गाउँगाउँमा सहरीकरण, सडकछेउ बसाइँ सर्ने बढे

२१ माघ २०७६ पाँचथर – केही वर्षअघिसम्म घरमा थोरै थोरै मात्र सुन्तला बेचेको अनुभव सुनाउने सिस्ने गाउँपालिका–४ लाम्बाकोटकी ममता बुढाले यो वर्ष फले जति सबै सुन्तला बेच्न पाएको सुनाइन्। रुकुमकोट बजारमा बिहानै सुन्तला बेच्न १२ जना बसेका थिए। एकै गाउँका उनीहरू हरेक बिहान सुन्तला बेच्न ल्याउने र दिउँसो फर्किने गरेको अनुभव सुनाउँथे। ‘सडक आएपछि बजार बढ्यो, यहाँ बोकेर ल्याउँदा बढी दाम पाउने भएकाले ल्याएका हौं,’ बुढाले भनिन्, ‘अहिले त तरकारी पनि बिक्छ।’ सँगै रहेकी हिरा बुढाले थपिन्, ‘पहिला कहाँ यसरी बिक्थ्यो र !’

उनीहरू झै पुष्पलाल (मध्यपहाडी) लोक मार्गको सडक बनेसँगै पहाडी जिल्लाका विभिन्न ग्रामीण ठाउँमा सहरीकरण हुँदै गरेको देख्न पाइन्छ। पुराना बजार सहरमा परिणत हुँदै गएका छन् भने नयाँनयाँ बजार, चोक निर्माण हुन थालेका छन्। गाउँका बासिन्दा सडकछेउ उक्लिन थालेका छन्। सडकले छोएका क्षेत्रमा नयाँ घर बनिरहेका देख्न पाइन्छ भने जग्गाको भाउ बढ्दै गएको छ। अचेल फलाउन सके बिक्छ भन्ने धारणा विभिन्न क्षेत्रका बासिन्दाको छ। लोकमार्गसँग जोडिएका ग्रामीण क्षेत्रमा बजार बन्ने क्रम बढेको छ। सरकारले मध्यपहाडी क्षेत्रका १० वटा सहरलाई नयाँ सहर बनाउने अवधारणा अघि सारी सानातिना काम गरिरहेको छ। तर, सरकारको प्राथमिकतामा नपरेका विभिन्न ठाउँहरूमा साना बजार स्थापना हुने तथा पुराना बजार विस्तार हुने क्रममा छन्।

तेह्रथुमको आठराई राजनीतिक, शैक्षिक हिसाबले चर्चित छ। तर, यो क्षेत्रले सडक पाउन मध्यपहाडी नै आउनुपर्छ। मध्यपहाडी लोकमार्गको सडक र तमोरमा पुल बनेपछि यस क्षेत्रको काया बदलिएको अनुभव यहाँका बासिन्दाको छ। अठराईको बरबोटेका नारायण इङ्नाम भन्छन्, ‘लोकमार्गले आठराईलाई जीवन दिएको छ। सुविधा थपिएको छ। विद्यालय र स्वास्थ्य केन्द्र नजिक भएका ठाउँमा बसाइँ सरेर आउने गरेका छन्। पहिले तराई र सहर बसाइँ सर्ने चलन थियो। अचेल गाँउमै सडकछेउ आउने क्रम बढेको छ। नयाँ घर थपिएका छन्।’

पहिले तराई र सहरतिर बसाइँ सर्ने चलन थियो। अहिले विद्यालय र स्वास्थ्य केन्द्र नजिक भएका ठाउँमा बसाइँ सरेर आउने क्रम बढेको छ।

इङ्नामले भने झैं सडक आसपासमा घर बनाउने क्रम बढेको छ। खाजा, खाना मिल्नेदेखि बस्नेसम्मका होटल, नयाँ सुविधासँगै विस्तार हुन थालेको छ। लोकमार्गलाई आधार बनाएर गाउँ जाने सडक सञ्जाल बनेका छन्। पुराना घर विस्तापित हुँदै गएका छन्। २० लाख रुपैयाँ खर्चेर इङ्नामले गाउँमै घर बनाए। उनी थप्छन्, ‘जिल्लाभर यस्तै देख्न पाउनु हुन्छ।’

पाँचथरको चिवा भन्ज्याङदेखि बैतडीको झुलाघाट जोड्ने १ हजार ८ सय ७९ किमि सडकखण्डमा पर्ने पहाडका ग्रामीण क्षेत्रमा चहलपहल बढेको देखिन्छ। यसअघि नै सडक बनेका भन्दा पनि लोकमार्गले नयाँ ट्याक बनाएका क्षेत्रमा चहलपल बनेको हो। गफिने चोक, चियापसल ठाउँठाउँमा भेटिन्छन्। पाँचथरको च्याङ्थापु, आयोम, थर्पु र माझिटारमा सहरीकरण बेढेको देखिन्छ। तेह्रथुमको चुवान डाँडामा नयाँ बजार बनेको छ। सङ्क्रान्तिको पुरानो बजारको काया बद्लिएको छ। पञ्चमी, हलिबजार, लसुने, जिरिखिम्ती, वसन्तपुरजस्ता बजारमा सुविधा थपेको देखिन्छ।

सडक आसपासापमा साना ठूला बजारहरू स्थापित हुने क्रममा छन्। सडकछेउमा पूर्वदेखि पश्चिमसम्म घर बनाउँदै गरेको देख्न पाइन्छ। सडकछेउमा घर बनाउने, व्यापार व्यवसाय गर्ने देख्न पाइन्छ। लोकमार्ग बनेर गाडी चल्न थालेपछि होटलहरू खुलिरहेका छन्। स्थानीय स्तरमा एक प्रकारको उत्साह देखिन्छ। जग्गाको मोल विस्तारै बढ्दै गएको पाइन्छ। ‘सडकछेउमा चहलपल बढेको छ। घर, होटललगायत व्यवसाय सञ्चालन भइरहेको देखिन्छ,’ मध्यपहाडी लोकमार्गको दैलेख आयोजना कार्यालयअन्तर्गतका इन्जिनियर तुलाराम शर्मा भन्छन्, ‘स्थानीय उत्पादन विक्री वितरणसँगै बजारीकरणमा पनि योगदान पुगेको देखिन्छ।’

शर्माको भनाइलाई अछाम विनायक–४ की मोतीकला शाहीको भनाइले पनि पुष्टि गर्छ। उनी भन्छिन्, ‘नेपालगञ्ज र काठमाडौंमा पाइने सामान गाउँमै पाइन्छ। गाउँमा सुविधा आएको छ। गाउँमै किन्न पाएपछि सुविधा हुने नै भो नि।’

भोजपुरका विभिन्न ग्रामीण क्षेत्रमा उत्पादन हुने कृषिउपजलगायत गाउँबाटै निकासी हुन्छ। सहरमा पाउने सुविधा गाउँमै आएको स्थानीय सुनाउँछन्। ‘गाउँमा फलेको कुरा बेच्न सजिलो भयो। बरु उत्पादन छैन। ढाकरमा नुन बोकेर ल्याउनुपर्ने कुरा गाडीले गाउँगाउँमा ल्याएको छ,’ भोजपुरको गुप्तेश्वरका टंक खड्का भन्छन्, ‘अब फलाउनेतर्फ ध्यान दिनुपर्ने अवस्था छ।’

स्थानीय तहका केन्द्रहरू मध्यपहाडी लोकमार्गकै आसपास बनेका छन्। नगरपालिका तथा गाउँपालिकाका केन्द्रले गर्दा चहलपहल बढेको देखिन्छ। सरकारले घोषणा गरेका मध्यपहाडीका १० नयाँ सहरमा स्थानीय तबरबाट उत्साह देखिन्छ। भोजपुरका तिवारी भन्ज्याङ, हिलेभन्ज्याङ, स्याङसेन, सिद्धेश्वर, बलौटे, चखेवा, खोटाङको होर्लुङ, नुन्थला, जयरामघाट, हलेसी, ओखलढुंगाको घुर्मी, सिन्धुलीको गोल्टार, खाङसानलगाय क्षेत्रमा बजारीकरण बढेको देखिन्छ। पुराना बजार विस्तारित छन्।

पुराना बजार आधुनिक हुँदै गएका छन्। नयाँ बजार पनि स्थापना भइरहेका छन्। सडकसँगै बिजुली, इन्टरनेटलगायत सुविधाका कारण गाउँमा रौनक आएको बताउँछन् डुल्लु नगरपालिका दैलेखका प्रमुख घनश्याम भण्डारी। अलैंची, अदुवा, आलु, गहुँ, गोलियाजस्ता स्थानीय उत्पादन विक्रिका लागि सुविधा भएको देखिन्छ। साना साना होटल बाटोमा भेटिन्छन्। बजार क्षेत्रमा भने सुविधासम्पन्न होटल रहेका छन्। पहाडबाट पूर्वमा तराईतिर र पश्चिम सहर क्षेत्रमा घर बनाउने चलन बढेको थियो। अचेल सडक आएपछि ग्रामीण क्षेत्रमा राम्रा घर बनिरहेका देखिन्छन्। सडक आएपछि होटल राम्रोसँग चल्न थालेको गोरखाको आरुघाटकी उमा श्रेष्ठले बताइन।

यसै क्रममा रामेछाप, बाग्लुङ, लमजुङ, जाजरकोट, दैलेख, अछामलगायत जिल्लाका ग्रामीण क्षेत्रमा सडक सुविधासँगै ग्रामीण बजारीकरण देखिन्छ। दैलेखको रावकोट, जम्मुकाट, लोहोरे खोला, चामुण्डा, दैलेख र जाजरकोटको सिमाना सिगौडी, रुकुमको लुकुम, रुकुमकोट, चौहरजहारीजस्ता ठाउँमा ग्रामीण बजारीकरण बढेको देखिन्छ। अछामको बेलखेत, खातीखाड, गौरीटार, फूलासैनमा सुविधा थपिँदा छन्। गाउँमै सामग्री आइपुग्छन्। बाग्लुङको बुर्तिवाङ, लिसी भलकोट, रिजला चोकलगाय क्षेत्रमा बजार विस्तार हुने क्रम देखिन्छ।

ठूला नदीमा पुल बनेकाले थप सजिलो भएको छ। कर्णाली नदीमा पुल बनेकाले अछाम, डोटीलगाय जिल्लामा निक्कै ठूलो राहत मिलेको छ। पुल नहुँदा अछामको सदरमकाम मंगलसेन अहिलेको बाटोभन्दा २ सय २० किलोमिटर घुमेर जानुपथ्र्यो। करिब २५ करोड रुपैयाँ खर्चिएर २ सय मिटर लामो पुल बनाइएको थियो। २०७३ सालमा अछामको बेलखेत र दैलेखकको साही गाउँ जोड्ने पुलका कारण सहजता थपिएको छ।

सुनकोसी नदीमा रामेछाप र सिन्धुली जोड्ने पुलले यस क्षेत्रमा निक्कै ठूलो राहत पुगेको देखिन्छ। रामेछापलाई संघीय राजधानीसँग जोड्न पनि यसको योगदान छ। तमोर नदीमा तेह्रथुम र पाँचथर जोड्न १ सय ७० मिटर लामो पुल बनी सञ्चालनमा छ। सो पुलका कारण तेह्रथुमको आठराई क्षेत्रका बासिन्दालाई ठूलो राहत पुगेको देखिन्छ।

संस्कृति र पर्यटनले गाँसिँदै
मध्यपहाडी लोकमार्गले पूर्व पश्चिमको भूभागलाई मात्र होइन यहाँको संस्कृतिलाई पनि जोड्छ। यो लोकमार्ग पर्यटकीय हिसाबले पनि महत्पूर्ण हुने देखिन्छ। यो लोकमार्गले प्राकृतिक सुन्दरता, धार्मिक महत्वका स्थल, परम्परागत सांस्कृतिक सम्पदा, पुरातात्विक महत्वका क्षेत्रहरू समेट्छ। लोकमार्गले छुने २६ वटै जिल्लामा महत्पूर्ण पर्यटकीय क्षेत्र रहेका छन्। मध्यपहाडी क्षेत्रमा विभिन्न जातजातिको बहुल बसोबास रहेको छ। योसँगै लिम्बु, राई, गुरुङ, मगर, खसलगायत जातजातिको सांस्कृतिक महत्वसमेत जोडिन्छ।

हिमाली क्षेत्रका लागि पनि यो रुट महत्पूर्ण रहन्छ। पाथिभरा, तिम्बुपोखरी, फाल्गुनन्द सक्र्रिट, गुराँसको राजधानी टिएमजे, भोजपुरको मुन्धुम ट्रेल, खोटाङको हेलेसीजस्ता चर्चित क्षेत्र जोडिन्छन्। सडक बनेपछि हलेसी आउनेको संख्यामा बढोत्तरी भएको हलेसी तुलाचुङ नगरपालिकाकी उपप्रमुख विमला राई बताउँछिन्। गोरखा, नुवाकोट, दैलेख पुरातात्विक हिसाबले पनि महत्पूर्ण छन्। नुवाकोट धार्मिक, सांस्कृतिक र ऐतिहासिक रूपमा महत्पूर्ण रहेको जिल्ला समन्वय समिति प्रमुख सन्तमान तामाङ बताउँछन्। यहाँको नुवाकोट दरबार निकै महत्पूर्ण मानिन्छ। एग्रो टुरिजमलाई समेत जोड दिइएको तामाङको भनाइ छ। नेपाल एकीकरणको विषयले गोरखा निकै महत्पूर्ण मानिन्छ। गोरखा दरबार, लिगलिग कोट, मनकामना, मनास्लु ट्रेल महत्पूर्ण छन्। रुकुमका सांस्कृतिक सम्पदा, परम्परागत घरदेखि हिमाली क्षेत्र, गुरिल्ला ट्रेललाई जोड्छ। दैलेख अथाह छ। २२ देवाल, भुइँबाट आगो बलिरहने पञ्चकोशी क्षेत्र, दुल्लु, बेलासपुर मन्दिर, कोट गडी, दुल्लुलगायत क्षेत्र महत्पूर्ण छन्। @nagriknws

Leave a Reply

Back to top button
Close
%d bloggers like this: