अन्‍नपूर्ण साइकल र्‍याली आज

क्यान्सरविरुद्ध जनचेतना अभियान

काठमाडौं : पाठेघरको मुखको क्यान्सरविरुद्ध जनचेतना जगाउने र साइकलमैत्री समाज निर्माणको अभियानमा थप टेवा पुर्‍याउने उद्देश्यले अन्नपूर्ण मिडिया नेटवर्कले हरेक वर्ष आयोजना गर्दै आएको साइकल र्‍याली शनिबार सञ्चालन हुने भएको छ । साइकल र्‍यालीको यो छैटौं संस्करण हो । अन्नपूर्ण मिडिया नेटवर्कले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम ‘अन्नपूर्ण सम्बन्ध’ मार्फत विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ । यो साइकल र्‍याली पनि त्यसैको एउटा पाटो हो ।

अन्नपूर्ण मिडिया नेटवर्कका मानव संसाधन एवं प्रशासन विभाग प्रमुख सुदमकुमार सिजापतिले साइकल र्‍यालीको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए । ‘साइकल र्‍यालीको सम्पूर्ण तयारी पूरा भइसकेको छ’, सिजापतिले भने, ‘हाम्रो मुख्य उद्देश्य पाठेघरको मुखको क्यान्सरविरुद्ध र स्वस्थ वातावरणबारे जनचेतना जगाउनु हो । साइकलमैत्री समाज निर्माणको अभियानमा थप टेवा पुर्‍याउनु पनि र्‍यालीको उद्देश्य हो । यसअघि भएका पाँच संस्करणबाट हामी आफ्नो उद्देश्यमा सफल पनि हुँदै आएका छौं । त्यसैले यसपटक पनि हामीले साइकल र्‍यालीलाई निरन्तरता दिएका हौं ।’

र्‍यालीमा दुई हजारभन्दा बढी साइक्लिस्टको सहभागिता रहने जानकारी आयोजक संस्थाका कर्पोरेट स्ट्राटिजी, ब्रान्ड तथा सर्कुलेसन विभागका प्रमुख प्रणिल अर्यालले दिए । ‘विगतको तुलनामा यसपटक सहभागीको संख्या निकै बढेको छ । सामाजिक अभियान भएकाले पनि सहभागीको संख्यामा वृद्धि भएको हुन सक्छ’, अर्यालले भने ।

अन्नपूर्ण मिडिया नेटवर्कले नेपाल क्यान्सर केयर फाउन्डेसन, नेपाल साइक्लिङ संघ, नेपाल साइकल सोसाइटीलगायतका संस्थासँग मिलेर पछिल्लो ६ वर्षयता जनचेतनामूलक साइकल र्‍याली आयोजना गर्दै आएको हो । साइकल र्‍यालीको नारा ‘राइड फर लाइफ’ रहेको छ । ‘र्‍यालीमा सहभागी हुन विभिन्न पेसा, व्यवसाय र उमेरसमूहका व्यक्तित्वहरूले स्वतःस्फूर्त रूपमा आफ्नो नाम दर्ता गराउनुभएको छ । नाम नै टिपाएर सहभागी हुन आउनेको संख्या दुई हजारको हाराहारीमा छ । स्वतन्त्र रूपमा पनि धेरैको सहभागिता रहने अनुमान गरेका छौं’, अर्याल भन्छन् ।

र्‍यालीमा सुरक्षा निकायका प्रमुख, विश्व स्वास्थ्य संगठनका नेपालस्थित प्रतिनिधि, विदेशी नियोगका प्रमुखहरू, निजामती कर्मचारी, चिकित्सक, खेलाडी, व्यवसायी र कलाकारहरूको समेत सहभागिता रहने जानकारी पनि अर्यालले दिए । र्‍यालीलाई नेपाल साइक्लिङ संघले प्राविधिक सहयोगसमेत गरेको छ ।

शनिबार बिहान तीनकुनेस्थित अन्नपूर्ण पोस्ट्को कार्यालय परिसरबाट सुरु हुने र्‍याली गौशाला, चाबहिल, महाराजगन्ज, गोंगबु, बालाजु, सोह्रखुट्टे, लैनचौर, दरबारमार्ग, रत्नपार्क, भद्रकाली, त्रिपुरेश्वर, थापाथली, माइतीघर, नयाँबानेश्वर हुँदै पुनः तीनकुनेमै पुगेर टुंगिनेछ । र्‍यालीको दूरी २१ किलोमिटर रहेको बताइएको छ । सहभागी साइक्लिस्टको साइकल बिग्रिएमा मर्मतका लागि स्टलको व्यवस्थासमेत गरिएको आयोजकले जनाएको छ । साइकल मर्मतको व्यवस्था प्याङ्क बाइकले गरेको हो ।

र्‍यालीमा सहभागी हुन चाहनेले साइकल र हेल्मेटको व्यवस्था आफैं गर्नु पर्नेछ । साइकल र्‍यालीकै अवसरमा यसपटक हालै नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्ने चारजना साइक्लिङ खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरिने जानकारी पनि अर्यालले दिए ।

गत मंसिर १५ देखि २४ गतेसम्म भएको १३औं सागमा बुद्धिबहादुर तामाङ र लक्ष्मी मगरले क्रस कन्ट्री तथा राजेश मगर र निश्मा श्रेष्ठले डाउन हिल स्पर्धामा ऐतिहासिक स्वर्ण पदक जितेका थिए । नेपालले सागको साइक्लिङमा स्वर्ण पदक जितेको यो पहिलो पटक हो । साइकल र्‍यालीको समापन कार्यक्रममा सहभागीमध्येबाट गोलाप्रथाको माध्यमले विभिन्न पुरस्कारको व्यवस्था पनि गरिएको आयोजकले जनाएको छ ।

गोला प्रथाबाट एकजनाले टीसीएलको ३२ इन्चको टेलिभिजन, एकजनाले माउन्टेन बाइक, एकजनाले सिको घडी, एकजनाले सिम्रिक एयरको हेलिकोप्टरमार्फत गोसाइकुण्ड यात्राको अवसर, दुईजनाले यती एयरलाइन्समार्फत काठमाडौं—पोखरा—काठमाडौंको हवाई टिकट, पाँचजनाले ६ महिनाका लागि अन्नपूर्ण पोस्ट्, अन्नपूर्ण सम्पूर्ण र दी अन्नपूर्ण एक्सप्रेस पत्रिका निःशुल्क प्राप्त गर्ने बताइएको छ ।

@anpurnapost

Leave a Reply

Back to top button
Close
%d bloggers like this: