भ्रमण वर्ष २०२० : यतीमा ठट्टा !

काठमाडौं : नेपाल भ्रमण वर्षका लागि बनाइएको यतीको मस्कट चर्को विवादमा परेको छ । धेरैले यतीको मस्कट सुमो खेलाडी, पहलमान, लाफिङ बुद्ध या हनुमान हुनसक्ने बताएका छन् ।

भ्रमण वर्षको प्रवर्द्धन गर्न सरकारले यतीको यो स्वरूप अघि सारेको हो । यसबाट २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ । तर यतीको आधिकारिक प्रमाण कसैसँग छैन । पर्वतारोहीले नेपालको हिमाली भेगमा यतीको पाइला देखेको बताउँदै आएका छन् । अनुसन्धानकर्ताले पनि यसको स्वरूपको वर्णन गरेका छन् । सन् १८३२ मा नेपालमा रहेका बेलायती अध्येता ब्रायन हड्सनले हिमाली भेगमा शरीरभर रौं भएको भयंकर जीव (यती) ले आफ्ना सहयोगीलाई आक्रमण गरेको उल्लेख गरेका छन् ।

‘विभिन्न विवरण, पर्वतारोहीका भनाइ र लोककथामा यतीको टाउको कोणात्मक भएको वर्णन छ’, भूगोलविद् तथा यतीसम्बन्धी पुस्तकका लेखक रामकुमार पाँडे भन्छन्, ‘शरीरमा बाक्लो रौं हुन्छ र पाइला पनि विशेष खालको हुन्छ ।’

भ्रमण वर्षमा सार्वजनिक गरिएको यतीको शरीर भने चिल्लो छालाजस्तो देखिन्छ । स्वरूप पनि पहलमानजस्तो छ । कपाललाई जुरो बनाइएको छ । ‘यतीलाई विश्वभर चिनाउन सरकार संवेदनशील भएको देखिँदैन’, लेखक पाँडे भन्छन्, ‘यतीको स्वरूपमा ठट्टा भएको छ ।’

विवरण र फेला परेका प्रमाणका आधारमा यतीको स्वरूप सच्याइनुपर्ने उनी बताउँछन् । उनका अनुसार यतीको पाइला, सोलुखुम्बुको एक गुम्बामा रहेको खप्पर, हातको स्केलेटन, छाला आदिका आधारमा यती बनाए जनविश्वाससँग मेल खानेछ ।

नेपाल भ्रमण वर्षको सचिवालय र यती आर्ट प्रोजेक्टको संयुक्त प्रयासमा यतीको मस्कट तयार पारिएको हो । कलाकार आङछिरिङ शेर्पाले यसको डिजाइन गरेका हुन् । त्यसपछि मूर्तिकार विजय महर्जनले यतीको डमी तयार पारे । यसका लागि केशरमहलमा कार्यालय खोलिएको छ । सचिवालयले यसको जिम्मा ग्यालरी यमक्युबका कलाकारलाई दिएको थियो |

यतीलाई चिनाउन केही महिनायता काम भएको थियो । यतीका मस्कट उपत्यकाका सार्वजनिक स्थल, सपिङ कम्प्लेक्ससहित विश्व सम्पदा क्षेत्रमा राख्न तयार गरिएको हो । विरोधपछि हनुमानढोका, पाटन दरबार क्षेत्र, बौद्धबाट भने मस्कट हटाइएको छ ।

विज्ञसँग सल्लाहै नगरी तयार पारिएको यतीको स्वरूपले नेपाललाई चिनाउन नसक्ने पाँडे बताउँछन् । ‘अहिले बनाइएको यती नेपालको अवधारणासँग मेल खाँदैन’, उनी भन्छन्, ‘यो विदेशी लेखकहरूले उल्लेख गरेअनुसार पनि छैन ।’

हिमाली भेगमा बसोबास गर्नेहरूले यती मान्छे र बाँदरबीचको ‘मिसिङ लिंक’ भएको बताउँदै आएका छन् । अर्थात् पूर्ण मान्छे बन्न नसकेको र बाँदर पनि नभएको प्राणी यती भएको मानिन्छ । यो गुरिल्लाजस्तो पनि होइन । परिकल्पना गर्नेहरूले यतीलाई भयानक र शान्त दुवै स्वभावमा ढाल्ने गरेका छन् । यसलाई नेपालमा हिममानव, वनमान्छेजस्ता नाम दिइएको छ । महालंगुर हिमशृंखलामा यतीको अस्तित्व हुन सक्ने अध्ययनले देखाएको छ । सचिवालयले बिहीबार जारी गरेको विज्ञप्तिमा विवरणका आधारमा भन्दा पनि यतीलाई नेपाल, हिमाल र अध्यात्मसँग जोडेर चित्रण गरिएको उल्लेख छ ।

हतारमा बनाइएको यतीको मस्कट भ्रमण वर्षको पहिलो महिनामै विवादमा आएको हो । लेखक पाँडे ठेकेदारी प्रथामा जाँदा यतीको स्वरूप विवादमा आएको बताउँछन् । राष्ट्रलाई विश्वमा चिनाउने जिम्मा ठेकेदारलाई दिनु गलत भएको उनको धारणा छ । यसको मस्कटमा कोरिएका कलाकृतिको जनस्तरबाटै विरोधसमेत भयो । मस्कटले मौलिक पहिचान नबोकेको र त्यसमा भरिएका चित्रकला सम्पदामैत्री नभएको भन्दै स्थानीय तह, धार्मिक संघसंस्थाले विज्ञप्ति निकाले । यती मस्कटको पिठ्यूँमा बनाइएको जीवित देवी कुमारी र बुद्धको मिश्रित आकृति विवादमा तानियो । चित्र ‘अशोभनीय’ भएको भन्दै स्थानीयले विरोध गरे ।

यतीको स्वरूप नै बेढंगको छ भने त्यसमा कुँदिने कलाकृति शोभनीय हुनै नसक्ने संस्कृतिविद् हरिराम जोशी बताउँछन् । ‘यतीलाई भगवान् मानेर ढोग्न थालेका छन्’, उनी भन्छन्, ‘यती मस्कटमा कुँदिएका देवीदेवताले यती देवता भएको भ्रम फिँजाएको छ । यो संस्कृतिमाथिकै प्रहार हो ।’

चित्रकार नरेन्द्रबहादुर श्रेष्ठ यतीको मौलिक पहिचान दिन नसक्नु सरकारको कमजोरी भएको बताउँछन् । ‘सम्बन्धित निकायमा विज्ञहरू छैनन्’, उनी भन्छन्, ‘कलाकारलाई नै सम्पूर्ण जिम्मा दिँदा यतीको स्वरूप विवादमा आएको हो ।’ धर्म, संस्कृतिलाई छुँदा कलाकारले भाती पुर्‍याएर काम गर्नुपर्ने उनको धारणा छ । हनुमानढोकामा राखिएको यतीको विरोध स्वाभाविक भएको उनी बताउँछन् ।

मस्कटमा कुँदिएका कलाकृतिबारे सचिवालय र ग्यालरी यमक्युबले संयुक्त विज्ञप्ति निकाल्दै आगामी दिनमा संवेदनशील हुने उल्लेख गरेका छन् । ‘स्थानीय धर्म र संस्कृतिको अपमान गर्ने मनसाय होइन । कलाकारको सिर्जनामा हुन गएको त्रुटिप्रति आगामी दिनमा थप संवेदनशील हुनेछौं’, विज्ञप्तिमा छ । @anpurnapost

Leave a Reply

Back to top button
Close
%d bloggers like this: