सहिद परिवारको पीडा : पत्र पाइयो, रोजगारी पाइएन

गतवर्ष माघ ५ गते प्रदेश २ का सरकारले मधेशको बिभिन्न ठाउमा सहिदहरूको सम्झनामा बलिदानी दिवस मनायो। मधेसको अधिकार प्राप्तीका लागि बलिदान दिएको भन्दै मधेस आन्दोलनका सहिद परिवारका एक जना सदस्यलाई रोजगारी दिने पत्र थमाए।

आश्वासन पाएपछि जागिर पाउनेमा ढुक्क भएका सहिद परिवारले मुख्यमन्त्रीको हातबाट पत्र त पाए तर जागिर पाएनन्। प्रदेश सरकारलाई आफ्नो वाचा पूरा गर्न ताकेता गर्दै पटक–पटक मुख्यमन्त्री कार्यालयमा उनीहरू धाए। हरेक पटक जाँदा आश्वासन पाउने तर जागिर नमिलेपछि सहिद परिवार निराश छन्।

‘दिवसका दिन तपाइँहरू जतिबेला पनि भेट्न कार्यालयमा आउन सक्नुहुन्छ भन्नुभयो मुख्यमन्त्रीले, धेरै पटक धाएपछि बल्ल एकदिन छोटो भेट भयो,’ मधेस आन्दोनमा छोरा गुमाएकी लहान–८ की बिल्टौनियाँ खातुनले भनिन्, ‘त्यसको तीन महिनापछि मुख्यमन्त्री कार्यालयबाट वन मन्त्रालयमा पठाए। त्यहाँ कार्यालय सहयोगी पदमा जागिर दिने भन्दै आजसम्म आल्टाल गर्दै आएको छ। न नियुक्ति दियो न जागिर।’ मन्त्री र उनीहरूका स्वकिय सचिवले अहिले फोन पनि उठाउन छाडेको उनको भनाइ छ।पत्र पाएपछि जागिर पाउन आशमा गाउँमा रकम सापटी मागेर पटक–पटक जनकपुर पुग्दा पनि जागिर नदिएको अर्का सहिद बेचन यादवकी पत्नी रामपरि यादवले बताइन्। ‘जागिर पाउने आशले धेरै पटक छिमेकीसँग रुपैयाँ सापटी मागेर जनकपुर मुख्यमन्त्रीलाई भेट्न गएँ। जति पटक भेटे पनि केही दिनमै तपाइँहरूको काम हुन्छ भन्नुहुन्छ। तर अहिलेसम्म जागिर मिलेको छैन’ यादवले गुनासो गरिन्। छोराछोरीलाई छात्रवृतिको लागि फारम भरे पनि केही नपाएको उनले बताइन्।

बलिदानी दिवसमा सहिद परिवारका सदस्यलाई योग्यता र क्षमताको आधारमा जागिर दिने घोषणा गरेका थिए। एक वर्ष पुग्दा पनि सरकारका मन्त्रीहरूले आफ्नो घोषणा आफैं कार्यान्वयनमा ल्याएका छैनन्। ‘रोजगारी पत्र हातमै थमाएपछि जागिर पाइनेमा ढुक्क थियौं,’ मधेस आन्दोलनका प्रथम सहिद रमेश महतोका दाई रामसोभित महतोले भने, ‘धेरै पटक जनकपुर दौडधुप गरेँ। कार्यालय सहयोगीको जागिर दिने बताएपछि मैले दाईलाई लगाइदिन आग्रह गरेँ तर अहिलेसम्म काम भएन।’

२०६४ साल माघ ५ गते प्रथम मधेश आन्दोलनको क्रममा लहानमा रमेश महतोको तत्कालीन माओवादीका कार्यकर्ताको गोली प्रहारबाट मृत्यु भएका थियो। त्यसको दुई दिनपछि प्रमोद सदाय, मोहम्मद अनिश, विजय सहनी र बेचन यादवको आन्दोलनको क्रममा गोली लागि मृत्यु भएको थियो। पहिलो मधेश आन्दोलनमा ५ जना र दोस्रोमा एक जना गरी सिरहामा ६ जनाले सहादत प्राप्त गरेका थिए।

Leave a Reply

Back to top button
Close
%d bloggers like this: