प्रदेश २ मा राजपाका तीनै मन्त्री हटाउने मुख्यमन्त्रीको तयारी

राजपाका मन्त्रीहरुले बाँडेका योजनाको भुक्तानी हुन नसकेको सन्दर्भमा प्रदेश सरकार अत्यधिक बदनाम भएको समाजवादी पार्टीको ठम्याई छ ।

जनकपुरधाम । प्रदेश २ राजपाबाट सहभागी तीनै जना मन्त्रीलाई सरकारबाट हटाउने तयारी शुरु भएको छ ।

राष्ट्रिय जनता पार्टी (राजपा) बाट प्रदेश सरकारमा सहभागी तीनै जना मन्त्रीलाई फिर्ता पठाउने तयारी थालिएको हो । समाजवादी र राजपा गठबन्धनको सरकार रहेको प्रदेश २ मा दुबै दलबाट ३÷३ जना मन्त्री र ३÷३ जना राज्यमन्त्री छन् ।

राज्यमन्त्रीलाई कायम राख्दै राजपाका तीन जना मन्त्रीलाई नै सरकारबाट फिर्ता पठाउने सम्बन्धमा सरकार नेतृत्वकर्ता समाजवादीले राजपासँग छलफल गर्ने तयारी थालेको हो । यस सम्बन्धमा मुख्यमन्त्री लालबाबु राउतले राजपा नेतृत्वलाई पत्राचार समेत गर्ने तयारी गरेका छन् ।

गत आर्थिक बर्षमा राजपाका मन्त्रीहरुले बाँडेका योजनाको भुक्तानी हुन नसकेको सन्दर्भमा प्रदेश सरकार अत्यधिक बदनाम भएको समाजवादी पार्टीको ठम्याई छ । राजपाबाट सरकारमा सहभागी बर्तमान मन्त्रीलाई फिर्ता गरी नयाँ अनुहारलाई सहभागी गराउने योजना मुख्यमन्त्री लालबाबु राउतको छ ।

राजपाबाट संसदीय दलका नेता समेत रहेका जितेन्द्र सोनल भौतिक पूर्वाधार तथा विकास, नवलकिशोर साह सामाजिक विकास र रामनरेश राय यादव उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छन् । राष्ट्रियसभाको निर्वाचनमा प्रदेश सरकारका सहयात्री राजपाले नेकपासँग र समाजवादीले कांग्रेससँग गठबन्धन गरेको थियो । नेकपा–राजपाको गठबन्धन विजयी भएपछि यी दुई पार्टीबीच केहि तिक्तता बढेको छ । @enewsbureau

Leave a Reply

Back to top button
Close
%d bloggers like this: