विद्युतीय चुल्हो प्रयोग बढाउन अनुदान दिइने

काठमाडौं : सरकारले विद्युतीय चुल्होको प्रयोग बढाउन अनुदान रकमसमेत वृद्धि गर्ने भएको छ। हाल नवीकरणीय ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत १० हजार विद्युतीय चुल्होमा अनुदान दिने कार्यक्रम तय भएको छ। आगामी आवबाट यसलाई बढाइने भएको छ। २०७७/७८ बाट एक लाख वटा चुल्होमा सरकारले अनुदान दिएर विद्युतीय चुल्होको प्रवद्र्धन गर्ने जानकारी ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले बताए। उनका अनुसार विद्युतीय चुल्हो प्रयोगलाई सरकारले अभियानकै रूपमा अघि बढाउने भएको छ।

विद्युतीय चुल्हो प्रयोग गर्दा धेरै समय भान्सामा बिताउने महिला तथा उनीहरूका साना उमेरका केटाकेटीको स्वास्थ्य राम्रो हुनुका साथै समय पनि बचत हुन्छ। ‘दाउरामा खाना पकाउँदा समय पनि धेरै लाग्छ, महिला र बालबच्चाको स्वास्थ्य पनि खराब हुन्छ’, मन्त्री पुनले भने। ‘विद्युतीय चुल्हो विद्युत् खपत बढाउन मात्र होइन, स्वास्थ्य र समयसँग पनि जोडिएको छ’, महिलालाई चुल्होबाट बाहिर निकालेपछि मात्रै समाज अगाडि बढ्ने चर्चा गर्दै उनले भने, ‘महिलाको शिक्षा, राज्य, प्रशासनिक वा सामाजिक नेतृत्व विकासका लागि विद्युतीय चुल्होले समय बचत हुन्छ।’

नेपालमा गत वर्ष दुई खर्बभन्दा बढीको पट्रोलियम पदार्थ भित्रिएको दृष्टान्त प्रस्तुत गर्दै उनले ग्यास मात्र ४८ अर्बको आयात भएको बताए। ‘ऊर्जा मन्त्रालयको ध्यान विद्युत् उत्पादनमा मात्र छैन। मुलुकलाई आत्मनिर्भर बनाउने व्यापार घाटा कम गर्नेमा पनि छ। आन्तरिक रूपमा विद्युत् खपत बढाएर व्यापार घाटा कम गर्न
सकिन्छ’, मन्त्री पुनले भने।

उनले मुलुकमा ऊर्जा उत्पादन बढेको अवस्थामा खपत बढाउनुपर्ने भएकाले सरकारले उपभोगका आधारमा विद्युत् महसुल निर्धारण गर्ने नीति लिने बताए। जति बढी विद्युत् उपयोग गर्‍यो त्यति नै प्रतियुनिट बिजुली सस्तो हुने गरी प्रस्ताव तयार गरेको छ। उनले भने, ‘केही दिनअघि आफ्नो अध्यक्षतामा बसेको नेपाल विद्युत् प्राधिकरणको बैठकले नयाँ विद्युत् महसुल दर निर्धारणका लागि सिफारिस भएको छ।’

अहिले प्रतिमहिना १० युनिट, ११ देखि २० युनिट, २१ देखि ३० युनिट, ३१ देखि ५० युनिट, ५१ देखि १ सय युनिट, १ सय १ देखि १ सय ५० युनिट, १ सय ५० देखि २ सय युनिट र २ सयदेखि ४ सय युनिटसम्म विद्युत् प्रयोग गर्नेको समूह वर्गीकरण गरी त्यसैअनुसार नयाँ शुल्क निर्धारणको भएको छ। अब यसलाई परिमार्जन गरेर १० युनिटसम्म प्रयोग गर्ने ग्राहक पहिचान गरेर छुट दिने उनले बताए। हाल १० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहक ७ लाख र ११ देखि २० युनिटभन्दा बढी प्रयोग गर्नेको संख्या १७ लाख छ। @anpurnapost

Leave a Reply

Back to top button
Close
%d bloggers like this: