जसले संघीय नेपालको परिकल्पना गरे

काठमाडौं– मधेश राजनीतिका अगुवा नेता गजेन्द्रनारायण सिंहको आज (शुक्रबार) १८ औं पुण्यतिथि मनाइँदैछ। सिंहको ०५८ साल माघ १० गते निधन भएको थियो।

नेपाली कांग्रेसबाट विद्यार्थी राजनीति सुरु गरेका सिंहले मधेश केन्द्रित दल नेपाल सद्भावना पार्टीको स्थापना गरेका थिए। कालान्तरमा विभाजन हुँदै गएको सद्भावना पार्टी अहिले अस्तित्वमै छैन।

तर, सिंहले उठाएको संघीय नेपालको परिकल्पना भने साकार भएको छ। मधेशको नागरिकता समस्या केही हदसम्म सुल्झिएको छ भने आरक्षण व्यवस्था लागू भएको छ । मधेशको सम्पर्क भाषाको रुपमा हिन्दी बनाउनु पर्ने माग सिंहको थियो। उनको यो माग भने पूरा भएन।

यसरी भएको थियो उदय

नेपाली कांग्रेसले मधेशको आवाज सुन्न छोडेपछि मधेशीको आवाज उठाउने प्रखर नेताको रूपमा गजेन्द्र नारायण सिंहको उदय भएको थियो। तल्लो तहबाट राजनीति सुरु गरेका सिंह कांग्रेसको केन्द्रीय सदस्यसम्म भए।

मधेशविरुद्धको विभेद समाप्त गर्न भन्दै सिंहले कांग्रेस केन्द्रीय समितिमा विशेष प्रस्ताव दर्ता गराएका थिए। तर, सिंहलाई उक्त प्रस्ताव फिर्ता लिन बाध्य पारिएको थियो। सोही कारण सिंहले कांग्रेस पार्टी नै परित्याग गरे।

सिंहले कांग्रेस परित्याग गरेपछि २०३४ मा पूर्वाञ्चल कांग्रेस गठन गरेका थिए। लगत्तै उनले नेपाल सद्भावना परिषद् नामक भूमिगत संगठन बनाएर मधेश आन्दोलनलाई अगाडि बढाएका थिए।

बाबा रामजन्म तिवारी र रघुनाथ ठाकुरको मधेश विचारधारालाई विस्तारित गर्ने काम सिंहले गरेका थिए। कांग्रेस त्यागेको साल २०३४ देखि मृत्यु हुँदासम्म उनले झन्डै अढाइ दशक मधेश आन्दोलनमा योगदान दिए ।

२०६३ सालको मधेश विद्रोहको आधार सिंहकै कालमा बनेको बताइन्छ। मधेश विद्रोहबाटै मुलुक संघीयतामा गएको हो। मुलुकलाई संघीयतामा लैजान धेरैले होस्टेमा हैंसे गरे । तरपनि संघीय आन्दोलनलाई मूल बाटोमा ल्याउने र अनेक अवरोधसँग जुध्दै निरन्तर धक्का लगाउँदै गतिशील बनाउने काम सिंहले गरेका हुन्।

सिंहलाई प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा, मधेश आन्दोलनका प्रणेता, मधेशका मसिहा आदि अनेक उपनाम दिइन्छ । समकालीनले उनलाई बोलाउँदा ‘गजेन्द्र बाबु’ भन्थे । आन्दोलनका दौरान उनी पटक–पटक पक्राउ पनि परे। तर, उनको अन्तिम बिदाइ भने राजकीय सम्मानका साथ भयो । उनको नाममा हुलाक टिकट पनि प्रकाशित भएको छ।

सिंहले वि.सं. २००७ को जनक्रान्तिमा पनि योगदान गरेका थिए। त्यतिबेला नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई कुनौली क्याम्पका इन्चार्ज थिए। भट्टराईकै हातबाट सिंहले नेपाली कांंग्रेसको सदस्यता लिएका थिए।

निरंकुश शासनविरुद्ध प्रदर्शन भइरहेका बेला राजविराजमा कर्फ्यु लगेको थियो। कर्फ्यु तोडेर नाराबाजी गर्न सिंह, कुशेश्वर पाठक र महेन्द्र मुखियाका साथ निस्केका थिए। नाराबाजी गर्दै गर्दा उनीहरूलाई प्रहरीले गिरफ्तार गरी राजविराज जेलमा लगेको थियो। सिंहको पहिलो जेल यात्रा थियो त्यो।

राजा महेन्द्रले टेकओभर गरेको २०१७ देखि २०३६ मा जनमत संग्रहको घोषणा अघिसम्मको दुई दशकको अवधिमा उनी ११ वर्ष भारतमा निर्वासनमा बसे भने पटक–पटक गरी सात वर्षसम्म राजबन्दी बनाइए।

बहुदलको पुनस्र्थापनापछि मधेश आन्दोलनको क्रममा प्रहरीद्वारा टाउकोमा लाठी बजारिएको फोटो उनको चर्चित फोटोमध्येको एक हो। यसै क्रममा उनी राजधानी काठमाडौंमा दुई पटक अनशन बसे, मेची काली यात्रा गरे र पटक पटक आन्दोलन गरेका थिए।

सिंह पहिलोपटक अनशन बसेको बेला प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सरकारको तर्फबाट गृहमन्त्री शेरबहादुर देउवाले हस्ताक्षर गरी नेपाल सद्भावना पार्टीसँग गरेको सम्झौता नै मधेश आन्दोलनसँग गरिएको पहिलो सम्झौता हो।

सिंहको योगदान देश र मधेश दुवैका लागि रह्यो। उनले मधेशी र पहाडका जनजाति तथा दलितको उत्पीडनको सवाल त्यति बेला उठाएका थिए, जतिबेला यस प्रकारका आवाज उठाउनेहरूलाई राज्यले अराष्ट्रिय तत्व, साम्प्रदायिक भड्काउने भन्दै थुन्ने गरेको थियो।

सिंहले नागरिकता वितरणमा मधेशी समुदायप्रति भएको विभेदको पनि कुरा उठाएका थिए। उनले सांस्कृतिक पहिचानको मुद्दा पनि जोडतोडका साथ उठाए। सांस्कृतिक विभेद घट्दै गएको र सामुदायिक सहिष्णुता बढ्दै गएको अनुभूति अहिले हामी गर्न सक्छौं।

सिंहले आरक्षणको मुद्दा पनि उठाएका थिए। आरक्षणको मागबाट राज्य निकै आक्रोशित बनेको थियो। सिंहको निधनको पाँच वर्षपछि २०६३ सालमा समावेशी ऐन आयो र आरक्षणको माग पूरा भयो।

सिंहले उठाएका कतिपय माग अहिले पनि पूरा हुन सकेका छैनन्। @

Leave a Reply

Back to top button
Close
%d bloggers like this: