कोरोना भाइरस : स्वास्थ्य संकटकाल घोषणामा अमेरिकी राजनीति !

के विश्व स्वास्थ्य संगठनमा अमेरिकी प्रभाव परेको हो ?

२१ माघ, काठमाडौं । चीनले सोमबार कोरोना भाइरसको विषयमा अमेरिकाले अनाश्यक डर, त्रास फैलाएको आरोप लगायो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिंगले अमेरिकाले रोग नियन्त्रणको प्रयासमा ठोस सहायता गर्नुको सट्टा स्थितिलाई भयावह बनाउने काम गरेको आरोप लगाइन् ।

‘अमेरिका पहिलो देश हो जसले चीनस्थित दूतावासका कर्मचारीलाई फिर्ता बोलाउने र चीन भ्रमण गरेर फर्केका यात्रुलाई आफ्नो देश प्रवेशमा रोक लगाउने काम गर्‍यो’ प्रवक्ता चुनयिंगले सञ्चार माध्यमहरूसँग भनेकी छन् ।

यो प्रतिक्रियाको निहितार्थ भने अमेरिकाको आफ्ना दुतावासका कर्मचारीलाई फिर्ता बोलाउने वा चीन पुगेका पर्यटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने निर्णयमा सीमित नरहेको विश्लेषकहरू बताउँछन् । विश्व स्वास्थ्य संगठनले ३० जनवरीमा नोवेल कोरोना भाइरसलाई लिएर ‘अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य संकट’ घोषणा गरेको असन्तुष्टि चिनियाँ विदेश मन्त्रालयमार्फत व्यक्त भएको उनीहरूको विश्लेषण छ ।

जेनेभामा बसेको अन्तराष्ट्रिय स्वास्थ्य नियमनको आपतकालीन समितिको बैठकले कोरोना भाइरसको प्रकोपलाई संकटकाल घोषणा गर्ने निर्णयप्रति चीन खुशी थिएन । त्यही बेखुशी प्रवक्ता चुनयिंगमार्फत प्रकट भएको जानकारहरू बताउँछन् ।

अष्ट्रेलिया र सिंगापुरले पनि चीन गएर फर्केका विदेशी नागरिकलाई आफ्नो देशमा आउन प्रतिबन्ध लगाइसकेको छ । न्युजिल्याण्ड, इजरायलले चीनको मुख्यभूमि तथा जापान र दक्षिण कोरियाले हुबेई प्रान्तमा यात्रा गरेका विदेशी नागरिकलाई आउन निषेध गरेको छ ।

फिनल्याण्ड, मिश्र, बेलायत, इटलीलगायतका देशले पनि चीनको मूख्यभूमिमा उडान भर्ने राष्ट्रिय ध्वाजाबाहक विमान कम्पनीको उडानमा रोक लगाएको छ । यसका बाबजुद प्रवक्ता चुनयिंगले अमेरिकाको मात्रै आलोचना गरेको देखिन्छ ।

दुई हप्तायता चीन भ्रमण गरेकालाई अमेरिका प्रवेश गर्न नदिने समाचारलाई चीनको सरकारी सञ्चार माध्यम ‘ग्लोबल टाइम्स’ ले आफ्नो ट्विटर हेन्डलमा सबैभन्दा माथि (पिन्ड) राखेको छ ।

विश्व स्वास्थ्य संगठनमा अमेरिकी प्रभाव ?

स्वास्थ्य संकटकाल घोषणामा गर्ने आफ्नै पद्दति र विधि नभएको होइन । नेपाल सहित १९६ मुलुक पक्ष राष्ट्र भएको इन्टरनेसनल हेल्थ रेगुलेसन (२००५) सन्धिको मापदण्ड अनुसार नै विश्व स्वास्थ्य संगठनले यस्तो घोषणा गर्ने गर्छ ।

खासगरी जनस्वास्थ्यमा ‘गम्भिर, अचानक, असमान्य र अप्रत्यासित’ अवस्था देखा परेर त्यसलाई अन्तराष्ट्रिय रुपमा सम्बोधन गर्नुपर्ने अवस्था आएपछि स्वास्थ्य संकटकाल घोषणा गरिन्छ । तर संयुक्त राष्ट्र संघको स्वास्थ्य निकायका रुपमा रहेको विश्व स्वास्थ्य संगठनमा शक्तिशाली देशको कम बेसी प्रभावलाई पूर्ण रुपमा नकार्न भने सकिँदैन ।

‘महाशक्ति’ राष्ट्र अमेरिका र ‘महाशक्ति’ राष्ट्र बन्ने दौडमा रहेको चीनबीच राजनीति, व्यापारलगायतका क्षेत्रमा देखिने गरिकै प्रतिस्पर्धा छ । त्यही प्रतिस्पर्धा संकटकाल घोषणा गर्ने बेलामा प्रतिविम्वित भएको कतिपयको बुझाई छ । हुन पनि संकटकाल घोषणा गर्दा कोरोना भाइरसका कारण २१३ जनाको मात्रै ज्यान गएको थियो । अहिले त्यो संख्या दोब्बर पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनी स्वास्थ्य संकटकाल घोषणा नितान्त स्वास्थ्यसँग जोडिएको विषय भए पनि गैर–स्वास्थ्य क्षेत्रको दबावलाई पूर्णरुपमा नकार्न नसकिने बताउँछन् । ‘जस्तै अमेरिकी जनताले नै संकटकाल घोषणा नगर्दा रोग फैलिन सक्छ भनेर दबाव दिएको हुन सक्छ’ उनी भन्छन् ।

अष्ट्रेलियाले आवश्यकताभन्दा बढी यो विषयमा चर्काउन खोजेको उनको बुझाई छ । डा. मरासिनी भन्छन्, ‘बिरामीलाई पो आउन दिन्न भन्ने हो त, चीनबाट निरोगीलाई पनि आउन दिन्न भन्नु त अनावश्यक कुरा भयो नि ।’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य गणेश शाह पनि स्वास्थ्य संकटकाल घोषणामा राजनीतिक प्रभावलाई नकार्न नसकिने बताउँछन् । उनी भन्छन्, ‘मुख्यरुपमा यो जनस्वास्थ्यसँगै जोडिएको कुरा हो तर, स्वास्थ्य संकटकाल घोषणामा धेरैथोरै राजनीतिक प्रभाव छैन भन्न चाहिँ सकिँदैन ।’

विगतमा स्वास्थ्य संकटकाल

विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयले ‘कोरोना भाइरसको निगरानी, इपिडिमियोलोजी, मोडलिङ, निदान, चिकित्सकीय स्याहार तथा उपचार तथा संक्रमणको पहिचान, व्यवस्थापन तथा नियन्त्रण गर्ने अन्य उपायहरू खोज्ने कार्यमा अनुसन्धानकर्ता र अन्य विज्ञहरूसँग विश्वव्यापी रुपमा सहकार्य गरिरहेको’ धारणा सार्वजनिक गरेको तीन दिनपछि नै संगठनले ‘अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य संकट’ घोषणा गर्‍यो ।

संगठनको यो छैटौं स्वास्थ्य संकटकाल घोषणा हो । सन् २००९ मा स्वाइन फ्लु (एचवानएनवान), २०१४ मा पोलियो र २०१४ मै इबोला, २०१६ मा जिका भाइरस र २०१८ मा किभु इबोलाका कारण स्वास्थ्य संकटकाल घोषणा गरिएको थियो । २०१८ को स्वास्थ्य संकटकाल घोषणापछि निकै विवादित पनि बन्यो ।

विगतको तुलनामा संकटकाल घोषणा गर्न विश्व संगठन हतारिएको एकथरी विज्ञहरूको बुझाइ छ । उनीहरूका अनुसार संक्रमितमा तीन प्रतिशत मृत्युदर भएको भाइरस लाग्दैनमा संकटकालकै तहमा पुग्नु आवश्यक थिएन ।

कोरोनाका कारण मृत्युहरू अधिकाँश रोग प्रतिरोधात्मक क्षमता कम भएका ज्येष्ठ नागरिक र बालबालिका छन् । यो घोषणाले कोरोना भाइरसको संक्रमण भएपछि मृत्यु नै हुँदोरहेछ भन्ने सन्देश गएको उनीहरूको भनाई छ ।

यद्यपि विश्व स्वास्थ्य संगठनले आफ्नो निर्णयको बचाउ गरेको छ । संकटकाल घोषणा रोग नियन्त्रणमा विश्वको ध्यान आकर्षित हुने र आवश्यक साधन स्रोत जु्ट्ने उसको निश्कर्ष छ ।

संक्रमण २७ देशमा, मृतक ४२७

चीनको बुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण मंगलबार बिहासनसम्म २० हजार ६२३ जनामा देखिएको छ । संक्रमित मध्ये चीनमा ४२५, फिलीपिन्स र हङकङमा एक जनाको ज्यान गएको छ । भाइरसबाट संक्रमित मध्ये ६५३ जना पूर्ण रुपमा निको भएर घर फर्किसकेका छन् ।

२७ देशमध्ये चीनमा सर्वाधिक २० हजार ४३८ संक्रमित देखिएका छन् । जापानमा २०, थाइल्याण्डमा १९, सिंगापुरमा १८, हङकङ र दक्षिण कोरियामा १५/१५, जर्मनी र अष्ट्रेलियमा १२/१२, अमेरिकामा ११, ताइवानमा १० जनामा यो भाइरसको संक्रमण देखिएको छ ।

यस्तै गरी, भियतनाम, मकाउ र मलेसियामा ८/८, फ्रान्समा ६, युएईमा ५, भारतमा ३ तथा फिलीपिन्स, इटली, युके र रसियामा २/२ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

नेपालसहित श्रीलंका, फिनल्याण्ड, स्वीडेन, कम्बोडिया र स्पेनमा १/१ जनामा मात्रै यसको संक्रमण देखिएको छ । @onlinekhabar

Leave a Reply

Back to top button
Close
%d bloggers like this: