को हुन् पर्यटक, को होइनन् ? परिभाषा बदल्दै सरकार

२१ पुस, काठमाडौं । ‘टुरिस्ट’ भन्ने वित्तिकै गोरो छाला, खैरो कपाल भएको, पटट अंग्रेजी बोल्ने विदेशी नागरिकको छवि हाम्रो आँखामा आउँछ । पर्यटक को हुन् र को होइनन् भन्नेमा सरकारको परिभाषा भने विरोधाभाषपूर्ण छ ।

  • पर्यटन ऐन २०३५ ले भन्छ : नेपालमा आउने विदेशी नागरिक र नेपालको एक स्थानबाट अर्को स्थानमा भ्रमण गर्ने नेपाली नै पर्यटक हुन् । सो ऐनअनुसार पर्यटक भन्नाले विदेशी मुलुकबाट भ्रमणका लागि नेपालमा आउने गैरनेपाली नागरिक भन्ने सम्झनुपर्छ । तर, प्रत्यक वर्ष छिमेकी देश भारतबाट स्थलमार्ग भएर आउने करिब १५ लाख भारतीय पर्यटकको गणनामा पर्दैनन् ।
  • त्यही भारतको नयाँ दिल्लीबाट २ घण्टाको जहाज चढेर काठमाडौं ओर्लने प्रत्येक भारतीय नागरिक भने पर्यटक मानिन्छ । काठमाडौंमा एक रुपैयाँ खर्च नगरी ३० मिनेट मात्र बसेर फर्किए पनि जहाज चढेर आएकाहरु विदेशी पर्यटकको लिस्टमा पर्छन् ।
  • संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको परिभाषाअनुसार कुनै व्यक्तिले जुनसुकै प्रयोजनमा होस्, आफ्नो थातथलो छाडेर छाडेर कम्तिमा २४ घण्टा अन्यत्रै बिताउँछ भने उ पर्यटक हो । अध्यागमन विभागबाट पासपोर्टमा छाप लागेको तेस्रो मुलुकको नागरिक लुम्बिनीमा ३० मिनेट बिताएर फर्कन्छ भने त्यो नेपालको नजरमा पर्यटक हो । उसलाई पर्यटकका रुपमा गणना गरिन्छ ।
  • आफ्नै सवारी साधन लिएर भैरहवा, नेपालगन्ज, विराटनगर र वीरगन्जका तारे होटेलमा रातभर क्यासिनो खेल्ने र खुलेर खर्च गर्ने भारतीय नागरिक नेपालको नजरमा पर्यटक होइन । बिहारमा रक्सीमा प्रतिवन्ध लागेपछि सीमावर्ति नेपालकाा होटेल तथा रेष्टुरेन्टमा भारतीयहरु खचाखच छन् । तर, त्यहाँ जति खर्च गरे पनि उनीहरुले पर्यटकको मान्यता प्राप्त गर्दैनन् ।
  • प्रहरीले एकै स्थानबाट अघिल्लो साता १ सय २२ जना चिनियाँ नागरिकलाई पक्राउ गर्‍यो । उनीहरु नेपाल छिर्ने क्रममा अध्यागमन विभागले छाप हानेको छ । त्यसकारण उनीहरु नेपालका पर्यटक हुन् । ती व्यक्तिले नेपाललाई हानी पुर्‍याउनकै लागि पर्यटकको रुपमा लामो समय बसेका थिए ।

नेपालमा गृह मन्त्रालय मातहतको अध्यागमन विभागले पर्यटक गणना गर्छ । उसले पासपोर्टमा छाप लगाइदिएका आधारमा पर्यटक मान्ने गरिएको छ ।

वरिष्ठ पर्यटनविद् वसन्त मिश्र नेपालमा पर्यटकको परिभाषा र उनीहरुले गर्ने खर्चकै सन्दर्भमा समस्या देख्छन् ।

‘नेपालले मानेका कतिपय पर्यटकलाई विश्व पर्यटन संगठनले पर्यटकै मान्दैन’, उनी भन्छन्, ‘संगठनले पर्यटक मानेका कतिपयलाई नेपाल सरकारले मान्दैन ।’

पर्यटकको गणनामा केन्द्र र प्रदेश सरकारबीच समेत विरोधाभाष छ । नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेश कार्यालयले निकाल्ने तथ्यांकअनुसार गत अक्टोवर महिनामा सो प्रदेशमा २४ हजार ४ सय ७७ जना पर्यटक पुगेका थिए । त्यसमध्ये ६ हजार ७ सय १५ भारतीय थिए ।

गण्डकी प्रदेशमा रहेको पोखरामा धेरै पर्यटक पुग्छन् । पोखरा जाने अधिकांश पर्यटक स्थलमार्गबाट आएका हुन् । दुई साता अगाडी पोखरामा ट्राफिक जाम भएको भन्दै भारतीय गाडीलाई प्रवेश रोक्नु परेको थियो ।

‘पोखराको पर्यटनलाई चलायमान बनाउन भारतीय पर्यटकको भूमिका महत्वपूर्ण छ,’ नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने भन्छन्, ‘तराईका अधिकांश शहरमा खुलेका होटेलका मूख्य ग्राहक भारतीय नै हुन् ।’

तर, नेपालले यी भारतीयलाई पर्यटक मान्दैन ।

परिभाषा बदल्ने तयारी

पर्यटक को हुन् ? सरकारले निर्माण गरिरहेको नयाँ पर्यटन ऐनले पर्यटकलाई पुनःपरिभाषित गर्ने तयारी गरिरहेको छ । बोर्डका निर्देशक लामिछानेका अनुसार अब नेपालले पनि संयुक्त राष्ट्रसंघीय पर्यटन संगठनकै परिभाषालाई अनुशरण गर्ने छ । यसअनुसार आफ्नो थातथलो छाडेर कम्तिमा २४ घण्टा नेपालमा बिताएका जोसुकै पनि पर्यटक गनिनेछ । उसले गर्ने खर्च पर्यटन आयका रुपमा गणना हुनेछ ।

परिभाषामा ‘डे भिजिटर (बिहान आएर दिनभर घुमफिर गरी राती फर्कने)’ वा नाइट भिजिटर (साँझ क्यासिनो वा रेष्टुरेन्टमा पुगेर रातभर त्यहाँ बिताएर भोली आफ्नै स्थानमा फर्कन)लाई समेत पर्यटककै दायरामा राखी गणना गर्ने तयारी भइरहेको छ । नेपाल पर्यटन बोर्डले‘ टूरिजम स्याटलाइट एकाउन्ट’ निर्माणको काम गरिरहेको छ । यसमा समेत अब पर्यटक र पर्यटनबाट हुने आयलाई फराकिलो बनाउने तयारी रहेको छ ।

‘ट्रान्जिट यात्रु’ पनि पर्यटक !

मकाउ जाने नेपाली पर्यटकले हङकङको समेत भिषा लगाउनु पर्छ । हङकङ विमानस्थलबाट सिधै पानीजहाज चढ्ने स्टेशनसम्म पुगी त्यहाँबाट मकाउ जाने हरेक व्यक्तिलाई हङकङले पर्यटक मान्छ । सिंगापुरमा ५/६ घण्टासम्म ट्रान्जिटमा पर्ने यात्रुका लागि पर्यटकसरह व्यवहार गरिन्छ । किनकी ट्रान्जिटमा बस्दा यात्रुले खर्च गर्छ । ‘रेष्टुरेन्टमा एक कप चिया खाँदा, कुनै सामान खरीद गर्दा समेत सोही मुलुकको आय बढ्ने हो,’ निर्देशक लामिछाने भन्छन्, ‘त्यसैले त ट्रान्जिट हव बनेका शहरमा ठूल्ठूला विमानस्थल बनाइएको हो ।’

हालै चीनले निर्माण गरेको डाक्सिङ एयरपोर्टलाई पनि संसारकै ठूलो विजनेश हबका रुपमा विकास गर्ने चीनको योजना रहेको छ । पर्यटकलाई खर्चका आधारमा वर्गिकरण गर्ने प्रचलन मुलुकहरुको प्रचलन हुन्छ । नेपालमा भने खर्चले प्राथमिकता पाएको छैन ।

@साभारः onlinekhabar

Leave a Reply

Back to top button
Close
%d bloggers like this: