श्रममन्त्री यादवको कार्ययोजना : ६० हजार बेरोजगारलाई सय दिनको रोजगारी

२२ पुस, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले तीन महिनामा आफूले गर्ने कामको विवरण सार्वजनिक गरेका छन् ।

मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री यादवले चालु आर्थिक वर्षमा ६० हजार बेरोजगारलाई न्युनतम १०० दिनको रोजगारी प्रदान गर्ने गरी स्थानीय तहबाट रोजगार आयोजना सञ्चालन गर्ने बताएका छन् ।

वैदेशिक रोजगार विभागका सबै अभिलेख विद्युतीय अभिलेखांकन गर्ने, विदेशस्थित कुटनीतिक नियोगबाट पुनः श्रम स्वीकृति दिने व्यवस्था कार्यान्वयनमा ल्याउन मन्त्रालयको कार्ययोजना छ ।

त्यस्तै बिमा र कल्याणकारी कोषवापतको रकम अनलाइन प्रणालीमार्फत बुझाउने व्यवस्था गर्ने, दुई वर्ष पुराना सबै संस्थागत उजुरीहरुको छानबिन प्रक्रिया सम्पन्न गर्ने पनि कार्ययोजनामा उल्लेख छ ।

मन्त्रालयले थप १० हजार जनालाई लक्षित गरी वैदेशिक रोजगार बोर्डबाट निशुल्क तालिम प्रदान गर्ने, वैदेशिक रोजगारबाट फर्केका कामदारहरुका लागि आर्थिक तथा सामाजिक पुनः एकीकरण कार्यक्रम कार्यान्वयनमा ल्याउने योजना बनाएको छ ।

त्यस्तै ओमनसँग द्विपक्षीय श्रम समझदारी गर्ने पनि कार्ययोजनामा उल्लेख छ ।

Leave a Reply

Back to top button
Close
%d bloggers like this: