहेक विमानस्थलबाट करिब १ सय २५ वटा सरकारी–निजी कार्यालय/संस्था/दूतावास, एयरलाइन्सलगायतले करिब पाँच हजारवटा फोटो भएको स्थायी पास लिएका छन् ।

कोरोना प्रभावका कारण अन्तर्राष्ट्रिय उडानतर्फ यात्रुको चाप अत्यधिक घटेको छ । महाप्रबन्धक केसीका अनुसार पहिले विमानस्थलबाट आउने र जाने अन्तर्राष्ट्रिय यात्रुको संख्या दैनिक २० हजार हाराहारीसम्म हुन्थ्यो, एक महिनायता दैनिक साढे सात हजारमा झरेको छ । हङकङबाट काठमाडौंका लागि उडान भर्दै आएको क्याथे ड्रागनले यात्रुको चापमा कमी आएपछि केही उडान कटौती गरेको छ । ‘यात्रुको चाप कम भएकाले मार्चमा चारवटा उडान कटौती गरेका छौं,’ क्याथेको काठमाडौंस्थित कार्यालयका एक कर्मचारीले भने ।
क्याथेले एयरबसको वाइडबडी ३३० विमानबाट सातामा पाँचवटा उडान गर्दै आएको छ ।

सातामा चारवटा उडान गर्दै आएको कोरियन एयरले पनि काठमाडौंबाट कोरिया जाने यात्रु घटेको जनाएको छ । कर्मचारीका अनुसार २ सय ६१ यात्रु क्षमता भएको बोइङ ७७७ विमानमा काठमाडौंबाट कोरिया जाने ४५/५० जना यात्रु छन् भने उताबाट घर फर्किने नेपालीको संख्या बढेको छ । चिनियाँ विमानबाट चीन जाने यात्रुको संख्या पनि ४०/५० जना रहेको छ । हाल तीनवटा चिनियाँ एयरलाइन्सले काठमाडौं उडान जारी राखेका छन् भने दुइटाले तत्कालका लागि उडान बन्द गरेका छन् ।

विश्व स्वास्थ्य संगठनले कोभिड–१९ बाट प्रभावितको सूचीमा राखेका कुनै पनि देशमा उच्च शिक्षा अध्ययनका जान चाहने विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) नपाउने भएका छन् । सरकारले एनओसी दिन रोक्ने निर्णय गरेको जानकारी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दिएको उच्च शिक्षा महाशाखाका सहसचिव रामशरण सापकोटाले बताए । गत आइतबारको मन्त्रिपरिषद् बैठकले तत्कालका लागि हङकङसहित चीन, दक्षिण कोरिया, जापान, इरान र इटाली पढ्न जाने अनुमतिमा रोक लगाएको थियो ।

सोमबार शिक्षा मन्त्रालयले विश्व स्वास्थ्य संगठनले कोभिड–१९ बाट प्रभावित र अति प्रभावितको सूचीमा राखेका कुनै पनि मुलुकमा पढ्न जान चाहने विद्यार्थीलाई एनओसी नदिने निर्णय गरेको हो । रोक लगाउने र फुकुवा गर्ने निर्णय उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको ‘कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति’ को जिम्मामा छ । संसारका ८० मुलुकमा नेपाली पढ्न जाने गरेका छन् भने वार्षिक ६० हजार जना हाराहारीले उच्च शिक्षा पढ्न जान सरकारबाट अनुमति लिने गरेका छन् । सबैभन्दा धेरै विद्यार्थी अध्ययनका लागि अस्ट्रेलिया जाने गरेको शिक्षा मन्त्रालयको तथ्यांक छ । @ekantipur

Leave a Reply

Back to top button
Close
%d bloggers like this: