भारतका प्रथम राष्ट्रपति राजेन्द्र प्रसादसँग हात मिलाउँदा

अंग्रेजबाट स्वतन्त्र भएपछि भारतका प्रथम राष्ट्रपति बनेका डा. राजेन्द्र प्रसादसँगको भेट अविश्मरणीय क्षण थियो। मेरो निम्ति त्यो भेट विशेष बनाउन थप योगदान त्यति बेला खिचिएको तस्बिरले पनि गरेको छ। राजधानी नयाँदिल्ली पुगेको नेपाली प्रतिनिधिमण्डलका सदस्यमध्ये यसरी हात मिलाएको तस्बिर मेरो मात्र उपलब्ध भइदियो।

राष्ट्रपति हुनुअघि राजेन्द्र प्रसाद भारतीय संविधानसभाका अध्यक्ष पनि थिए। भारतमा लगातार दुई कार्यकाल राष्ट्रपति बन्ने उनी एक्ला व्यक्ति हुन्। उनी महात्मा गान्धीको सामीप्यमा रहेका स्वतन्त्रता सेनानी पनि थिए। विद्वान राजेन्द्र प्रसादका अरू पनि धेरै चर्चित प्रसंग छन्।

त्यो समय खिचापोखरीतिर पत्रकार गोविन्द वियोगीहरूले राससभन्दा अगावै एउटा ‘न्यूज एजेन्सी’ चलाएका थिए। त्यसैको छेउमा अर्को ‘नेपाल एसियाली वैदेशिक सम्पर्क’ जस्तै नाम दिएर संस्था खोलिएको थियो। त्यो संस्थाको कामकाज सुब्बा फत्येध्वज जोशीको बैठकमै चल्थ्यो।

विदेशी प्रतिनिधिमण्डललाई नेपालमा स्वागत गर्ने, विभिन्न कार्यक्रम राख्ने र नेपाली प्रतिनिधिमण्डललाई विदेश घुमाउनेजस्ता काम त्यस संस्थाले गर्थ्यो। उच्च वर्गका घरानिया पनि जमघट र कुराकानी गर्ने हिसाबले त्यस संस्थासँग जोडिएका थिए |

म धेरै आवतजावत नगर्ने भए पनि उनीहरूको सम्पर्कमा थिएँ।

यो २०१५ सालभन्दा अघिको कुरा हो। टंकप्रसाद आचार्य प्रधानमन्त्री थिए। आचार्यले पहिलो भ्रमण चीनको गरेका थिए। चीन भ्रमणलगत्तै सन् १९५६ अक्टोबरतिर भारतीय राष्ट्रपति राजेन्द्र प्रसाद सद्भावना भ्रमण निम्ति नेपाल आइपुगेका थिए।

भारतीय राष्ट्रपति नेपाल आएर फर्किनेबित्तिकै हाम्रा प्रधानमन्त्री आचार्य भारत गए। भारतमा प्रधानमन्त्री आचार्य बोल्न माइकअगाडि पुगेपछि दस मिनेटसम्मै बक नफुटेर अड्किएरै बसेको सन्दर्भ असाध्यै चर्चित थियो।जे होस्, प्रधानमन्त्री आचार्यको भ्रमणलगत्तै दुवै मुलुकबाट प्रतिनिधिमण्डलको आवागमन तीव्र भयो। त्यसै क्रममा हामी पनि ‘नेपाल एसियाली वैदेशिक सम्पर्क’ मार्फत् भारत लगिएका थियौं।

राजनीतिज्ञ, कलाकार, लेखक, कवि गरेर झन्डै २० जनाको टोलीलाई उता लैजाने गरी भारतीय दूतावासको निम्तो थियो। त्यसरी लैजाने काम दूतावासका सांस्कृतिक सचिवले गरेका थिए।

सांस्कृतिक सचिव जानेमानेका कवि शिवमंगल सिंह सुमन थिए। त्यो ओहोदामा उनी जत्तिका मिजासिला र व्यवहारी मानिस मैले पछि कोही देखिनँ। सबैलाई रिझाउने खुबी भएका। उनी काठमाडौंबाट फर्किएपछि भारततिरै कुनै विश्वविद्यालयको उपकुलपति बनेका थिए।

त्यो बेला नेपालका निम्ति भारतीय राजदूत भगवान सहाय थिए। उनी असाध्यै भोलानाथ।

सांस्कृतिक सचिव सुमनले हामीलाई दिल्लीबाहेक पञ्जाबतिर पनि घुमाउन लगेका थिए। राष्ट्रपति प्रसाद र लोकसभाका सभामुख एम ए आयंगर लगायतसँग हाम्रो भेटघाट राखिएको थियो।

राष्ट्रपति भेट्न जाँदाको अर्को घटना पनि सम्झन्छु।

भेटघाट क्रममा हाम्रो सामूहिक तस्बिर लिने कुरा भयो। त्यति बेला म स्वाभाविक रूपले पंक्तिबद्ध थिएँ। तर, संस्थाकै सदस्य परशुरामभक्त माथेमाले मलाई अनाहक धकेलेर पछाडि लगिदिए। मजस्तो सामान्य मान्छे त्यसरी तस्बिरमा अगाडि नै नदेखियोस् भनेर सायद उनले त्यसो गरेका थिए।

काजी खलकका उनी शक्तिशाली, खानदानी र पैसावाल थिए। घोडा चढेर हिँड्ने। लगत्तै पछि केआई सिंह प्रधानमन्त्री हुँदा माथेमा वाणिज्यमन्त्री भएका थिए।

माथेमाले आफू मन्त्री हुन्जेल मलाई उनको सचिव बसिदिन आग्रह गरेपछि टार्न सकिनँ। म साइकल लिएर उनको घर ओमबहाल पुग्थेँ। त्यहाँबाट उनको मोटर चढेर हामी सँगै मन्त्रालय जान्थ्यौं। मन्त्री हुनुअघि एउटै प्रतिनिधिमण्डलका सदस्य भएर भारत भ्रमणमा जाँदा भने उनले मलाई दुर्व्यवहारै गरेका थिए।

राष्ट्रपतिसँगको कुराकानी एकदमै औपचारिक र सामान्य भलाकुसारीमा सीमित थियो। हामीले पालैपालो राष्ट्रपतिसँग हात मिलाएका थियौं। पछि एउटा अचम्म भइदियो। सामूहिक तस्बिर खिच्ने बेला अन्त पन्छाइएको व्यक्ति अर्थात् प्रतिनिधिमण्डलकै म एक जना सदस्यको मात्र राष्ट्रपतिसँग हात मिलाएको तस्बिर प्राप्त भयो। त्यसैले यो तस्बिरलाई मैले असाध्यै महत्वका साथ साँचेर राखेको छु।

त्यो भ्रमण बेला भीमनिधि तिवारी र मसँग अल इन्डिया रेडियोले नेपाली कला, संस्कृति र साहित्यबारे अन्तर्वार्ता लिएको थियो।

भारतसँगको सम्बन्ध हाम्रो आजको होइन। यसको महत्वलाई लिएर मैले बेलाबेला उल्लेख गर्दै आएको छु।

हिजोआज स्वस्थानी कथावाचन चलिरहेको छ। यसमा सतीदेवीको पतनपछि महादेव र पार्वतीबीच बिहेको रोचक प्रसंग छ। पर्वतराज हिमालय र उनकी श्रीमती मेनकाले आफ्नी छोरी पार्वतीको बिहे गराउन खोजेका थिए। लमी नारद विष्णुको प्रस्ताव ल्याउँछन्।

पार्वतीलाई यो प्रस्ताव मनपर्दैन। उनी भागेर कन्याकुमारी पुग्छिन्। कन्याकुमारीमा एकोहोरो शिवको ध्यान गर्न बस्छिन्। त्यो ध्यानले आकर्षित भएर महादेव त्यहाँ पुग्छन्। दुई जनाको भेट हुन्छ।

शिवले आमाबाबुको सहमतिमा कन्यादान गराएर मात्र बिहे गर्ने अडान राख्छन्।

यसरी महादेव र पार्वतीको बिहे भएको थियो। अर्थात्, पुराणमा समेत हाम्रो हिमालय र उताको दक्षिणी किनार कन्याकुमारी यति मीठोसँग जोडिएको रहेछ।

हामी त आर्यवर्त अर्थात् एसियाकै विशिष्ट सम्बन्धले जोडिएका राष्ट्र हौं। त्यसलाई निकै पछि रामायणमा राम र सीताले निरन्तरता दिए। अहिले पनि शिवरात्रिमा उताका मानिस सहजै पशुपतिनाथ दर्शन गर्न आउँछन्।

नेपाल-भारत सम्बन्धको कुरा गर्दा सबभन्दा माथिल्लो स्थानमा धर्म, संस्कृति र आध्यात्मिक विचार अवस्थित छ। यस्तो प्रसंग उठ्दा मलाई शिवपुरी बाबाको याद आउँछ।

राजेन्द्र प्रसादपछि भारतीय राष्ट्रपति भएका सर्वपल्ली राधाकृष्णन नेपाल भ्रमणमा आउँदा सबभन्दा पहिले शिवपुरी बाबाकै आश्रम गएर दर्शन गरेको सन्दर्भ पनि उल्लेखनीय छ। त्यति महत्वपूर्ण थिए उनी।

शिवपुरी बाबासँग मैले पनि भेटेको छु। उनी शिवपुरीबाट तल आएर अहिले एयरपोर्ट भएकै ठाउँनिर बस्न थालेका थिए।

भारतको पुरातत्व विभागका महानिर्देशक ए घोष नेपाल आउँदै थिए। नेपालमा पुरातत्वको महानिर्देशककै हिसाबले उनलाई स्वागत गर्न त्यस दिन म एयरपोर्ट पुगेको थिएँ। साथमा मेरा मित्र जनकलाल शर्मा पनि थिए।

एयरपोर्ट अहिलेजस्तो व्यवस्थित थिएन। जति कुर्दा पनि जहाज नआएपछि र खबर केही नपाएपछि हामी फुर्सदिला थियौं। जनकलालजीले ‘शिवपुरी बाबाकहाँ जाऔं’ भनेपछि हामी एयरपोर्टछेउकै उनको आश्रम पुग्यौं।

आश्रममा एउटा झोलुंगोजस्तो थियो। त्यसैमा बसेर हल्लिरहेका शिवपुरी बाबा मजासँग सिगरेट तान्दै थिए। उनको उमेर सय वर्ष नाघिसकेको थियो। बूढो देखिए पनि उनी राम्रै चलहल गर्दै थिए। बाबा १ सय ३७ वर्ष बाँचेको बताइन्छ।

बाबाका अन्य शिष्य पनि त्यता थिए। हामीबीच सामान्य औपचारिक कुराकानी भयो। विशेष उल्लेखनीय एवं गम्भीर दर्शनका कुरा केही भएनन्।

त्यत्रा ठूला बाबा त्यहाँ बसेपछि जुन बेला पनि पशुपति दर्शन गर्न गइरहन्छन् होला भन्ने मलाइ लाग्थ्यो। निकै पूजाआजा गर्दा हुन् भन्ने सोच्थेँ। होइन रहेछ। वेदान्तसँग पनि उनको खासै सम्बन्ध रहेनछ। उनका निम्ति त यो ध्यान र साधना गर्ने तपोभूमिको महत्व पो रहेछ।

सय वर्ष नाघेका मानिसले त्यसरी चुरोट पिइरहेको दृश्य म अहिले पनि झल्झली सम्झन्छु। बाबाले पिइरहेको चुरोट ५५५ थियो। उबेलाको सबभन्दा राम्रो चुरोट त्यही थियो।

खप्तड बाबा पनि नेपाल आएका थिए। यस्ता ठूला ध्यानीहरू आएर ध्यान गरेको भूमि हो यो।

भारतलाई संविधान दिने भीमराव अम्बेडकर पनि बौद्ध सम्मेलनमा भाग लिन आउँदा हाम्रो देखादेखै भएको थियो। त्यो सम्मेलनको सांस्कृतिक पाटोमा संलग्न हुने गरी म आयोजक कमिटीमै थिएँ। त्यसैगरी, राहुल सांस्कृत्यायन त बराबरै यता आए। नेपाली केटी नै बिहे गरे।

हामीकहाँ चौधौं शताब्दीतिर काठमाडौं भित्रिएको तलेजु भवानी पनि उताको तुलजा नै हो, जुन सिमरौनगढ हुँदै यहाँ ल्याइएको हो। पशुपतिनाथमा दक्षिणात्य ब्राह्मण ल्याइने परम्परा आज पनि चलिरहेकै छ।

मेरो व्यावसायिक जीवनको पहिलो तालिम दिल्लीमा भएको थियो। त्यो त अझ राणाकालकै कुरा। म त्रिचन्द्र कलेजमा बीए पढ्दापढ्दै पढाइ छाडेर जागिर खानतिर लागेको थिएँ। विक्रम सम्बत २००० आसपासको कुरा हो यो।

सरदार भीमबहादुर पाँडेले एमए पढेर फर्केपछि सर्वे गराउने हिसाबले ‘औद्योगिक व्यापारिक समाचार संग्रह अड्डा’ खोलेका थिए। त्यसैमा मैले जागिर खाएको थिएँ। त्यहाँ काम गर्दागर्दै राष्ट्रसंघको पहलमा दिल्लीमा तालिम आयोजना गरिएको थियो। विश्वभर जनसंख्याको तथ्यांक संकलनमा एकरुपता अपनाउँदै तुलनात्मक अध्ययन गर्ने जनशक्ति तयार पार्नु तालिमको उद्देश्य थियो।

त्यो बेला दिल्लीमा सिंहशमशेर राजदूत थिए। हामी बरोबर दूतावास पुग्थ्यौं। दूतावासमै एक जना बच्चा झोला बोकेर स्कुल गइरहेका देखिन्थे। ती बच्चा पशुपतिशमशेर रहेछन्। उ बेला राणाकालमा मोहनशमशेरका यी नातिलाई दूतावासमै राखेर पढ्ने प्रबन्ध मिलाइएको थियो।

भारतसँगका धेरै सम्झना छन्।

पुरातत्व विभागमा रहँदा भारतको महाराष्ट्रमा आयोजना गरिएको प्रदर्शनी ‘नेपाल दर्शन’ बारे यसअघि नै उल्लेख गरिसकेको छु। भर्खर भारत स्वतन्त्र भएको बेला त्यत्रो ‘प्रिन्स अफ वेल्स म्यूजियम’ मा प्रदर्शनी आयोजना मैले नै गरेको थिएँ।

एउटा लेखकका हिसाबले म भारतसँग सबभन्दा नजिकिएको चाहिँ सम्राट अशोककी पुत्री चारुमतीमाथि लेखेको नाटकबाट हो। त्यो नाटक २०२८ सालमै प्रकाशित भएको थियो।

सम्राट अशोक काठमाडौं आएको विषयमा दुईथरि विद्वानहरूका बेग्लाबेग्लै मत छन्। एकथरिले आएकै होइन भन्छन्। जबकि, अर्काथरि धारणालाई प्रबल बनाउने गरी यहाँ परम्परादेखि स्थानीय बासिन्दाले राख्दै आएका मान्यता असाध्यै बलिया हुन्छन्।

उपत्यकामा पहिलेदेखि अशोक नेपाल आएको जनश्रुति प्रचलित छ। यसलाई प्रामाणिकता दिने गरी हाम्रो इतिहासको मूलआधार ‘वंशावली’ मा समेत अशोक आएको उल्लेख छ। चाबहिलको चारुमती बौद्ध विहारमा हालै जीर्णोद्धार गर्दा एउटा इँटामा ब्राम्ही लिपिमै ‘चारुमती’ लेखिएको पाइयो।

यिनै तथ्यका आधारमा सम्राट अशोक लुम्बिनी मात्र नभई काठमाडौं पनि आएका थिए भन्ने भनाइलाई सहयोग पुग्ने गरी मैले ‘चारुमती’ लेखेको थिएँ।

नाटकका रूपमा त्यसको प्रदर्शनी अहिले पनि भइरहेकै छ। अझ मेरो शतवार्षिकी पारेर ललितपुर महानगरपालिकाको आयोजनामा छिट्टै त्यो नाटकलाई पूर्णतया ‘ब्याले’ (नृत्य नाटिका) का रूपमा प्रस्तुत गर्ने तयारी चलिरहेको छ।

यो लिच्छवि कालभन्दा पहिले किराँत कालकै कुरा हो। किराँती राजा थुंकोकै बेला उता मगधका सम्राट अशोक थिए।

चक्रवर्ती सम्राट अशोकले पछि बुद्ध धर्म अंगीकार गरेको र उनकै कारणले यो धर्म दक्षिण एसियाभर फैलिएका आधारहरू छन्। उनले भाइ र बहिनीलाई उति बेलै लंका पठाएर बौद्ध धर्म प्रचार गर्न लगाएका थिए।

जे होस्, त्यस्ता सम्राट बुद्ध जन्मस्थल खोज्दै लुम्बिनी आएका थिए। ब्राम्ही लिपिमा बुद्ध जन्मको प्रमाण उल्लेख गर्दै त्यहाँ अशोक स्तम्भ नै खडा गरे। उनकी छोरी चारुमतीलाई लिएर भने हामी विवाद गर्दैछौं। त्यहाँसम्म आएको मानिस चन्द्रागिरि नाघेर काठमाडौं उपत्यका आउन असम्भव पनि थिएन।

पाटनको चार दिशाको स्तुप उनैको पालामा बनेको मानिन्छ। ती स्तुपलाई अशोक स्तुप भनिन्छ। चाबहिलमा चारुमतीको बौद्ध विहार त हामीले देखिरहेकै छौं। त्यसैगरी अशोकका ज्वाइँ देवपालबाट देवपत्तन हुँदै देवपाटन भएको भनिन्छ।

सत्य कुरो त उत्खनन् गरेर थप थाहा हुने छँदैछ। तर, त्यत्रो वंशावलीमा भएको र इँटामा ब्राम्ही अक्षर उल्लेख भएको कुरालाई कसरी नकार्न सकिन्छ?

त्यो बेला यहाँ परम्परागत चैत्यहरू थिए, स्तुप थिए, स्वयम्भू ज्योति पनि थियो। त्यसैले पक्कै पनि बौद्धमार्गी सम्राट अशोक तीर्थयात्रीका रूपमा दर्शन गर्न आएका हुन सक्छन्। यसैमा उभिएको छ मेरो नाटक।

परम्परादेखि चल्दै आएको लोक कथनलाई आधार बनाएरै मैले नाटक लेखेको थिएँ। केही समयअघि पुनःप्रदर्शित यो नाटक हेरेर पूर्वराष्ट्रपति रामवरण यादवले पनि प्रतिक्रिया दिएका थिए।

नाटकमा किराँत राजा थुंकोको समय अचानक उपत्यकाभित्र बाहिरिया मानिस देखिएपछि हल्ला चल्न सुरू हुन्छ। हमला गर्न आएको अनुमानसहित सबै सतर्क हुन्छन्। सैन्य तयारी बढ्न थाल्छ।

तनाव बढिरहेकै बेला अचानक परिदृश्य फेरिन्छ। त्यहाँ त झन्डा बोकेर एक जना मानिस शान्तिको सन्देश लिएर पो आइपुग्छन्। सम्राट अशोक तीर्थयात्रा गर्दै नेपाल आइपुगेको थाहा हुन्छ।

त्यसपछि मगध सम्राटलाई किराँतहरूले स्वागतको तयारी गर्छन्। त्यसअगावै पाटलीपुत्रमै सम्राट अशोककी छोरी चारुमतीले सुतेको बेला कुनै युवक आएर चुम्बन गर्न खोजेको सपना देखेकी हुन्छिन्।

यसरी अघि बढेको नाटकमा पिताको नेपाल यात्रामा छोरी पनि सरिक भएको प्रसंग समेटिएको छ।

काठमाडौं आइपुगेपछि उनीहरूलाई लाखे नाचले स्वागत गरिन्छ। लाखे देखेर चारुमती तर्सिन्छिन्। तर्सिएर भाग्दा उनलाई स्वागत गर्न खटाइएका देवपाल भन्ने एक युवकको अंगालोमा उनी बेरिन पुग्छिन्। त्यसपछि देवपालले नै उनलाई उपत्यकाका विभिन्न भाग घुमाउन थाल्छन्।

यो क्रममै उनीहरू एकअर्कासँग लहसिन्छन्। यता काठमाडौंकै किराँती राजाका छोरा गुगे ती राजकुमारीसँग बिहे गर्न खोजिरहेका हुन्छन्। यस्तोमा सामान्य प्रशासकका छोरा देवपालमाथि कहर बर्सिन थाल्छ।

जति जे गरे पनि उनीहरू छुट्न सक्दैनन्। अन्तमा उनीहरूको प्रेमको जीत हुन्छ र नाटकको पटाक्षेप हुन्छ।

सम्राट अशोकको काठमाडौं आगमनबारे मेरो कालसम्म पनि चल्दै आएको जनश्रुतिलाई एक चरण अघि बढाउने हिसाबले मैले यो नाटक लेखेको हुँ।

कुनै दिन थप प्रमाण भेटिएर अशोक आगमनको पुष्टि भए त्यसले नेपाल र भारतबीच मित्रताको ऐतिहासिक आयामलाई झनै सम्पन्न बनाउने पक्का छ। @setopati

Leave a Reply

Back to top button
Close
%d bloggers like this: