आयात घट्यो, निर्यात बढ्यो : तर सन्तोष मान्ने ठाउँ छैन

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ६ खर्ब ९४ अर्बको आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार उक्त अवधिमा ४ हजार ६ सय १३ प्रकारका सामान आयात हुँदा उक्त रकम बराबरका मालवस्तु आयात भएको हो । सो अवधिमा नेपालको कुल निर्यात ५९ अर्ब ६१ करोड रुपैंया  हुँदा ७ सय २४ प्रकारका मालवस्तु बाहिर गएका थिए । आयात र निर्यातको यो परिणामले व्यापार घाटा ६ खर्ब ३७ अर्ब रुपैंया पुगेको देखिएको छ ।
नेपालमा भएको आयात अघिल्लो वर्षको तुलनामा ४.०४ प्रतिशत कम हो भने निर्यात २६.१३ प्रतिशत बढी हो । अघिल्लो वर्षको सोही समयमा ७ खर्ब २३ अर्ब रुपैंयाको अआयात तथा ४५ अर्ब ४१ करोड रुपैंयाको निर्यात भएको थियो ।नेपालको आयात व्यापारमा पेट्रोलियम पदार्थ, फलाम, पाम आयल, मोबाइल तथा टेलिकमका सामान, चामल, हवाई पार्टपुर्जा, सोयाविन तेल, सुनलगायत छन् । यो अवधिमा १२३ प्रकारका वस्तुको आयात १ अर्बभन्दा माथि रहँदा ती सामानले आयातको कुल ६३ प्रतिशत हिस्सा ओगटेको छ ।

त्यस्तै, निर्यात व्यापारमा पाम आयल, सोयाबिन आयल, कार्पेट, फाइबर, यार्न, चिया, अलैंची जस्ता वस्तुहरुको योगदान उच्च छ । १३ प्रकारका मालवस्तुको आयात यो अवधिमा १ अर्बभन्दा माथि रहेकोे देखिँदा ती वस्तुको योगदान ३५ अर्ब ५० करोड छ जुन करिब ६२ प्रतिशत हो । भन्सार विभागले ६ महिनामा कुल १ खर्ब ७७ अर्ब रुपैंया भन्सार राजश्व संकलन गरेको छ । यो औसत २६ प्रतिशत हो । निर्यातमा भने केही वस्तुबाहेक अरुमा निर्यात कर लाग्दैन । आयातमा लाग्ने भन्सार राजश्वमध्ये भारतबाट आएको सामानबाट १ खर्ब २२ अर्ब, चीनबाट आउने सामानबाट २६ अर्ब मात्रै राजश्व संकलन गरिएको छ । जुन कुल राजश्वको क्रमशः ६८.९२ प्रतिशत र १४.६९ प्रतिशत हो । बाँकी देशबाट आउने सामानमा बाँकी १६.३९ प्रतिशत मात्रै राजश्व उठ्ने गरेको छ ।

आयात–निर्यात अनुपात

आयातमा आएको कमी र निर्यातको वृद्धिदर उच्च हुँदा यो वर्ष आयात निर्यात अनुपातमा उल्लेख्य सुधार भएको छ । अघिल्लो वर्षको ६ महिनामा १५.९ प्रतिशत रहेको उक्त अनुपात यो वर्ष १२.१ प्रतिशतमा झरेको छ । यसको अर्थ नेपालले १०० रुपैंयाको वस्तु निर्यात गर्दा १२ सय १० रुपैंयाको वस्तु आयात गर्छ भन्ने हो । यो महिनामा आयातको कमी अघिल्लो महिनाको भन्दा कम देदिए पनि निर्यात वृद्धिदर उच्च हुँदा आयात निर्यात अनुपातमा सामान्य सुधार देखिएको हो । तर पनि अहिलेको यो अनुपातबाट सन्तुष्ट हुने ठाउँ भने फेरि पनि देखिँदैन ।

अहिले भारत सरकारले पाम आयलको आयातमा प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्धका कारण अब यो वस्तुको निर्यात व्यापार ठप्प हुने निश्चित छ । कुल निर्यात व्यापारको २४.२६ प्रतिशत हिस्सा रहेको यो वस्तुको आयात घटेपछि यो अनुपातले आकाश छुने फेरि पनि निश्चित नै छ ।

पाम आयलमा १४ प्रतिशत मात्रै मूल्य अभिवृद्धि

नेपालले यो ६ महिनामा १३ अर्ब ८९ करोडको पाम आयल निर्यात गर्यो । तर यही अवधिमा १२ अर्ब १७ करोडको सोही आयल आयात गर्यो । आयात र निर्यातको यो हिसाबले नेपालले पाम आयलमा जम्मा १४ प्रतिशत मात्रै मूल्य अभिवृद्धि गर्न सकेको छ ।

जबकी २० प्रतिशतको मूल्य अभिवृद्धि नगरी आयातित सामान विदेश पठाउन पाइँदैन । त्यस्तै, सोही अवधिमा ७ अर्ब ९६ करोडको सोयाबिन आयल आयात भई ४ अर्ब ९७ करोड रुपैंयाको आयात भएको छ । यसमा भने करिब ६० प्रतिशतको मूल्य अभिवृद्धि देखिन्छ ।

पाम आयलमा भएको मूल्य अभिवृद्धिको अवस्थाले गर्दा यसको निकासीमा लागेको प्रतिबन्धप्रति आत्तिइहाल्नुपर्ने अवस्था केही छैन । यसले नेपाललाई वास्तविक रुपमा हुने हानी भनेको त्यही डेढ अर्ब जति मात्रै हो ।

त्यसमाथि पनि प्रोसेसिङका लागि अदृष्य रुपमा विदेशी सामानको प्रयोग हुँदा यो मार्जिन झन् घट्न सक्छ तर सरकारी निकायका लागि भने आयात निर्यात अनुपात बढ्ने भय यसमा देखिन्छ ।

कुन देशसँग कस्तो व्यापार ?

निर्यात व्यापारमा सबैभन्दा बढी योगदान भारतको छ भने त्यसपछि चीन, बंगलादेश, अमेरिका लगायत मुलुक छन् । भारतसँग ६ महिनाको अवधिमा ४० अर्ब १४ करोडको आयात भएको छ भने चीनसँग १० अर्ब १६ करोडको आयात भएको छ ।

त्यस्तै बंगलादेशमा ६ अर्ब २० करोड तथा अमेरिकामा ५ अर्ब ६२ करोडको निर्यात भएको छ । कुल निर्यातमा भारतको हिस्सा ६७.३४ प्रतिशत, चीनको हिस्सा १७.०४ प्रतिशत, बंगलादेशसँग १०.४० प्रतिशत तथा अमेरिकासँग ९.४३ प्रतिशत तथा बाँकी अन्य देशसँग रहेको देखिएको छ ।

आयातमा बढी भएका ती मुलुकमध्ये भारतबाट ४ खर्ब २३ अर्ब, चीनबाट १ खर्ब १८ अर्ब, बंगलादेशबाट ३ अर्ब ९० करोड तथा अमेरिकाबाट १० अर्ब २२ करोडको आयात भएको छ ।

भारतबाट करिब ६०.९५ प्रतिशत र चीनबाट १७ प्रतिशत तथा बाँकी अन्य देशबाट आयात भएको देखिएको छ । @ratopati

Leave a Reply

Back to top button
Close
%d bloggers like this: