सापकोटामाथि कुनै मुद्दा छैन : प्रचण्ड

‘सापकोटाको पक्षमा राष्ट्र एक ठाउँमा उभिइसक्यो, अनावश्यक प्रचारको औचित्य छैन’

चितवन, १० माघ । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी नेता अग्नि सापकोटामाथि कुनै मुद्दा नरहेको बताएका छन् । आज यहाँ पत्रकारहरुसँग उनले सापकोटामाथि मुद्दा छ भनेर गरिएको प्रचार असत्य भएको बताए ।

प्रतिनिधिसभाको सभामुख पदमा नेकपाबाट सिफारिस भई मनोनयन दर्ता गरेका सापकोटाविरुद्ध मुद्दा भएको सन्दर्भमा सोधिएको प्रश्नमा दाहालले भने, ‘मैले पटक–पटक भनिरहेको छु, अग्नि सापकोटामाथि कुनै मुद्दा छैन ।’

सिङ्गै संसद्ले सापकोटालाई स्वीकार गरिसकेको भन्दै उनले थपे, ‘उहाँको पक्षमा राष्ट्र एक ठाउँमा उभिइसक्यो, यो विषयलाई अनावश्यक रूपमा प्रचार गर्नु कुनै औचित्य छैन ।’

दाहालको गृह जिल्ला चितवनमा केही समययता प्रहरी प्रमुखविहीन भएको सन्दर्भमा सोधिएको प्रश्नमा उनले सरकारले आफ्नो अनुकूलतामा प्रहरी प्रमुख पठाउने बताए । प्रहरी नायब उपरीक्षकले राम्रै काम गरेको भन्दै दाहालले प्रश्न गरे, ‘यहाँ सुरक्षा खतरा पैदा भएको छ र ? मलाई त केही भए जस्तो लागेको छैन ।’

प्रहरी प्रमुख को पठाउने भन्ने कुरा सरकारले नै भन्ने उनले बताए । दाहाल नवलपरासीमा हुने दुई कार्यक्रममा सहभागी हुन हवाईमार्ग हुँदै यहाँ आएका हुन् । @nayapage

Leave a Reply

Back to top button
Close
%d bloggers like this: