प्राकृतिक ताल सुक्दै, कृत्रिम बनाइँदै

काठमाडौँ, माघ १९ गते  । ‘सिमसार र जैविक विविधता’ नाराका साथ यस वर्षको सिमसार दिवस आइतबार विभिन्न कार्यक्रमसाथ मनाइँदैछ । सिमसार क्षेत्रको सही र उपयोगी व्यवस्थापन गर्दै जैविक विविधता र वन्यजन्तुको संरक्षणमा जोड दिन नेपालमा यो नारा तय गरिएको वन्यजन्तु संरक्षण तथा राष्ट्रिय निकुञ्ज विभागले जनाएको छ ।
सन् १९९७ देखि रामसार महासन्धिमा हस्ताक्षर भएको दिन २ फेब्रुअरीलाई स्मरण गर्दै सिमसारको महìव र मूल्यबारे जनचेतना अभिवृद्धि गर्ने लक्ष्यसहित विश्व सिमसार दिवस मनाउन सुरु गरिएको हो । सन् १९९८ देखि प्रत्येक वर्ष नयाँ नारा कोर्ने गरिएको छ । राष्ट्रिय सिमसार नीति २०१२, पाँचवर्षे राष्ट्रिय रामसार रणनीति २०१८ र सिमसार समितिको अग्रसरतामा नेपालमा सिमसार क्षेत्रको संरक्षणको प्रयास भइरहेको विभ(ागका महानिर्देशक गोपालप्रकाश भट्टराईले जानकारी दिनुभयो ।
रणनीतिअनुसार सरकारले सरोकारवाला संरक्षण समूहलाई सीधै बजेट दिएर संरक्षणका लागि प्रेरित गर्छ । सिमसारमा आउने परिवर्तन विश्वव्यापी जलवायु परिवर्तनको असरसँग जोडिएको उहाँ प्रस्ट्याउनुहुन्छ । महानिर्देशक भट्टराईले भन्नुभयो, “नेपाल पहाड र हिमाल धेरै भएको देश हो, माथिबाट पानी बगेपछि थेग्रिने क्रम बढी हुन्छ । यसले सिमसार क्षेत्र कमजोर बनाउँदै पानीको तह गहिराइमा पु¥याउँछ । सिमसार संरक्षण गर्दा प्रकृतिको विरुद्ध नगई अलिक फरक किसिमले व्यवस्थापन गर्न मात्र सकिने छ ।”
विश्वभर नै यो दिवसका अवसरमा विगतमा भए गरेका कार्यको समीक्षा गर्ने र भविष्यमा गरिने कार्यको खाका प्रस्तुत गरी सिमसारको महìव, आवश्यकता र उपयोगिताबारे जनचेतना अभिवृद्धि गरिने निकुञ्जका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले बताउनुभयो । सोहीअनुसार नेपालमा पनि सिमसार क्षेत्रमा भए गरेका कार्यलाई जनसमक्ष पु¥याउन विश्व सिमसार दिवसमा देशैभर विविध कार्यक्रम गरिने उहाँले जानकारी दिनुभयो ।

घट्दैछन् सिमसार क्षेत्र
नेपालमा सिमसार क्षेत्रका रूपमा रहेका ताल, तलैया, घोल, नदी, चिस्यानका क्षेत्रमा ह्रास आएको संरक्षणकर्र्मीहरू बताउँछन् । पर्सा राष्ट्रिय निकुञ्ज
देशका विभिन्न संरक्षण क्षेत्रमध्ये अत्यधिक सुक्खा क्षेत्रमा परिणत हुँदैछ । चुरे भावर क्षेत्रमा रहेको यो निकुञ्जको सिमसार क्षेत्र र पानीको स्रोत भनेको चुरे क्षेत्र नै हो तर यस क्षेत्रमा वन विनाशसँगै प्राकृतिक स्रोतको अत्यधिक दोहन हुँदा निकुञ्जमा हरेक वर्ष पानीको अभाव हुने गरेको छ ।
सिमसार क्षेत्र प्राकृतिक अवस्थामा रिचार्ज नहुँदा कृत्रिम पोखरीमा अन्यत्रबाट पानी बोकेर जम्मा गर्नुपर्ने अवस्था छ । निकुञ्ज प्रमुख अमिर महर्जनले भन्नुभयो, “भाँडामा बोकेर ल्याएको पानी कङ्क्रिटको पोखरीमा खन्याउनुपर्ने बाध्यता छ, वन र वन्यजन्तुका लागि पानी छ कि छैन भनेर अनुगमन गरेर तयार बस्नुपर्छ, गत वर्ष बनाएकासहित ८० वटा पोखरी यसपाला अझै व्यवस्थापन गरेर सिमसार क्षेत्रको विकल्प खोजिँदैछ ।”
सुक्खा मौसममा पर्सा मात्र हैन, बाँके, शुक्लाफाँटालगायत सिमसार क्षेत्रमा पनि पानीको तह घट्दा कृत्रिम पोखरी बनाउनुपर्ने बाध्यता बढेको छ । सबैभन्दा राम्रो मानिने चितवन राष्ट्रिय निकुञ्जमा समेत पछिल्लो समय धेरै कृत्रिम ताल बनिसके । सिमसार क्षेत्रमा आएको ह्रासकै कारण एकसिङे गैँडाका लागि घोलको अभाव हुने गरेको छ ।
यसपाला पानी परिरहेकाले अहिलेसम्म समस्या देखिएको छैन । “तर निकुञ्जका तालतलैया सुकेको खण्डमा कृत्रिम पोखरीमार्फत पानी सञ्चार गर्न तयारी अवस्थामा छाँै,” चितवन निकुञ्जका सहायक वार्डेन वेदबहादुर खड्काले भन्नुभयो । उहाँका अनुसार रामसार सूचीमा सूचीकृत बीसहजारी तालको संरक्षण गर्दै बरण्डाभार क्षेत्रका वन्यजन्तु र जैविक विविधताको संरक्षण गर्न निकुञ्जले प्रयास गरिरहेको छ । निकुञ्जका ५८ वटाभन्दा बढी कृत्रिम पोखरी सिमसारकै विकल्पमा स्थापित गरिएका हुन् ।

जैविक विविधतामा असर
सिमसार क्षेत्रमा बढ्दो ह्रासकै कारण चराको बासस्थानमा गहिरो असर पर्दै गएको चराविद् डा. हेमसागर बराल बताउनुहुन्छ । “नेपालका स्थायी र बाहिरबाट बसाइ सरी आउने जलपक्षीको सङ्ख्या सिमसार विनाशकै कारण घट्दैछ, विकास र विनाशबीचको असन्तुलनले सिमसार नष्ट हुँदा प्रकृतिमा समेत असन्तुलन पैदा हुनसक्छ,” बरालले भन्नुभयो । उहाँका अनुसार काठमाडौँकै टौदह क्षेत्रमा सुक्खा बन्दरगाह निर्माण हुँदा सिमसार क्षेत्रमा पानीको अभावसँगै प्रदूषण बढ्दैछ ।
सुनसरीमा उद्योगधन्दा, एयरपोर्ट र मानव अतिक्रमणले कोसी टप्पु वन्यजन्तु आरक्षको सिमसार क्षेत्र खुम्चँदै गर्दा चराको स्वर्गको आकार साँघुरिँदैछ । जगदीशपुर तालमा हरेक वर्ष २५ हजार बढी जलपक्षी विचरण गर्न आउँथे तर यसपाला १७ हजारको हाराहारी मात्र भेटिनुले पनि सिमसार क्षेत्रमा परेको असर देखाउने बराल बताउनुहुन्छ ।
बाघ, गैँडा, हात्ती, अर्नाजस्ता ठूला जनावरका लागि चाहिने पानीको पूर्ति गर्न निरन्तर चिस्यान र पानी कायम रहने सिमसार संरक्षण जरुरी रहेको गैँडाविज्ञ शान्तराज ज्ञवाली बताउनुहुन्छ । गर्मीमा खेल्ने घोल र जाडोमा पिउने पानीको सङ्कट हुँदा वन्यजन्तु बस्ती पस्ने खतरा बढेको उहाँ औँल्याउनुहुन्छ । पानीको अवस्थिति र हरियालीकै आधारमा आफ्नो बासस्थान बनाउने पाटेबाघले समेत सिमसार क्षेत्रमा आएको सुक्खापनका कारण विचरण गर्ने स्थल परिवर्तन गर्ने गरेको बाघविज्ञ डा. चिरञ्जीवी पोखरेलले जानकारी दिनुभयो ।

के हो सिमसार ?
सिमसार भन्नाले पानीले भिजेको वा पानी भएको जमिनको भाग हो । यसअन्तर्गत पानीको मुहान, दलदल, धानबाली हुने पानी जमेको क्षेत्र सिमसार क्षेत्रमा पर्छ । त्यस्तै भूमिगत जलस्रोत वा वर्षाका कारण पानीको परिमाण रहने वा प्राकृतिक वा मानवनिर्मित स्थायी वा अस्थायी, जमेको वा बगेको, स्वच्छ अथवा नुनिलो पानी भएको धापिलो वा दलदले जमिन, नदीबाट प्रभावित भूमि, ताल, पोखरी, जलाशय र कृषिभूमि समेतलाई सिमसार भनिन्छ ।
रामसार महासन्धिको परिभाषाअनुसार सिमसार भन्नाले त्यस्तो घोल, दलदल वा पानीको क्षेत्र हो, जहाँ प्राकृतिक रूपले वा कृत्रिम तरिकाले स्थायी वा अस्थायी रूपमा, जमेको वा बगेको, स्वच्छ वा नुनिलो पानीले ढाकिएको जमिन भन्ने बुझिन्छ । साथै लघु ज्वारभाटाले ढाक्ने समुद्रको छ मिटरसम्मको गहिरो भागसम्मलाई पनि जनाउँछ । निकुञ्ज विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले भन्नुभयो, “सिमसार एक गतिशील, विविधतायुक्त र उर्बर पारिस्थितिकीय प्रणाली हो, जैविक, सामाजिक, पर्यावरणीय र आर्थिक दृष्टिकोणले मूल्यवान हुन्छ ।”

नेपालमा सिमसार
निकुञ्ज विभागका अनुसार नेपालको करिब पाँच प्रतिशत भू–भाग सिमसार क्षेत्रले ओगटेको छ । नेपालका तराई, पहाड र हिमाली क्षेत्रमा अन्तर्राष्ट्रिय महìव बोकेका सिमसार क्षेत्र छन् । नेपाल रामसार महासन्धिको पक्षराष्ट्र भएपश्चात् हालसम्म कोसी टप्पु वन्यजन्तु आरक्ष, जगदीशपुर जलाशय, बीसहजारी ताल, घोडाघोडी ताल, रारा ताल, गोसाइँकुण्ड ताल, फोक्सुन्डो ताल, गोकियो ताल, माईपोखरी र पोखराका नौवटा तालको समूह गरी नेपालमा रामसारमा सूचीकृत सिमसार क्षेत्रको सङ्ख्या १० पुगेका छ ।
यी सिमसार क्षेत्रले ओगटेको कुल क्षेत्रफल ६० हजार ५६१ हेक्टर छ । सिमसार क्षेत्र संरक्षणको महìव जैविक एवं पर्यावरणीय संरक्षणको दृष्टिकोणले मात्र नभई स्थानीय बासिन्दाको आर्थिक, सामाजिक तथा सांस्कृतिक दृष्टिकोणले पनि महìवपूर्ण क्षेत्रका रूपमा रहेको विभागका महानिर्देशक गोपालप्रकाश भट्टराई बताउनुहुन्छ । @gorkhapatraonline

Leave a Reply

Back to top button
Close
%d bloggers like this: