आर्थिक वृद्धि दिगो छैन, बीचमा खाल्डो छ !

निजी क्षेत्रले सरकारलाई गाली गर्ने अवस्था आइलागेको छ

नेपालको अर्थतन्त्र कस्तो छ भनेर नाप्ने पहिलो सूचक आर्थिक वृद्धिदर नै हो । सामान्यतः विश्वमा कुनै पनि देशको आर्थिक बृद्धिदरको गतिशीलताका आधारमा सो मुलुकको आर्थिक अवस्थाको नाडी छाम्ने काम गरिन्छ ।

पछिल्लो तीन वर्षको नेपालको आर्थिक वृद्धिदर औषतमा हेर्दा ७ प्रतिशत नाघेको देखिन्छ । तर, उच्च वृद्धिदरका बाबजुत अर्थतन्त्रका जोखिमहरु यथावत् छन् ।

अहिले आर्थिक वृद्धि त सकारात्मक देखिन्छ । तर, के कारण आर्थिक वृद्धि भयो भनेर रिपोर्ट हेर्दा त्यो दिगो देखिँदैन ।

विश्व बैंकको रिपोर्टले नेपालको आर्थिक वृद्धिका ४ वटा कारण पहिल्याएको छ ।

पहिलो– लगातार भएको भूकम्पपछिको पुनःनिर्माण । दोस्रो– बिजुलीको पर्याप्तता र निरन्तरता । तेस्रो– राम्रो मनसुन । र, चौथो– भूकम्पपछि पर्यटक आवागमनले पुनः लिएको गति ।

अर्थतन्त्रको मजबुतीका यी आधार स्तम्भहरु स्थायी विकास भएनन् । अबको चुनौती भनेको यी पिल्लरहरु मध्ये केहीलाई स्थायीरुपमै दरिलो बनाउन जरुरी छ ।

वर्तमान अर्थतन्त्रका सूचकहरु हेर्दा राम्रा लाग्छन् । तर, यी छोटो समयका हुन् कि जस्तो मात्रै लाग्नेखालका छन् । केही कुरा अहिले राम्रा देखिए पनि यो दिगो होइन कि भन्ने लागेको छ ।

निजी क्षेत्रले ऋण नलिनु, निर्माण सामाग्री र यसको कच्चा पदार्थको आयात, धानको उत्पादन जस्ता सूचकहरु घटेको अर्थतन्त्रका लागि राम्रा विषय होइनन् । सरकारले विगतदेखि नै खर्च गर्न सकेको छैन र त्यो समस्या अहिले पनि उस्तै छ ।

अर्थमन्त्रालयले त मिडियामा तुरुन्त देखियोस् भनेर छोटो समयको राम्रो अवस्थाको चित्रण गर्न सक्छ । तर, त्यो वास्तविकता होइन । अर्थतन्त्रका सबै पिल्लरहरुको दिगो विकासका लागि अर्थ मन्त्रालय र हामीले धेरै काम गर्न बाँकी छ ।

तत्कालीन अवस्थामा अर्थमन्त्री युवराज खतिवडाले जिम्मेवारी सम्हाल्दा पुनर्निर्माणको काम नै पहिलो प्राथमिकतामा थियो । बाँकी विषय विस्तारै गर्दै जाने नियमित कुरा हो ।

वर्तमान अर्थमन्त्री टेक्नोक्रयाट भएकाले राजनीतिज्ञले मन पराउँदैनन् नै । अर्कोतर्फ, अर्थमन्त्री भन्ने पद नै कसैले मन नपराउने पद नै हो । किनभने, अर्थमन्त्रीले सधैं कस्ने काम नै गर्छ ।

अब अर्थतन्त्रको सुधारका लागि थाल्नुपर्ने कदम भनेको निजी क्षेत्रसँगको अविश्वासलाई चिर्नु नै प्राथमिकतामा हुनुपर्छ । अर्थतन्त्रको विकास लागि ७० प्रतशतभन्दा बढी भूमिका त निजी क्षेत्रकै हुन्छ ।

सुधार गर्नुपर्ने क्षेत्रहरु

नेपालको आर्थिक बृद्धि मनसुनमा निर्भर छ । अहिले पनि कुल नेपालको खेतीयोग्य जमिनको २५ प्रतिशत क्षेत्रमा मात्र सिचाई सुविधा पुगेको छ । आर्थिक गणनाले यसलाई बढी भन्न सक्ला, तर सत्य त्यस्तो छैन । यसलाई ५० प्रतिशत पुर्‍याउनसके मात्रै पनि कृषि क्षेत्रको अवस्थामा सुधार आउन सक्छ ।

सरकारले हरेक वर्ष सबै खेतीयोग्य जमीनमा सिंचाइका लागि काम गर्छु त भन्छ । तर, व्यवहारिकरुपमा त्यो सम्भव देखिँदैन । कृषि उत्पादनलाई दिगो र भरपर्दो बनाउन पनि सिँचाईं र व्यवसायीकरणमा जोड दिन सरकारले काम गर्नु छ ।

अर्कोतर्फ नेपालमा सीमितरुपमा उत्पादन भएका उच्च मूल्य पर्ने कृषि उपजहहरुको राम्रो मूल्य नेपालले पाउन सकेको छैन । परम्परागत खेती प्रणाली फेर्न काम गर्नुपर्छ । औद्योगिक क्षेत्रमा सरकारका निकायबीच समन्वय नभएका कारण उद्योग फस्टाउन सकेको छैन । उद्योगीहरु उद्योगका लागि जग्गा नपाएको भनेर बसेका छन् । अन्तर मन्त्रालय समन्वय बढाएर औद्योगिक वातावरण बनाउनु पर्छ ।

नेपाली भूभागमै नेपाली कच्चा पदार्थबाट चल्ने भारतीय उद्योगहरु कस्तो सुविधा दिएर ल्याउन सकिन्छ, यसमा पनि काम थाल्नुपर्छ । यसबाट नेपालीहरुले सिक्ने अवसर पाउँछन् भने नेपाली वस्तुले राम्रो मूल्य पनि पाउँछ ।

नेपाली उद्योग क्षेत्रमा सूचना प्रविधिको क्षेत्र अलि प्राथमिकतामा नपरेको मलाई लागेको छ । नेपालमा सूचना प्रविधिमा काम गर्न सक्ने युवा क्षमता म प्रशस्त देख्छु । त्यस्तै ठूला देशबाट प्राप्त सुविधालाई प्रयोग गरेर नेपालले लिन सक्ने फाइदाका बारेमा पनि नेपालले धेरै गर्नुपर्छ, यसबाट अर्थतन्त्रलाई धेरै हदसम्म टेवा पुग्छ । जस्तो– अमेरिकाले कोटा र कर नलाग्ने सुविधा १० वर्षका लागि दिएको छ ।

जहाँसम्म व्यापार घाटाको वर्तमान अवस्था छ, यसलाई चिर्ने सबैभन्दा उत्तम र एउटै विकल्प भनेको बिजुली निर्यात नै हो । भारतसँगको इनर्जी बैकिङको कुरा र बंगलादेश बिजुली निर्यातको कुरा राम्रो छ । तर, यसमा जोखिमको अवस्था पटक्कै हुनुहुँदैन ।

यस्तै, पर्यटन नेपालको अर्थतन्त्रको दरिलो पिल्लर हो । तर, यसको पूर्वाधारमा गतिलो काम हुन सकेको छैन । जस्तै– लुम्बिनीकै हालको पूर्वाधारले पर्यटकलाई लामो समय त्यहाँ टिकाउन सक्दैन । रारा, खप्तड, से फोक्सुण्डो जस्तो पर्यटकीय नगरीमा एक त मानिसहरु लामो समय रहन सक्दैनन्, दोस्रो दोहोर्‍याएर जान रुचाउँदैनन् । प्रशस्त सम्भावना भएर पनि पर्यटकीय पूर्वाधारमा सरकारले काम गर्न सकेको छैन, जसको फाइदा अर्थतन्त्रले पाउन सकेको छैन ।

भारतकै ताजमहलले कति फाइदा लिएको छ भन्नेबाट नेपालले सिक्न सक्छ । सरकारी संरक्षणमा रहेको जमिनमा नै नेपालमा २५ सयवटा रिसोर्ट बनाउन सकिने अवस्था छ । जहाँसम्म सेवा क्षेत्रको अवस्थाहरु छ, यो सुदृढ बनाउन सरकारले योजनावद्ध काम गर्नु पर्छ ।

बंगलादेशको पछिल्लो २० वर्षको आर्थिक बिकास औषत ६ प्रतिशतको हाराहारीमा छ । बंगलादेशको कुल खेतीयोग्य जमीनको ५० प्रतिशत भूभागमा राम्रो सिचाँई सुविधा छ । यस्तै १० वर्ष अगाडि आईटीमा शू्न्यको अवस्थामा रहेको बंगलादेश अहिले आईटीको मानव स्रोत निर्यात गर्ने अवस्थामा पुगेको छ । औषधि उद्योगमा आत्मनिर्भर भएर निर्यातमा अगाडि देखिएको छ । उत्पादनको ठूलो क्षेत्र गार्मेन्ट उद्योगले बंगालादेशको अर्थतन्त्रमा ठूलो टेवा पुर्‍याएको छ ।

नेपालमा अहिले व्यापार घाटा, शोधनान्तर अवस्थामा स्थायित्व छैन । रेमिट्यान्समा पनि उतार–चढावको अवस्था छ । विभिन्न बाह्य कारणले पनि यसलाई हानी पुर्‍याउन सक्छ ।

अर्कोतर्फ, निजी क्षेत्र र सरकारबीच विश्वासको अभाव देखिएको छ । निजी क्षेत्रले सरकारलाई गाली गर्ने अवस्था आइलागेको छ । यो खाडल नपुरेसम्म अर्थतन्त्रमा सुधार देखिन्न । @onlinekhabar

Leave a Reply

Back to top button
Close
%d bloggers like this: