अन्ततः तोडियो ४७ वर्षको ईयू-बेलायत सम्बन्ध

यस्ता छन् ब्रिटेन ईयूबाट अलग हुनुका कारण

१८ माघ, काठमाडौं । बेलायत अर्थात् ब्रिटेन युरोपेली संघ (ईयू)बाट औपचारिक रुपमा अलग भएको छ । नेपाली समयअनुसार शनिबार बिहान करिब पौने पाँच बजे ब्रिटेनले ईयूसँगको ४७ वर्ष पुरानो सदस्यता अन्त्य गरेको हो ।

करिब तीन वर्ष अगाडि गरिएको जनमतसंग्रहमा ब्रिटेनका जनताले ब्रेक्जिटको पक्षमा मत दिएका थिए । ब्रिटेन ईयूबाट ‘एक्जिट’ हुने अर्थात् बाहिरिने प्रक्रियालाई ‘ब्रेक्जिट’ भनिएको हो ।

शनिबार बिहान ब्रिटेन र ईयूबीचको करिब आधा शताब्दी लामो सम्बन्ध औपचारिक रुपमा समाप्त भएपछि ब्रसेल्सबाट युरोपेली युनियनको झण्डा हटाइएको छ । यद्यपि ब्रेक्जिटको पक्ष र विपक्षमा र्‍यालीहरु निस्किएको बीबीसीले जनाएको छ ।

११ महिनासम्म संक्रमणकाल रहने भएकाले परिवर्तन भने खासै देखिने छैन । ब्रिटेनले सदस्यता त्यागे पनि ईयूका धेरैजसो कानुनहरू कायमै रहने छन् । आगामी डिसेम्बर महिनासम्म मानिसहरू स्वतन्त्र रूपमा आवतजावत गर्न सक्ने छन् भने त्यति बेलासम्म स्थायी रूपमा खुला व्यापार सम्झौता ईयूसँग गरिसक्ने लक्ष्य राखिएको छ ।

प्रधानमन्त्री बोरिस जोनसनले ब्रिटेनलाई ईयूबाट अलग गराउन सफल भएपछि नयाँ बिहानीको सुरुवात भएको प्रतिक्रिया दिएका छन् । उनले सबैको भावनालाई बुझेर अघि बढ्ने बताएका छन् ।

ब्रिटेन ईयूबाट अलग भएको खुसियालीमा ठाउँठाउँमा भोजभतेर चलेको छ । लण्डनको पार्लियामेन्ट स्क्वायर नजिक मानिसहरु भेला भएर देशभक्तिको गीत गाएका छन् र अगुवाहरुले समर्थकहरुलाई सम्बोधन गरेका छन् ।

प्रधानमन्त्री कार्यालय र निवासमा विशेष प्रकारका लाइटहरु बालिएको छ । साथै यसै अवसरमा ५० पेन्सको एक विशेष सिक्का प्रकाशन गरिएको छ ।

ब्रिटेनईयूबाट अलग्गिने कि नअलग्गिने भनेर जनताको मत बुझ्न सन् २०१६ को जून २३ तारिखमा जनमतसंग्रह गरिएको थियो ईयूबाट अलग हुने भनेर ५१.९ प्रतिशत र अलग नहुने भनेर ४८.१ प्रतिशत जनताले मत दिएका थिए । जनमत संग्रहको फैसलापछि तत्कालीन प्रधानमन्त्री डेभिड क्यामरुनले पद छोडेपछि पूर्वगृहमन्त्री टेरिजा मे नयाँ प्रधानमन्त्री बनेकी थिइन् । तर, ब्रेक्जिटको कार्यभार पूरा गर्न असफल भएपछि तत्कालीन प्रधानमन्त्री टेरिजा मेले पनि राजीनामा दिइन् । त्यसपछि बोरिस जोन्सन प्रधानमन्त्री बनेका थिए ।

ब्रिटेनका जनता ईयूबाट अलग हुन किन चाहे ? त्यसका केही कारण यस्ता छन्-

१. आर्थिक चेतावनी

ईयूबाट अलग हुने विषयलाई लिएर आर्थिक चेतावनी विस्तारै सुरु भयो तर पछि चेतावनीको बाढी नै आयो । ईएमएफ, आईएमएफ, ओईसीडी, बिजेनस प्रमोसनसँग सम्बन्धित सीबीआई जस्ता ठूला वित्तीय संस्थाहरुले ईयूबाट अलग भएमा आर्थिक अवस्था खराब हुने र बेरोजगारी बढेर ब्रिटेन अलग-थलग हुने चेतावनी दिएका थिए ।

यहाँसम्मकी तत्कालीन अमेरिकी राष्ट्रपति बराक ओबामा र ब्रिटेनको वित्त मन्त्रालयले पनि ईयूबाट अलग भएमा घाटा लाग्ने बताएका थिए । यस्ता चेतावनीबाट ब्रिटेनका जनता रुष्ट भए र यो विषयलाई व्यवस्थाविरुद्धको क्रान्तिको रुपमा अघि बढाए । जसले यस्तो चेतावनी दिइरहेको छ, त्यसमा चेतावनी दिनेहरुको स्वार्थ छ भनेर जनताले अर्थ लगाए । त्यसपछि उनीहरुले ईयूबाट अलग हुनुपर्ने पक्षमा मत दिए ।

२. ३५० मिलियन पाउण्डको नारा

ईयूबाट अलग हुने पक्षमा रहेकाहरुले एक बलियो नारा पाए । त्यो के हो भने यदि ब्रिटेन ईयूबाट अलग भएमा राष्ट्रिय स्वास्थ्य योजनाका लागि हरेक हप्ता ३५० मिलियन पाउन्ड प्रयोग गर्न पाउँछ । यद्यपि अनुसन्धानबाट के पत्ता लागेको छ भने यसमा सत्यता छैन । तर अलग हुनुपर्ने पक्षमा रहेकाहरुलाई यो बलियो राजनीतिक मुद्दा बन्यो । किनभने ३५० मिलियन पाउन्ड भनेको थोरै रकम होइन । यो जनताले सजिलै बुझ्ने र जनतासँग प्रत्यक्ष जोडिएको मुद्दा थियो ।

३. प्रवासीको बढ्दो संख्या

युके इन्डिपेन्डेन्ट पार्टी -युकिप)का प्रमुख नाइजल फराजले प्रवासीहरुको मुद्दा प्रमुखताका साथ उठाएका थिए । पछि यो मुद्दा ब्रिटेनको सँस्कृति, पहिचान र राष्ट्रियतासँग जोडियो । परिणामले के देखाएको छ भने पछिल्लो १० वर्षमा दोस्रो देशबाट ब्रिटेनमा आएर बसोबास गर्नेहरुको बढ्दो संख्यासँग जनता खुसी छैनन् । सम्भवतः उनीहरुले आउँदो २० वर्षमा प्रवासीहरुको बढ्न सक्ने प्रभावबारे सोचे होलान् । त्यसैले पनि ईयूबाट अलग हुनुपर्ने निष्कर्षमा उनीहरु पुगे ।

४. जनताले प्रधानमन्त्रीका कुरा सुन्न छाडे

तत्कालीन प्रधानमन्त्री डेभिड क्यामरुनलाई भाग्यले पनि साथ दिएन । ईयूको सदस्यता ब्रिटेनले त्याग्नु हुँदैन भन्ने अभियानको उनी मुख्य नेता थिए । यसका लागि उनले आफ्नो राजनीतिक करिअर नै दाउमा राखे । तर, जनताले उनका कुरा सुन्न छाडे फलस्वरुप जनमतसंग्रहमा ईयूबाट अलग हुनुपर्ने पक्षमा मत आयो । त्यसैकारण क्यामरुनले पद त्याग्नु पर्‍यो ।

५. लेबर पार्टी जनतासँग जोडिएन

ईयूसँग सम्बन्ध तोड्नु हुँदैन भन्ने अभियानलाई लेबर पार्टीका मतदाताको समर्थन चाहिएको थियो तर भित्रभित्रै जनताको मन बदलिएको कुरा लेबर पार्टीका नेताहरुले बुझ्न सकेनन् । जब नेताहरुले त्यो कुरा पत्तो पाए र त्यसको सामना गर्नका लागि प्रवासीहरुलाई नियन्त्रण गर्नुपर्छ भनेर कदमहरु चाले, त्यतिबेला धेरै ढिला भइसकेको थियो ।

६. जोनसनजस्ता ठूला नेताको अपिल

प्राय ठूला मुद्दाहरुलाई ठूला नेताहरुले बलियो समर्थन गर्छन् । ब्रिटेनमा बोरिस जोनसन र माइकल गोव जस्ता ठूला नेताहरुले जनताको मुड बुझेर ब्रिटेन ईयूबाट अलग हुनुपर्छ भनेर यो मुद्दालाई अझै बलियो बनाए । जोनसनले ईयूबाट अलग हुनुपर्छ भनेर अपिल पूरै ब्रिटेनभर बसबाट यात्रा गरे ।

७. प्रौढको निर्णायक भोट

जनमत संग्रह कसरी गराइयो, युवा तथा महिलाहरुले कसरी मतदान गरे भन्ने विषयमा विज्ञहरुले चर्चा गरिरहलान् तर एउटा कुरा के स्पष्ट देखियो भने प्रौढहरुले समेत एकजुट भएर मतदान गरे । उनीहरुकै भोटले जितायो पनि । यो सत्य पनि हो कि तपाईंको उमेर जति बढ्दै जान्छ, त्यति नै तपाईं जागरुक भएर स्वविवेकले मतदान गर्नुहुन्छ । ब्रिटेनमा सन् २०१५ मा भएको चुनावमा ६५ वर्षमाथिका जनताको भोट ७८ प्रतिशत थियो ।

८. ब्रिटेन र यूरोपको सम्बन्ध

ब्रिटेन र यूरोपको सम्बन्ध कहिल्यै पनि सुमधुर र सामान्य रहेन । युरोपेली समुदासँग जोडिन पनि ब्रिटेनलाई धेरै समय लाग्यो । सन् १९७५ को मतदानमा पनि ब्रिटेन प्रशन्न थिएन । अहिलेसम्म युवाहरु ईयूको समर्थक नै रहेको मानिएको छ । यद्यपि मत विश्लेषणपछि मात्र यसबारे स्पष्ट हुने छ । -बीबीसीबाट

लन्डन — लामो अन्योल, राजनीतिक उतारचढाव र विभाजनपछि अन्ततः बेलायत ईयूबाट औपचारिक रुपमा अलग्गिएको छ । ब्रिटिस जनताले ईयूबाट अलग्गिने पक्षमा मतदान गरेको एक हजार ३ सय १८ दिनपछि बेलायत शुक्रबार राति ११ बजेदेखि ईयूबाट छुटिट्एको हो । गत २३ जुन, २०१६ मा भएको ईयू जनमत संग्रहमा ५१ दशमलव ९ प्रतिशत जनताले अलग्गिने पक्षमा मत हालेका थिए ।बेलायत र ईयूबीचको ४७ वर्षदेखिको सम्बन्ध अबऔपचारिक रुपमा विच्छेद भएको छ। ईयू इतिहासमा अहिलेसम्म कुनै पनि सदस्य राष्ट्रको बहिर्गमन भएको थिएन्। सन् १९७३, १ जनवरीदेखि युरोपियन क्लब प्रवेश गरेको ब्रिटेन १७ हजार १९७ दिनपछि शुक्रबार बाहिरिएको हो।बेलायतले शुक्रबार विशेष कार्यक्रमसहित ईयूलाई बिदाइ गरेको छ। प्रधानमन्त्री बोरिस जोनसनले आफ्‍नो कार्यालय टेन डाउनिङ स्ट्रिटमा लेजर शो आयोजना गरे। उनले ह्‍वाइट हलमा दीप प्रज्‍ज्‍वलन गर्नुका साथै छुट्टिनुअघि देशवासीका नाममा टेलिभिजनबाट विशेष सम्बोधन गरेका थिए। उनले आफ्‍नो सम्बोधनमा ब्रेक्जिटलाई एउटा ‘नयाँ बिहानी’ भनेका छन्।

‘आजको रात भन्नुपर्ने सबैभन्दा महत्वपूर्ण कुरा भनेको यो अन्त्य होइन, यो सुरुवात हो,’ एउटा भिडियो सन्देशमा उनले भने, ‘यो बिहानी प्रहर खुल्ने क्षण हो र नयाँ भूमिकामा पर्दा खुल्नेछ। यो क्षण साँचो रूपमा राष्ट्रिय नयाँपन र परिवर्तनको हो।’

ब्रेक्जिट डेका अवसरमा लन्डनस्थित संसद भवन अगाडि यूकेका चारवटै राज्यको एकताको प्रदर्शन गर्दै संयुक्त अधिराज्यको राष्ट्रिय झण्डा युनियन ज्याक फहराइएको थियो। ब्रेक्जिट पक्षधरहरु दिउँसोदेखि मध्यरातसम्म झण्डा बोकेर नारा लगाइरहेका थिए।

पार्लियामेन्ट स्क्‍वायरमा खुसियाली मनाउँदै ब्रेक्जिट पक्षधर तस्बिर : रोयटर्स

पार्लियामेन्ट स्क्वायरमा आयोजित भव्य‘डिभोर्स पार्टी’मा हजारौं सहभागी भए।राति १० बजेदेखि प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटमा ‘काउन्ट डाउन’ घडी राखिएको थियो जहां रातो, सेतो र निलो रंगका बत्ती बलेका थिए। अन्य सरकारी भवनमा समेत दीप प्रज्ज्वलन गरियो। यद्यपि, संसद भवन छेउको ‘बिग बेन’ ध्वनी भने गुञ्जिएन। अहिले मर्मत भइरहेको उक्त भवनमा घण्टी बजाउन करिब ५ लाख पाउण्ड खर्च लाग्ने भएपछि यसलाई स्थगित गरिएको हो। सर्वसाधारणले सोका लागि क्राउड फण्डिङ क्याम्पियनबाट अढाइ लाख पाउण्ड संकलन गरेका थिए।

त्यस्तै ब्रिटेनले युरोपेली संघ छाडेको सम्झनामा ५० पेन्सका झन्डै ३० लाख सिक्का निष्कासन गरेको छ जसमा सबै मुलुकसँग शान्ति, समृद्धि र मित्रता लेखिएको छ। ३० वर्षपछि बेलायतमा अब फेरि पासपोर्टको रंग निलो हुने भएको छ। @ekantipur

Leave a Reply

Back to top button
Close
%d bloggers like this: