नोवल कोरोना भाइरस प्रकोप : चीनतिरै लगिए मास्क

काठमाडौँ — चीनको वुहान सहरबाट फैलिएको नोवल कोरोना भाइरसको संक्रमणबाट बच्न नेपाली बजारमा समेत ‘एयर–फिल्टर मास्क’ को माग अत्यधिक बढेको छ । काठमाडौंका मेडिकल तथा सर्जिकल स्टोरमा मास्क किन्ने चिनियाँ नागरिकको भीड बढ्दो छ । सबैभन्दा सुरक्षित ‘एन–९५ मास्क’ को भने अभाव देखिएको छ ।

नेपालमा चीनबाट आयात हुने मास्क अहिले भाइरस संक्रमणबाट बच्न चिनियाँ नागरिकले नै किनेर आफ्नो देश लगिरहेका छन् । यसको फाइदा प्रत्यक्ष बिक्रेताभन्दा बढी एजेन्टहरूले लिइरहेको ठमेलका रेस्टुराँ व्यवसायी बुद्धसिंह गुरुङले बताए । ‘एजेन्टले हाम्रो बजारमा स्टक नै सकिने गरी मास्क उठाइरहेका छन्,’ उनले भने, ‘केहीले भने स्थानीय फार्मेसीका लागि मास्क लुकाएर राखेका छन् ।’ उनले दुई सातायता बजारमा मास्कको माग अचाक्लीबढेको बताए ।

चिनियाँहरूले एन–९५ मास्क खोज्ने गरेका छन् । बिक्रेताहरूका अनुसार एन–९५ मास्क खोज्दै आउने चिनियाँहरूले साधारण पेपर मास्क मात्र छ भन्दा लाँदैनन् । कतिपय चिनियाँले भने साधारण मास्क पनि किन्ने गरेका छन् । त्रिपुरेश्वर, न्यु हिमालयन सर्जिकल हाउसका सञ्चालक युवराज बेलबासेले एन–९५ मास्कको सबै स्टक सकिएको बताए । ‘१० दिनमा २० कार्टुन नर्मल मास्क बेचेँ,’ उनले भने ।

बेलबासेको सर्जिकल हाउसमा दिनमा सयदेखि डेढ सय हाराहारी चिनियाँ नागरिक मास्क सोध्दै आउने गरेका रहेछन् । उनले आफूसँग १० हजार पिस साधारण मास्क स्टकमा रहे पनि बिक्री गर्न नचाहेको बताए । ‘यहाँकै फार्मेसीका लागि यति स्टक चाहिन्छ,’ उनले भने, ‘अहिले फार्मेसीमा पनि उत्तिकै माग बढेको छ ।’ यसरी मास्कको हाहाकार स्थिति आउला भन्ने अनुमान कसैले गरेको थिएन ।

‘चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि हाम्रो बजारमा पनि अचानक मास्कको संकट देखिएको छ,’ ठमेलकै पर्यटन व्यवसायी राम सिलवाल भन्छन्, ‘भएकै साधारण मास्कको समेत मूल्य बढाएर बेच्न थालिएको छ ।’

न्यु हिमालयनका बेलबासेले नेपालमा चीनमा जस्तै कुनै प्रकारको संक्रमण फैलिए बच्न के गर्ने भन्नेबारे सामान्य सोचाइसमेत कुनै तहबाट नराखिएको टिप्पणी गरे । ‘व्यापारीले तस्करीको शैलीमा मास्क बिक्री गरिरहेका छन् । यसलाई नियन्त्रण गर्न भन्सारबाट समेत रोक्नुपर्ने देखिएको छ,’ उनले भने ।

नेपालमा चीन, सिंगापुर र ताइवानबाट एन–९५ मास्क आयात गरिन्छ । चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि आयातमा प्रतिबन्ध छ । केमिकल एन्ड मेडिकल एसोसिएसन नेपालका अध्यक्ष सुरेश घिमिरेका अनुसार पछिल्ला १३ दिनमा एन–९५ मास्क एक लाख पिस हाराहारी बिक्री भएको छ । साधारण मास्क भने ५० लाख पिस बजारबाट उठिसकेको छ । ‘पहिले महिनामा एन–९५ मास्क १० हजार र साधारण मास्क दुई लाखदेखि अढाई लाख पिस बिक्री हुन्थ्यो,’ उनले भने । नेपालमा ८ सय हाराहारी सर्जिकल व्यवसायी छन् । होलसेलमा एन–९५ मास्कको मूल्य गुणस्तरअनुसार २ सयदेखि ८ सय रुपैयाँ पर्छ । साधारण मास्कको भने १ रुपैयाँ ८० पैसा पर्छ ।

बाहिरका फार्मेसीले भने यही नर्मल मास्कलाई प्रतिपिस १० रुपैयाँसम्म बिक्री गरिरहेका छन् । भक्तपुर, लोकन्थलीस्थित जीएच मेडिहेल्थ कन्सर्नका सञ्चालक होमप्रसाद गौतमले पछिल्ला १३ दिनमा नर्मल मास्क १ लाख ५० हजार पिस र एन–९५ मास्क ८ सय ५० पिस बेचिसकेको जानकारी दिए । ‘एन–९५ मास्क टीबीको अन्तिम अवस्थाका तथा भाइरसबाट संक्रमित बिरामी र संवेदनशील ल्याबमा मात्र प्रयोग हुन्छ । त्यसैले नेपालमा थोरै परिमाणमा मात्र एन–९५ मास्क आयात हुन्छ,’ उनले भने । उनका अनुसार कोरोना भाइरसको जोखिम बढेपछि यहाँका अस्पतालले पनि धेरै परिमाणमा एन–९५ मास्क माग गरिरहेका छन् । ‘तर उपलब्ध गराउन सकिँदैन,’ गौतमले भने । उनले गौतमले एन–९५ मास्क अहिले कुनै पनि सर्जिकल स्टोरमा नपाइने बताए । ‘भोलि यहाँ संक्रमण फैलियो भने बच्न मास्क छैन,’ उनले भने, ‘३ वटा स्वदेशी उद्योगले दिनमा ४ हजार पिससम्म नर्मल मास्क उत्पादन गरिरहेका छन् ।’

चिनियाँ नागरिकले बजारमा जति भेटिन्छ, त्यति नै नर्मल मास्क भए पनि उठाइरहेको गौतमको भनाइ छ । त्रिपुरेश्वरस्थित बीआर सर्जिकलका पुष्कर पनेरुले ३ दिनमा ५० कार्टुन नर्मल मास्क बेचेको सुनाए । एक कार्टुनमा २ हजार पिस हुन्छ । व्यापारको कुरा भएकाले किन आउनेलाई बेच्नै पर्ने पनेरुले बताए । ‘अब सरकारले नै यसमा व्यवस्थापन गर्नुपर्छ,’ उनले भने, ‘आफूलाई जति चाहिन्छ, त्यति राखेर बाहिर बिक्री गर्नुपर्छ ।’

चीन नै निर्यात भएर नेपालमा मास्क अभाव हुने अवस्था आएको एसोसिएसन अध्यक्ष घिमिरे बताउँछन् । भारतले नेपालमा मास्क निर्यात प्रतिबन्ध गरेको छ । ‘मास्कको माग अचानक वृद्धि भएको हो । संघका सबैलाई बिक्री नगर्न सचेत गराएका छौं,’ उनले भने, ‘अब बाहिर गइसकेको फिर्ता आउँदैन ।’ एन–९५ मास्क सरकारी अस्पतालमा चाहिने भएकाले तयारी अवस्थामा बस्न स्वास्थ्य मन्त्रालयलाई सुझाव दिइसकेको घिमिरेले बताए । भन्सार विभागका सूचना अधिकारी शिशिर ढुंगानाले भने मास्कका विषयमा केही जानकारी नभएको बताए । ‘मास्क निकासी गर्न मिल्दैन भनेर लेखी आएको छैन,’ उनले भने, ‘विभागलाई कुनै निर्देशन पनि छैन ।’ @ekantipur

Leave a Reply

Back to top button
Close
%d bloggers like this: