४६ सांसदको गाँजा खोल्ने माग कति जायज?

नेपालमा लागुऔषध मानिने गाँजा ‘वैधानिक’ बनाउन सत्तारूढ नेकपाका ४६ सांसदले बुधबार सार्वजनिक महत्त्वको प्रस्ताव पेस गरेका छन्।

सांसद विरोध खतिवडाले ‘अमेरिका, क्यानडा, जर्मनीसहित ६५ देशले वैधानिकता दिएको’ उल्लेख गर्दै नेपालमा पनि खोल्न प्रतिनिधिसभा बैठकमा प्रस्ताव दर्ता गराएका हुन्।

गाँजालाई वैधानिकता दिनुपर्नेबारे हामीले दुई वर्षदेखि लगातार स्टोरीहरू लेख्दै आएका छौं। हामीले आफ्ना स्टोरीमा गाँजाका औषधिजन्य गुणको चर्चा गरेका छौं। विदेशीहरूले खुला गरिसक्दा पनि प्रतिबन्ध कायम राख्दा हामी यसको लाभबाट कसरी वञ्चित रहन्छौं भनेर लेखेका छौं।

आयुर्वेद विज्ञानले ‘गुणकारी’ मानेको जडिबुटी किन, कसरी र कसको दबाबमा प्रतिबन्धित भयो भनेर पनि लेखेका छौं। नेपालको हावापानीमा प्राकृतिक रूपले नै फस्टाउने गाँजाबाट व्यावसायिक लाभ लिन नसके हाम्रो मौलिक ज्ञानको फाइदा लिएर विदेशीहरू अघि बढ्छन्, हामी जहाँको त्यहीँ रहन्छौं भनेर सचेत गराएका छौं।

गाँजाको मुद्दाले संसदमा प्रवेश पाएको सन्दर्भमा हामी तिनै विषय फेरि उठाउँदै छौं।

सबभन्दा पहिला, गाँजाको औषधिजन्य लाभ र हामीले विगतमा के-कस्ता औषधि बनाउँथ्यौं भन्ने कुरा गरौं।

विभिन्न वैज्ञानिक अनुसन्धानले गाँजाको स्वास्थ्य उपयोगिता प्रमाणित गरेको छ। कतिपय दीर्घरोग निको पार्न अचुक ओखतीको काम गर्ने अनुसन्धानले देखाएको छ। खासगरी ‘ग्लाउकोमा’ भनिने आँखारोग, मुर्छा पर्ने, अनिद्रा, अल्जाइमर्स, शारीरिक पीडा, अपचजस्ता रोग उपचारमा गाँजा सहयोगी हुने अनुसन्धानले देखाएको छ।

शरीरमा क्यान्सर फैलाउने कोष मार्न र रक्सी तथा अन्य हानिकारक लागुऔषधको लत छुटाउन गाँजा उपयोगी हुने अनुसन्धानले पुष्टि गरेको छ।

यिनै अनुसन्धानपछि अमेरिकाका विभिन्न राज्य, क्यानडा र थुप्रै युरोपेली मुलुकले औषधिका रूपमा गाँजा प्रयोग गर्न छुट दिएका छन्।

वैज्ञानिक अनुसन्धानले हालसालै गरेका यस्ता पुष्टि नेपालका लागि भने नौला होइनन्। पश्चिमीहरूले गाँजाको महत्त्व थाहा पाउनु र प्रयोगमा ल्याउनु धेरैअघि नै हामी यसबाट परिचित थियौं।

गाँजालाई आयुर्वेदमा ‘विजया’ भनिन्छ। निद्रा नलाग्ने, नाकबाट पानी बगिरहने, शीघ्र स्खलन, झाडापखाला, अत्यधिक पीडा, मानसिक समस्याजस्ता रोग निको पार्न गाँजा (विजया) को औषधि प्रयोग हुँदै आएको सिंहदरबार वैद्यखानाको रेकर्डमा देखिन्छ।

गाँजाको कण मिसाएर तयार पारिने ‘लक्ष्मीविलास रस’ नाकबाट पानी बग्ने रोगमा अचुक ओखती मानिन्छ। अनिद्रा र उच्च रक्तचापका बिरामीलाई दिइने ‘सर्पगन्धा’ मा पनि गाँजाको कण हुन्छ। मानसिक र डिप्रेसनका बिरामीलाई यसैबाट बनेको ‘मोदनानन्द मोदक’ दिइन्छ।

बिरामी लठ्याउन वा पीडा कम गर्न ‘एनेस्थेसिक’ वा ‘एनाल्जेसिक’ औषधि नहुँदा सयौं वर्षदेखि गाँजा प्रयोग हुँदै आएको थियो। क्यान्सर बिरामीलाई गाँजा मिसाएको औषधि दिँदा पीडा कम हुनुका साथै निराशाबाट बाहिर ल्याउन मद्दत गर्छ।

त्यस्तै, ‘रामबाण रस’ वा ‘रातोबरी’ भन्ने औषधिले झाडापखाला निको पार्छ। यी दुवैमा गाँजाको कण हुन्छ।

‘जर्नल अफ सेक्सुअल मेडिसिन’ मा गत वर्ष प्रकाशित रिपोर्टले गाँजा सेवनबाट मान्छेको यौन क्षमता बढ्छ भनेर लेखेको छ। अमेरिकाको स्ट्यान्फोर्ड विश्वविद्यालयका वैज्ञानिकले गाँजा र यौनशक्तिबीच सम्बन्ध प्रमाणित गरेका हुन्। त्योभन्दा धेरैअघि सिंहदरबार वैद्यखानाले नै शीर्घ स्खलन रोक्न गाँजाको कणयुक्त ‘पूर्णचन्द्रोदय रस’ र ‘भोग सुन्दरी’ नामक औषधि उत्पादन गर्थ्यो।

गाँजा प्रतिबन्धपछि यस्ता औषधिको उत्पादन बन्द छ। हामीले यसबारे वैद्यखानाका तत्कालीन प्रमुख वंशदीप खरेलसँग कुरा गरेका थियौं। लागुऔषधसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि–सम्झौताले गाँजाजन्य औषधि उत्पादन गर्न हात बाँधेको उनले बताएका थिए।

उनका अनुसार, औषधिका रूपमा गाँजा प्रयोग दुई किसिमबाट हुन्छ। कुनैमा गाँजाको छिटा मात्र हानिन्छ। यसलाई ‘भावना प्रक्षेपण’ भनिन्छ। गाँजाको बीउबाट सोझै ओखती पनि बनाइन्छ।

‘गाँजाका पात पिनेर, बीउ घिउमा भुटेर वा दूधमा पकाएर पनि औषधि बनाउन सकिन्छ,’ उनले भने, ‘सामान्यतया अन्य आयुर्वेदिक सामग्रीमा थोरै गाँजा प्रशोधन गरी ओखती बनाउने चलन छ।’

यति हुँदाहुँदै गाँजा स्वास्थ्यलाई पूरै ‘फाइदाजनक’ छ भन्ने होइन।

थुप्रै शोध र प्रयोगबाट अनुसन्धानकर्ताको निष्कर्ष हेर्दा, गाँजाले त्यति बेला मात्र सकारात्मक प्रभाव पार्छ, जब यसको प्रयोग नियन्त्रित र सही परिमाणमा हुन्छ। चुरोटजस्तै धुँवा उडाएर तानेको तान्यै गर्दा हृदयगति बढ्ने, श्वासप्रश्वास तथा शारीरिक गतिविधिमा असर पर्ने देखिएको छ। गाँजा खुला गरेका पश्चिमा मुलुकहरूमा यसरी चुरोटजस्तै मनोरञ्जन र लतका रूपमा खाने प्रवृत्तिले समस्या पनि पाइएका छन्।

‘पृथ्वीमा रहेका सम्पूर्ण चिज अमृत पनि हुनसक्छ, विष पनि,’ आयुर्वेद क्याम्पस, कीर्तिपुरका प्राध्यापक डा. डिबी रोका भन्छन्, ‘कुनै पनि तत्व मात्रा, उद्देश्य र प्रयोग मिलाएर खायो भने औषधि हुन्छ भन्ने आयुर्वेदको मान्यता हो। गाँजा त्यस्तै हो।’

अमेरिकी, युरोपेली लगायत देशले गाँजा खुला गरे पनि सीमा तोकेका छन्। जति पायो त्यति किन्न पाइँदैन। जुनसुकै ठाउँबाट जोसुकैसँग किन्न पनि पाइँदैन। गाँजा किन्नेको उमेरहद तोकिएको छ। यो अनुभव र व्यवहार हाम्रो निम्ति पाठ हुन सक्छ।

‘सरकारले आवश्यकता महशुस गरे विश्वविद्यालयका आयुर्वेद प्राध्यापकहरूसँग सल्लाह गर्न सक्छ। हामी यसका फाइदा–बेफाइदा केलाएर बताउन सक्छौं। प्रशोधनको तह र परिमाण खुलाएर कुन–कुन औषधिमा प्रयोग गर्न सकिन्छ भनी सिफारिस गर्न सक्छौं,’ रोकाले भनेका थिए।

हामीले आफ्नो ज्ञान सदुपयोग गर्न सक्यौं भने गाँजाको औषधि निकासी पनि गर्न सकिने उनले बताए।

गाँजालाई मान्छेको दैनिक व्यवहारमा पनि उपयोगी मानिन्छ। नेपालको मध्यपश्चिम पहाडमा यसले दाउरा आपूर्ति गर्छ। यसको चोपबाट चरेस उत्पादन हुन्छ, जुन महँगो हुनाले ‘ब्ल्याक गोल्ड’ भनिन्छ।

गाँजाको रेसाबाट कपडा र पातबाट उच्च कोटीको प्रांगारिक मल बनाइन्छ। अहिले पनि बजारमा गाँजाका झोला, लुगाफाटा बिक्री भइरहेका छन्। सिन्धुपाल्चोकमा गत वर्ष गाँजाको रेसासँग अन्य निर्माण सामग्री मिसाएर घरै बन्यो।

पश्चिमी मुलुकहरू त गाँजाबाट फाइदा लिनमा धेरै अघि बढेका छन्। अस्ट्रेलिया, उरुग्वे, क्यानडा र नेदरल्यान्ड्स गाँजाका औषधि निर्यात गर्ने तयारीमा छन्। अस्ट्रेलियाले विश्वमै गाँजाको ठूलो निर्यातकर्ता हुने लक्ष्य राखेको छ।

सिड्नी मर्निङ हेराल्डले लेखेअनुसार, अस्ट्रेलियाको गाँजा व्यवसाय सन् २०२५ सम्म ५५ अर्ब डलर पुग्ने आकलन छ। क्यानडाले पनि २०२१ सम्म गाँजा कारोबार ६ अर्ब डलर पुर्‍याउने लक्ष्य राखेको छ।

गाँजामा पाइने रसायन स्याम्पू, कफी, शरीरमा लगाउने तेल लगायत थुप्रै घरायसी सामग्रीमा प्रयोग हुन थालेको छ। ‘सिबिडी’ (क्यानाबिडिओल) भनिने यो रसायन गम्मी बियर्स (एक प्रकारको चकलेट) देखि कुकुर, बिरालोको खानामा समेत प्रयोग हुन्छ। जनावरको दुखाइ कम गर्न यो सहयोगी मानिन्छ।

सिबिडीमिश्रित फेसवास, मास्क, मोस्चराइजर क्रिम लगायतको समेत उत्पादन सुरू भएको छ। अमेरिकाका केही राज्यमा कफी पसल, कृषि बजारदेखि डिपार्टमेन्ट स्टोरमा यो रसायन बिक्री हुन्छ।

गाँजाका धेरै प्रजाति छन्। मुख्य दुई प्रजातिको खेती हुन्छ। एउटामा ‘टिएचसी’ (टेट्राहाइड्रोक्यानाबाइनोल) उच्च हुन्छ। यसको सेवनले झुम्म बनाउँछ। गाँजा खाने र औषधि बनाउने यही प्रजातिको हो।

अर्को प्रजातिको गाँजामा सिबिडी बढी हुन्छ। यो रसायनले धेरै झुम्म बनाउँदैन। शारीरिक दुखाइ र तनाव कम गर्न सहयोगी मानिन्छ।

यही बिहीबार सार्वजनिक ‘गाँजा बजार अपडेट, २०२०’ को रिपोर्टअनुसार वैधानिक गाँजाको बिक्री सन् २०१९ मा करिब ४६ प्रतिशत बढेको छ। करिब १५ अर्ब डलरको बिक्रीमा क्यानडा, क्यालिफोर्निया र म्यासाचुसेट्सको हिस्सा धेरै छ।

गाँजा वैधानिक भएको एकाध वर्षमै पश्चिमा मुलुकले अर्बौं कमाइसक्दा नेपालले भने ४५ वर्षदेखि प्रतिबन्ध गरेर न आफ्नो परम्परागत ज्ञान प्रयोगमा ल्यायो, न कमाउने मौका पायो।

अब हामी नेपालमा गाँजा उत्पादन र प्रतिबन्धको कुरा गरौं।

तराईका बारा, पर्सा, सिरहा, धनुषा, महोत्तरी तथा मध्य र पश्चिमका पहाडी जिल्लामा नगदे बालीका रूपमा गाँजा उत्पादन हुन्थ्यो। दोस्रो विश्वयुद्धकै समयदेखि नेपाली गाँजा भारत र अन्य देशमा ब्रान्डका रूपमा स्थापित थियो। ‘हिप्पी’ युगको सुरुआतसँगै काठमाडौंमा गाँजा खान ‘गोरा साधु’ हरूको घुइँचो लाग्थ्यो। त्यति बेला यहाँ ३० वटा जति गाँजा र चरेस केन्द्र खुलेका थिए।

यसैबीच सन् १९६१ मा सरकारले लागुऔषध ऐन जारी गर्‍यो। लगत्तै अर्को वर्ष उत्पादन, बिक्री तथा आयात/निर्यातमा अनुमति लिनुपर्ने नियम बनायो। राष्ट्रसंघबाट पनि दबाब आएपछि सरकारले गाँजा उत्पादन र किनबेचविरुद्ध १९७३ जुलाई १६ देखि धरपकड थाल्यो।

त्यस बेला राष्ट्रसंघको ‘नार्कोटिक्स कन्ट्रोल बोर्ड’ ले गाँजालाई हेरोइनजस्तो कडा लागुऔषधको दर्जामा राखेको थियो। आफ्नो नीतिअनुसार गाँजा प्रतिबन्ध लगाउन सहयोग नगरेको भन्दै राष्ट्रसंघले नेपालको चर्को आलोचना गर्‍यो। एसिया र पश्चिमी देशमा अझै प्रतिबन्धित नभएको गाँजा तुरून्तै प्रतिबन्ध लगाउन दबाब दियो।

खासगरी हिप्पी कालमा काठमाडौं छिरेका कतिपय अमेरिकी ‘लागुऔषध सेवन गर्न’ यतै बस्न थालेपछि अमेरिका चिन्तित थियो। र, उसकै दबाबले नेपालमा प्रतिबन्ध पनि लाग्यो।

प्रतिबन्ध कायम रहे गाँजाबाट बन्ने औषधिको बौद्धिक अधिकार विदेशी कम्पनीको हात जाने आयुर्वेद अनुसन्धानकर्ताहरू बताउँछन्।

‘गाँजालाई औषधिका रूपमा प्रयोग गर्ने हाम्रो परम्परागत ज्ञान विदेशीले अपनाउन थालिसके। भोलि हामी उनीहरूले नै बनाएका औषधि किन्छौं, हाम्रो ज्ञान त्यसै मासिन्छ,’ राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका अध्यक्ष डा. ऋषिराम कोइरालाले भनेका थिए, ‘यो अवस्था आउनुअघि नै हामीले आफ्नो परम्परागत ज्ञान सुरक्षित राख्नुपर्छ।’

स्वास्थ्य मन्त्रालय मातहतको यो संस्थाले आयुर्वेदमा अध्ययन–अनुसन्धान गर्छ। केन्द्रसँग गाँजाबाट औषधि बनाउने परम्परागत अनुभव र ज्ञानको कमी छैन। कानुनी बन्देजले अघि बढ्न नसकेको मात्र हो।

‘सरकारले अनुमति दिए गाँजाको आयुर्वेदिक प्रयोगमा थप अनुसन्धान गरेर परिस्कृत गर्न सकिन्छ,’ स्वास्थ्य अनुसन्धान परिषदका पूर्व उपाध्यक्षसमेत रहेका डा. कोइरालाले भने, ‘यसले अरू सम्भावनाका ढोका खोल्न सक्छन्।’

औषधिका रूपमा मात्र नभई आम्दानी स्रोतका रूपमा पनि गाँजा प्रतिबन्ध पुनर्विचार गर्नुपर्ने अनुसन्धानकर्ताको भनाइ छ।

‘गाँजा मासिँदा औषधीय लाभ त मासिन्छ नै, यसबाट बन्ने कपडा पनि मासिन्छ, आम्दानी पनि मासिन्छ,’ डा. कोइरालाले भने, ‘गाँजा खेती हुँदा मध्यपश्चिम पहाडको जीवनशैली उक्सिएको थियो। प्रतिबन्ध लगाएपछि सबै भताभुंग भयो।’

प्रतिबन्धबाट कसरी छुट्कारा पाउने त?

लागुऔषध नियन्त्रण ऐनले गाँजा सेवन, खेती, उत्पादन, खरिदबिक्री, निकासी, पैठारी वा भण्डारण वर्जित गरेको छ। नेपालले वैधानिक रूपमा गाँजा खुला गर्ने हो भने आन्तरिक ऐन संशोधन गरेर मात्र पुग्दैन। अन्तर्राष्ट्रिय महासन्धिको प्रावधानबाट छुट्कारा पाउन राष्ट्रसंघीय नार्कोटिक्स बोर्डमा आवेदन दिनुपर्छ।

नार्कोटिक्स महासन्धिमा हस्ताक्षर गर्ने मुलुक दुईथरी छन्। एकथरीले सबै सर्त नमान्ने वा गाँजाजन्य औषधि बनाउने छुटसहित हस्ताक्षर गरेका छन्। नेपालसहित केहीले भने सबै सर्त कबुलेका छन्। महासन्धिबाट औपचारिक छुट्कारा नपाएसम्म नेपालले गाँजाजन्य औषधिसमेत खुला गर्न पाउँदैन।

महासन्धिमा एकचोटि हस्ताक्षर गरेपछि त्यसबाट हट्न लामो प्रक्रिया अपनाउनुपर्छ। आन्तरिक कानुन खुला गरेपछि आफूले हस्ताक्षर गरेको महासन्धि सुधार्न सरकारले नै औपचारिक आवदेन दिनुपर्छ। उताबाट स्वीकृति आएपछि मात्र नेपालमा विधिवत् गाँजा खुला हुन्छ।

यहाँसम्म पुग्न सरकारको तयारी बलियो हुनुपर्छ। सांसद खतिवडाको माग यही हो।

प्रहरीले ‘विशेष सुरक्षा योजना’ का नाममा गाउँ–गाउँ गएर गाँजा खेती फडानी गर्छ। नगदे बालीका रूपमा लगाइएका गाँजा काटकुट पारेर जलाइदिन्छ। ठूलो परिमाण ओसारपसार गर्ने कारोबारी मात्र होइन, व्यक्तिगत प्रयोजनका लागि बोक्ने पनि पक्राउ पर्छन्। गाँजा खेती गर्न नपाइने कानुनले गरिब जनतालाई दुःख दिएर झनै गरिब बनाएको खतिवडाको भनाइ छ।

उनले बुधबार दर्ता गराएको प्रस्तावमा उल्लेख छ, ‘नेपालको भू–भाग प्राकृतिक रूपले नै गाँजा खेतीका लागि अब्बल छ। अरू देशले जस्तै किसानको जीवनस्तर उकास्न तथा विदेशी मुद्रा आर्जनका लागि अहिलेको कानुन परिमार्जन गर्न र सरकारको निगरानी र नियन्त्रणमा तोकिएको क्षेत्रमा वैधानिकता दिन ढिला भइरहेको छ।’

‘सरकारले तुरून्तै यसबारे कदम चालोस्,’ उनले भने। @setopati

Leave a Reply

Back to top button
Close
%d bloggers like this: